Sunday, June 27, 2021

वर्षाका कारण सर्लाहीमा अधिकांश सडकहरु अवरुद्व/यस प्रति स्थानीय तहहरुलाई कुनै चासो छैन

 



लोकतन्त्र समाचारदाता---

सर्लाही ,असाढ १३

        केही दिन देखि  लगातार रुपमा भइरहेको वर्षाका कारण  सर्लाहीका  अधिकांश ग्रामीण सडकहरु  अवरुद्व भएका छन् ।वर्षका कारण ग्रामीण क्षेत्रको सडकहरु मात्र नभइ जिल्लाको सदरमुकाम मलंगवाको विभिन्न टोलमा  निर्माण हुँदाहुँदै बिचमै निर्माणकार्य  बन्द भएका सडकमा बनेका खाल्डाखुल्डीमा हिलो पानी जमेर सडक अवरुद्ध भएको छ । 

      सडक संजाल  नपुगेको र खोला किनारमा बसोबास गर्ने  चुरे क्षेत्रका नागरिहरु भने वर्षातको समयमा कष्टपूर्ण दिनचर्या बिताउन बाध्य हुँदै आएका छन् । पूर्वपश्चिम लोकमार्गमा पर्ने लालबन्दी, हरिवन, बाग्मती र ईश्वरपुर नगरपालिकाका उत्तरी चुरे क्षेत्रमा पर्ने बस्तीमा सडक अवरुद्व हुँदा आवतजावत गर्न समस्या हुने गरेको बताइएको छ। जिल्लाको ईश्वरपुर नगरपालिका वडा न- १२ मा पर्ने पिपलदमार, गुइडुङ, छोड्के, लामिदमार, अड्डी, लालबन्दी नगरपालिका वडा न- १५ को शिर कालिन्जोर, तीनतले, भित्रीखोला, लालबन्दी नगरपालिका वडा न-१४ नारायणखोला, वडा नं-१२ र १३ का चुरे बस्ती, हरिवन नगरपालिका वडा न-१ र ८ का चुरे बस्ती तथा बागमती नगरपालिका वडा न- १ र १२ मा पर्ने चुरे क्षेत्रका बस्तीमा जाने सडक लगातारको वर्षाले  बिगारेको स्थानीयबासीहरुले  बताएका छन् ।

   खोलाको किनार र चुरे पहाडका गोरेटो बाटोहरु ठाउँ–ठाउँमा बिग्रँदा त्यस क्षेत्रका बासिन्दाहरु बिरामी परेर औषधोपचारका लागि अस्पतालसम्म जान समस्या हुन  थालेको छ । वर्षातको मौसममा खोलामा बाढी आउँदा स्थानीयहरुलाई एकबाट अर्को बस्तीसम्म जान समेत समस्या हुने गरेको छ । 

      निरन्तर वर्षा भइरहेकोले खोलाको आसपास र तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीय बस्तीमा बाढी पस्ने डरले नागरिकहरु त्रसित भएका छन् । अघिल्लो वर्षको वर्षामा बागमती, लखन्देही, फूलजोर खोलाको बाढीले सयौं बिगाहा खेतीयोग्य जमिन कटान गरेको थियो ।तर यहाँका स्थानीय तहहरु बाढीका कारण आइपर्ने विपद् व्यवस्थापनका लागि कुनैपनि किसिमको प्रयास तथा पहल  नगरेको स्थानीयबासीहरुले गुनासो गरेका  छन्।

No comments:

Post a Comment