Sunday, June 6, 2021

लकडाउनको सदुपयोग गरेर सर्वसाधारणलाई सहयोग तथा सामाजिक कार्यमा जुट्दै सर्लाहीका यूवा

 

                   संस्थाका अध्यक्ष नन्दा यादव


लोकतन्त्र समाचारदाता----

सर्लाही ,जेठ २३ 

     विश्व व्यापी रुपमा फैलिएको कोरोना भाइरसको दोस्रो लहर र त्यसबाट सुरु भएको संक्रमण नियन्त्रणका लागि स्थानीय प्रशासन  द्वारा जारी निषेधाज्ञाको समयमा पनि आफुलाई व्यस्त राख्दै  सर्लाही मलंगवाका  युवाहरु सामाजिक काममा सक्रिय बनेका छन् । यस्तो विषम परिस्थितिमा पनि  सदरमुकाम मलंगवा नगरपालिका वडा न-१० मा रहेको नेपाल समाज सेवा सर्लाही नामक संस्थासँग आवद्ध युवाहरू सामाजिक कार्यमा   सक्रियता देखाएर स्थानीयको मन जित्न सफल भएका छन् ।

   आफ्नो स्थापनाको एकवर्ष भन्दा पनि कम समयमा यस संस्थाले सयौं गरिब, विपन्न , दलित तथा असहायहरुलाई खाद्यान्न ,लत्ताकपडा र नगद सहयोग गरिसकेको संस्थाका अध्यक्ष नन्दा यादवले जनाएको छ ।जिल्लामा निषेधाज्ञा सुरु भएदेखि हालसम्मको अवधीमा यस  संस्थाले रोजगारीको सिलसिलामा  विदेशमा रहेका सर्लाहीबासीहरुले संकलन गरि पठाएको नगद   सहयोगबाट लक्षित वर्गका पिडितहरुलाई  सहयोग गर्नुका साथै विकास निर्माणका कामहरु सम्पन्न गराएका छन् ।सोही क्रममा संस्थाले दुर्घटनामा खुट्टा भाँच्चिएर गम्भीर घाइते भइ अस्पतालमा उपचार गराइरहेको   जिल्लाको चन्द्रनगर गाउँपालिका कामद टोल निवासी अती विपन्न  रुपेश कापडलाई उपचारको लागि २० हजार रुपैयाँ नगद आर्थिक सहयोग गरेका छन् । यसका साथै ब्रह्मपुरी गाउँपालिकामा ब्लड क्यान्सर पिडितको सेवाका लागि ३३ हजार ,बरहथवा न.पा-९ मुर्तिया स्थित एक फुसको घरमा आगलागी भइ घरबार विहिन बनेका स्थानीय राजकुमार महतोको परिवारलाई नगद रु २० हजार सहयोग गरेका छन् ।यसैगरी  उपचार गराउँदा गराउँदै पैसाको अभावमा ज्यान गुमाएका विष्णु गाउँपालिका वडा न-७ दुलवाका अनुठा मुखियाको परिवारको अवस्था दयनीय रहेकोले उनका परिवारलाई नगद रु ३० हजारको साथै बालबालिकालाई शैक्षिक सामाग्री सहयोग गरेको अध्यक्ष नन्दा यादवले जानकारी दिए ।

     संस्थाले लक्षित वर्गलाई आर्थिक लगायतका सहयोग गर्नुका साथसाथै धार्मिक कार्यमा पनि सहयोगका हात बढाएका छन् ।हालै यस संस्थाले सर्लाही जिल्लाकै सुप्रशिद्ध एवं पवित्र, कविलासी नगरपालिका अन्तर्गत नवलपुर-मलंगवा सडकखण्डमा पर्ने चमेली माईको मन्दिरको प्रांगणमा विदेशमा रहेका सर्लाहीबासीहरुले संकलन गरि पठाएको झण्डै २ लाख रुपैयाँको लगानीमा पक्की चबुतराको निर्माण सम्पन्न गराएको अध्यक्ष यादवले जानकारी गराएको छ ।

     यादवले संस्थाको तर्फबाट  सेवानै धर्म हो भन्ने भनाईलाई आत्मसात गरेर सामाजिक उदेश्यको पुर्ती गर्न  विदेशमा रहेर भएपनि सामाजिक कार्यमा लाग्न जिल्लाका स्थानीय युवा तथा संस्थाका सदस्यहरुलाई बेलाबेलामा आर्थिक सहयोग गरेर प्रोत्साहित गर्दै आएका हाल रोजगारीको सिलसिलामा  मलेसियामा रहेका सर्लाहीबासी नेपालीहरुलाई थप सहयोगको अपिल गर्दै धन्यवाद दिएका छन् ।

    केही दिन भित्रै वैदेशिक रोजगारीमा खाडी मुलुकमा रहेका नेपालीहरुले आर्थिक अवस्था कमजोर भएका कोरोना संक्रमितहरुले उपचारको क्रममा  ज्यान गुमाउनु नपरोस् भनेर समस्यामा परेका  विपन्न ,दलित तथा असहायहरुको उपचारका लागि अतिआवश्यक रहेको अक्सिजन सिलिन्डर पठाउने तयारी भइरहेको यादवले लोकतन्त्रलाई बताउनुभयो। 

   वर्तमान परिस्थितिमा कोभिड–१९ अर्थात कोरोना भाइरस महामारीले संसार भरी नै जनजीवन उथलपुथल भइरहेको यस महामारीका अवस्थामा नेपाल समाज सेवाले गरेको सामाजिक कामको चौतर्फी प्रसंशा भइरहेको छ ।


No comments:

Post a Comment