Thursday, June 10, 2021

सर्लाहीको ग्रामीण क्षेत्रमा इन्टरनेट प्रयोगकर्ताहरू बढे सँगै पिछडिएका गाउँ पनि डिजिटल युगमा प्रवेश गर्दै

 


मनोज यादव-----        

सर्लाही ,जेठ २६

     सर्लाहीको  ग्रामीण क्षेत्रमा इन्टरनेट प्रयोगकर्ताहरु  बढेसँगै इन्टरनेट सेवाको माग पनि बिस्तारै बढ्न थालेको छ।

   बैंकिङ कारोबार, सरकारी कार्यालयहरू, विद्यालय र वैदेशिक रोजगारमा गएकाको घरपरिवारमा मात्र सीमित इन्टरनेट सेवा अहिले ग्रामीण क्षेत्रका प्रायःजसोले प्रयोग गरिरहेका छन् ।जिल्लाको  ग्रामीण भेगमा   अहिले नेपाल टेलिकम र एनसेलको  डाटा प्याकबाट इन्टरनेट सेवाको प्रयोग बढी भइरहेको छ । यसको साथै सुविसु, वर्लड लिंक र मेरो जस्ता निजी स्तरमा संचालित इन्टरनेट सेवाप्रदायक संस्थाहरूले  पनि आआफ्नो पहुँच ग्रामीण क्षेत्रमा बढाउँदै गइरहेको छ । सर्लाहीको दूरदराज तथा नेपाल-भारत सिमावर्ती गाउँहरु सम्म इन्टरनेट  सेवा अहिले फैलिएको छ।कतिपय ठाउँमा भारतिय जस्तै एयरटेल , जिओ लगायतका सिम प्रयोगकर्ताहरुले उतैको इन्टरनेट चलाएको पाउन सकिन्छ । 

     अहिलेको डिजिटल युगमा इन्टरनेट  दैनिक जिवनको एक अभिन्न अंगनै भइसकेको छ ।आफन्त सँग कुरा गर्नेदेखि लिएर बैंकिङ कारोबार  इन्टरनेट सेवबाटै गर्नु परेको छ , मलंगवा नगरपालिका वडा न-८ का उदय राय यादवले भने । नेपाली इन्टरनेट नचल्ने  जिल्लाका कतिपय ठाउँका सिमावर्ती नेपाली बस्तीमा भारतीय इन्टरनेट सेवाकै प्रयोग बढी हुने गरेको यादवले बताए । जिल्लाको ग्रामीण क्षेत्रमा अहिले सबै तहका मानिसहरूको पहुँच इन्टरनेटमा बढिरहेको छ । बालबालिकादेखि वृद्धसम्म इन्टरनेटमै झुम्मिएका देख्न सकिन्छ । निरक्षर मानिसको पहुँच पनि इन्टरनेटमा बढ्दैछ । खासगरी वैदेशिक रोजगारमा गएकासँग निजका घरपरिवारले इन्टरनेटबाटै कुरा गर्न थालेका छन् । फोन कल गर्नुभन्दा इन्टरनेटबाटै भिडियोको साथ सहज कुरा हुने हुँदा ग्रामीण क्षेत्रमा वैदेशिक रोजगारमा गएकाको घरपरिवारमा यसको माग बढेको छ ।

     कविलासी नगरपालिका वडा न-९ ,सलेमपुर ठगा साहले वैदेशिक रोजगारमा गएकाको घरपरिवारमा सबैभन्दा बढी इन्टरनेट सेवा प्रयोग भइरहेको बताइन । उनले युवा, विद्यार्थी, कर्मचारी, सुरक्षाकर्मी सबैमा इन्टरनेटले प्रभाव जमाएको बताइन । सूचनामा सहज पहुँचका साथै मनोरञ्जन र बैंकिङ कारोबार  पनि हुने हुनाले इन्टरनेट सेवा सबैको लागि लाभदायक बन्दै गएको छ । पत्रपत्रिकाको पहुँच नभएको ग्रामीण  क्षेत्रका बासिन्दाहरु  सूचना तथा नयाँ नयाँ समाचारका लागि इन्टरनेटकै प्रयोग गर्ने गरेका छन् ।जिल्लाका केही स्थानीय तहले समेत आफ्ना सबैसेवा सुविधा तथा जानकारीहरु डिजिटल गरिसकेकाले इन्टरनेट अती आवश्यक बनेको छ। फोनबाट आवाज मात्रै सुन्ने तर इन्टरनेटबाट श्रव्यदृश्य देखिने भएकोले यसको प्रभाव बढेको जानकारहरुले बताए ।

     सर्लाहीको  ग्रामीण क्षेत्रमा इन्टरनेटको माग बढ्दै गएपछि इन्टरनेट सेवाप्रदायक संस्थाहरूको सञ्जाल पनि विस्तार भइरहेको छ । सुविसुले त मुख्यमन्त्री बेटी पढाउ,बेटी बचाउ कार्यक्रम अन्तर्गत संचालन भइसकेको छोरी बीमा कार्यक्रम मार्फत बीमा गरिने छोरीको नाममा तीन महिनाको लागि नि:शुल्क इन्टरनेट सेवा प्रदान गरेका थिए ।  

    सिनेमा हेर्ने माध्यम पनि इन्टरनेट भएको छ । सबै तहका मानिसले आआफ्नो  इच्छा अनुसारको सिनेमा र भिडियो गीतहरु इन्टरनेटबाटै हेर्न थालेका छन् ।यसैगरी, अन्य मनोरञ्जन पनि इन्टरनेटबाट हुने गरेकाले ग्रामीण क्षेत्रका मानिसहरूको अधिकांश समय अहिले इन्टरनेटमै र टिकटक बनाउन र हेर्न मै बित्न थालेको छ । 



No comments:

Post a Comment