Tuesday, June 29, 2021

किशोर किशोरी तथा बालबालिकाहरुमा इन्टरनेट र मोबाइलको बढ्दो प्रयोगले अभिभावकसँग टाढिँदै सन्तान

 




मनोज यादव----

सर्लाही ,असाढ १५

    किशोरकिशोरी तथा बालबालिकामा पछिल्लो समय बढ्दै गएको मोबाइल फोनको प्रयोगका कारण उनीहरूको दैनिकीमा समस्या आउनुका साथै घरभित्रै आफ्ना अभिभावकसँग टाढिँदै गएका छन् । मोबाइल फोनको प्रयोगसँगै किशोरकिशोरी तथा बालबालिकामा लगातार मोबाइल फोनमै झुन्डिने, झोक्राउने तथा घरमै भएर पनि परिवारका सदस्यसँग धेरै घुलमिल नहुने, बोल्दा पनि झर्किने खालका समस्या देखिन थालेका छन् ।

        स्मार्ट मोबाइल फोनको चलन सुरु हुँनुभन्दा पहिला साथीभाइहरुसँग विभिन्न किसिमका  खेलहरु खेल्न तथा परिवारका सदस्यसँग बसेर रमाउन रुचाउने उनीहरू अहिले बिहानदेखि अबेर राती सम्म मोबाइल फोनमै झुण्डिएर बसेको देखिन्छन् । मोबाइल फोनको अत्याधिक प्रयोगले उनीहरूमा मोबाइल फोनबाहेक अन्त कुनै काममा ध्यान नजाँदा समस्या हुन थालेको जानकारहरु बताउँछन् ।

    पहिला-पहिला विद्यालयबाट घर आइसकेपछि खाजा खाएर साथीभाइ सँग खेल्न र डुल्न मनपराउने किशोर किशोरी तथा बालबालिकाहरु घरबाहिर जान छाडेका छन्। 

छोराछोरी बिनाकामको लखर-लखर नडुली  घरभित्रै बस्न  थालेको देखेर खुसी भएका अविभावकमा  छोराछोरी  घरभित्रै रहे पनि जुनसुकै समयमा मोबाइल चलाइरहने, इन्टरनेटमा गेम तथा सामाजिक सञ्जालको एकोहोरो प्रयोग गरिरहने, कसैले बोलाए झर्किने तथा झोक्राउने गरेका कारण चिन्ता थपिएको छ।

    आधुनिक  प्रविधिको  विकासको एक स्वरूप मोबाइल फोन भएको र यो अहिले प्रायः धेरैको हातमा पुगिसकेको अवस्थामा जवान, वृद्धदेखि बालबालिका सबैमा मोबाइलको अत्यधिक लत बसेको मानवअधिकारकर्मी मुकैश मिश्र बताउनुहुन्छ ।  बाबुआमाले पनि बच्चालाई मोबाइल दिएर भुलाउने गरिरहेका कारण निरन्तर मोबाइल फोनको प्रयोगले बालबालिकामा तनाव हुने, आँखा दुख्ने, टाउको दुख्ने, परिवारका सदस्यहरुसँग धेरै नबोल्ने, बोलाउँदा तीन चारपटकसम्म बोलाउनुपर्ने, पढाइ प्रतिको लगाव कम हुने, अश्लील चित्र र भिडियोको लत बस्ने, साइबर अपराधतिर तानिने समस्याहरू देखिन सक्ने भएकाले अभिभावक समयमै सचेत हुनुपर्ने मिश्र  बताउनुहुन्छ ।

    लगातार मोबाइलको प्रयोगले तनाव, चिन्ता तथा बेचैनी, उदासीनता, निद्राको समस्या, थकान महसुस हुनु, कुनै कुरामा राम्ररी ध्यान केन्द्रित गर्न कठिन पर्ने वा कुनै नयाँ रचनात्मक कार्य गर्न गाह्रो पर्ने, ध्यान केन्द्रित गर्न समस्या हुनेलगायतका मानसिक लक्षण देखापर्ने स्वास्थ्यविज्ञ बताउँछन् ।  “लगातार मोबाइल चलाइरहनाले ढाड दुख्ने, टाउको दुख्ने, घाँटी र गर्दन दुख्ने, आँखामा समस्या हुने , खान मन नहुने, तौल घट्ने लगायतका शारीरिक लक्षण पनि देखिने हुँदा विशेष सतर्कता अपनाउनुपर्ने विज्ञको सुझाव छ।

    लगातार इन्टरनेट तथा मोबाइल चलाइरहने छोराछोरीलाई तिनका अभिभावकले उनीहरूको व्यवहारमा परिवर्तन ल्याउन घरको  काममा लगाउने ,छोराछोरी सँग केही समय बिताउन,केही समयको लागि मोबाइल चलाउन दिएर विस्तारै कम गराउँदै जाने  यस्तो गर्दा उनीहरूमा विस्तारै मोबाइलको  प्रयोग गर्ने बानीमा कमी आउने विज्ञको भनाई छ । 


No comments:

Post a Comment