Wednesday, June 23, 2021

परिश्रमिक पाउनुपर्ने माग राखेर शिक्षकहरु द्बारा गोडैताका मेयर तथा शिक्षा प्रमुखलाई ज्ञापनपत्र

 





लोकतन्त्र समाचारदाता---

सर्लाही ,असाढ ९

   सर्लाहीको गोडैता नगरपालिका अन्तर्गतका  विभिन्न विद्यालयमा कार्यरत बाल विकास तथा नेपाल   शिक्षक कर्मचारीहरुले तिन बुँदे माग राखेर नगरप्रमुख र शिक्षा शाखा प्रमुखलाई ज्ञापनपत्र बुझाएका छन् । 

     संघिय सरकारको बजेट वक्तव्य अनुसारको न्यूनतम परिश्रमिक पाउनुपर्ने, स्थानिय निकायले गतबर्ष प्रदान गरेको प्रोत्साहन भत्तालाई चालु आर्थिक बर्षमा पनि निरन्तरता दिनुपर्ने र स्थानिय सरकारद्वारा नगरपालिकामा कार्यरत कर्मचारीहरुलाई उपलब्ध गराईएका थप सेवा सुविधा सामुदायिक विद्यालयमा कार्यरत प्र.अ, शिक्षक तथा विद्यालय कर्मचारीलाई समेत उपलब्ध गराउनुपर्ने मागहरु राखेर नेपाल शिक्षक महासंघ र नेपाल विद्यालय कर्मचारी नगरसमितिले  संयुक्तरुपमा गोडैता नगरपालिकाका मेयर देवेन्द्र कुमार यादव र  शिक्षा शाखा प्रमुख प्रमोद कुमार यादवलाई ज्ञापनपत्र बुझाएका हुन्।

     श्रम तथा परिश्रमिक सम्बन्धि नेपाल सरकारको प्रतिबद्वता र आर्थिक बर्ष २०७८/०७९ को बजेट वक्तव्य मार्फत बाल विकास शिक्षक र विद्यालय कर्मचारीहरुको न्यूनतम परिश्रमिक १५ हजार तोकेकोमा ८ हजार संघिय सरकार र ७ हजार स्थानिय तहबाट व्यवस्था हुने भनिएपनि कतिपय समाजिक संजालमा सो व्यवस्थामा आशंका उब्जिएकोले नगरपरिषदमा यसको सम्बोधन हुने आशाका साथ  विद्यालय कर्मचारी र बालविकास शिक्षकहरुको संयूक्त बैठकको निर्णय अनुसार ज्ञापनपत्र बुझाएको बताइएको छ ।

      अन्य कर्मचारीको तुलनामा  शिक्षकहरुको तलब थोरै भएका कारण विद्यालयमा कार्यरत कर्मचारीको अवस्था दयनिय र नाजुक हुदै गएका छन ।उनीहरु तलब बारे खुलेर बोल्न समेत लाजमान्नु पर्ने स्थिति रहेको नेपाल शिक्षक महासंघका गोडैताको अध्यक्ष मनोज कुमार यादव ले बताए। नरपालिकामा कार्यरत कर्मचारीलाई संघिय सरकारबाट प्राप्त तलबको २० % थप गरी तलब प्रदान गरिरहेका छन साथै अरु थप सेवा सुविधा समेत प्रदान गरिरहेका छन । तर समाजमा शिक्षाको उज्यालो छर्ने शिक्षकहरु भने नगरपालिकाको कर्मचारी भित्र नपर्नु दुर्भाग्यपुर्ण रहेको यादवले भने ।संघिय,प्रदेश तथा स्थानीय तीनै खाले तहको सरकारबाट शिक्षकहरु प्रति विभेद र शोषण हुदै आएको उनको भनाइ छ ।

     अर्थ मन्त्रालयले जारी गरेको परिपत्रमा पनि बालविकास र विद्यालय कर्मचारीलाई स्थानिय निकायले तलब खुनाउनुपर्ने उल्लेख गरिएकोले  स्थानिय सकारले तत्कालै आफुहरुको  माग सम्बोधन नगरे  अगामी दिनहरुमा बैठक बसी थप दबाबमूलक कार्यक्रम गर्ने आन्दोलनरत शिक्षकहरुले  चेतावनी दिएका छन् । 

     बालविकास र विद्यालय कर्मचारीको तलब स्थानिय सरकारले खुवाउनुपर्ने संघिय सरकारको  निर्णयको नरपालिका संघले विरोध गरिरहेको मेयर  यादव ले बताए । सबै शिक्षकहरुको तलब संघिय सरकारले दिईरहेको अवस्थामा बालविकास र विद्यालयको कर्मचारीको तलब नगरपालिकाले कसरी दिने ? उनीहरूलाई तलब  केन्द्र सरकारले खुवाउनु पर्ने हो, उनले बताए । 

     नगरपालिकाको आन्तरिक आयस्रोत न्यून रहेकोले नगरमा कार्यरत १७ जना  कार्यालय सहयोगी र २ वटा नगरप्रहरीलाई तलब समेत खुवाउन समेत धौधो परिरहेको मेयर यादवले बताए । यस विषयमाथि नगरपरिषदमा छलफल गर्ने र नगरपरिषदको निर्णयनै अन्तिम निर्णय हुने मेयर यादवले बताए ।

No comments:

Post a Comment