Tuesday, June 22, 2021

जथाभावी माक्स फाल्ने प्रवृतिले कोरोना संक्रमणको जोखिम

 





मनोज यादव---

सर्लाही ,असाढ ८

   कोरोना भाइरस सङ्क्रमण बढेसँगै  मास्क लगाउनेको संख्यामा  पनि वृद्धि हुँदै गएको छ । मास्क प्रयोग गरिसकेपछि जथाभावी फाल्ने प्रवृत्तिले गर्दा कोरोना संक्रमणको जोखिम पनि त्यतिकै बढाएको छ ।

    सडक, सडकको पेटी ,गल्ली र घरको आँगनमा प्रयोग भएको मास्कहरु जथाभावी फालिएको देखिन्छ । यसरी प्रयोग भइसकेका मास्कको उचित बिसर्जन हुन नसक्दा संक्रमण फैलिन सक्ने विज्ञहरू बताउँछन् । 

‘मास्कको भित्री भागमा थुक, र्याल, सिँगान र बाहिरी भागमा अरुको थुकको छिटा परेको हुनसक्ने भएकाले जथाभावी फाल्दा संक्रमणको जोखिम बढी हुने  स्वास्थ्यकर्मीले भने । प्रयोगमा ल्याइसकेको  मास्कको उचित व्यवस्थापन हुन नसके संक्रमण फैलन सक्ने स्वास्थ्यकर्मीहरुको भनाइ छ ।  मास्क खोल्दा र लगाउनुअघि हात पूर्णरूपमा सेनिटाइज (निर्मलीकरण) वा साबुनपानीले धुनुपर्ने र  मास्कलाई गोलो बनाएर बिर्को लगाएको डष्टबिनमा हाल्नुपर्ने सुझाव स्वास्थ्यकर्मी रामविनय रायको छ ।

     कोरोना संक्रमणसंगै अनिवार्य मास्क लगाउन सरकारले सबैमा अनुरोध गरेको छ। । आफू र अरुलाई रोग सर्न र लाग्न रोक्नका लागि मास्क अनिवार्य गरिएको हो ।

आम नागरिकले मास्कको उचित प्रयोग र बिसर्जन नगर्दा यसको जोखिम बढ्न सक्ने देखिएको छ । मलंगवा नगरपालिका वडा -२ वडा स्वास्थ्य चौकीका प्रमुख संजय यादवले मास्क प्रयोग र बिसर्जन राम्रो नभएको वताए । मास्क प्रयोगको बानी परिनसकेकाले नाकदेखि चिउँडोसम्म टपक्क ढाकेर मास्क लगाउनुपर्नेमा त्यस्तो कम हुने गरेको  उनको भनाइ छ ।उनले भने, “कतिपयले बोल्दा मास्क खोल्ने गर्दछन् । त्यो झन खतरा हो ।” बोल्दा मुखवाट निस्किएको थुकको छिटा अरुलाई परेमा रोग सर्न सक्छ । अप्ठ्यारो शव्द उच्चारण गर्दा मानिसको मुखबाट थुकको छिटा निस्कन सक्ने प्रमुख यादवको भनाइ छ ।मास्कमा धातु र प्लाष्टिक हुने हुँदा ती वस्तुमा किटाणु लामो समयसम्म बस्ने गरेकोले  मास्क जथाभावी फाल्दा संक्रमण फैलन सक्ने सम्भावना बढी हुने उनले बताए। उनका अनुसार माक्समा ४-५ दिन सम्म किटाणु बस्न सक्ने भएकाले माटोमा पुर्ने वा जलाउने गर्नु उपयुक्त हुन्छ । माटोमा २-४ घण्टामा किटाणु नष्ट हुन्छ भने जलेर तत्काल नष्ट हुन सक्छ ।खुल्ला ठाउँमा फालेको मास्क कुकुर, बिरालो लगायतले एक ठाउँबाट अर्को ठाउँमा पु-याउने, पानीमा बगेर संक्रमण फैलन सक्ने र यसबाट जलचरहरु प्रभावित हुन सक्ने उनको भनाइ छ।

     अहिले मानिसले दैनिक रुपमा सर्जीकल र एन—९५ मास्क प्रयोग गर्ने गरेको पाइन्छ । सर्जीकल एक पटक प्रयोग गर्न सकिन्छ भने  एन— ९५ मास्क तीन-चार  पटक  प्रयोग गर्न सकिने बताइएको छ । 

   आम नागरिकले मास्कको उचित प्रयोग र बिर्सजनका वारेमा गम्भीर हुन सकेमा संक्रमण न्यूनीकरणमा ठूलो सहयोग पुग्ने जानकारहरुले बताए । जनमानसमा मास्कको प्रयोग र बिसर्जनबारे व्यापक रुपमा जनचेतना फैलाउनुपर्ने  आवश्यकता रहेको उनीहरूको भनाइ छ ।




No comments:

Post a Comment