Wednesday, June 30, 2021

घुम्टो प्रथा र पारिवारिक बन्धनका कारण सर्लाहीका ग्रामीण महिलाहरु हिंसा सहेर बस्न बाध्य ।

 


अजमल मिकरानी

सर्लाही ,असाढ १६

      घुम्टो प्रथा, पारिवारिक बन्धन र चेतनाको अभावका कारण सर्लाहीको ग्रामीण भेगमा बसोबास गर्ने महिलाहरु समाजका विभिन्न पक्षबाट पिडित हुनुपर्दा न्यायका लागि प्रहरी कार्यालय तथा  सरोकारवाला निकाय समक्ष जान सकिरहेका छैनन् ।जिल्लामा महिला अधिकारकर्मीहरुको पनि उपस्थिति नरहेकोले गर्दा यस्तो अवस्था आएको हो ।

    पुर्खाको पाला देखि चल्दै आइरहेको घुम्टो प्रथाले अहिले पनि समाजमा जडा गाडेको छ ,कविलासी नगरपालिका वडा न-९ की स्वास्थ्यकर्मी  शिक्षिका मौसम यादव बताउनुहुन्छ । विभिन्न पक्षहरु बाट पिडित बनिरहेका सर्लाहीका अधिकांश महिलाहरु हिंसा सहेर बस्न बाध्य छन् ।उनिहरुको शुरक्षा र न्याय सम्म पहुँच पुग्न सकेको छैन,उहाँले बताउनुभयो ।परिवारको दबाब र पितृसत्तात्मक सोंचका कारण  महिलाहरु घर भित्र हिंसा सहेर बस्ने तर प्रहरी कार्यालय र सरोकारवाला निकाय सम्म जान नपाएको अवस्था छ ।त्यस्ता महिलाहरु ले आँट गरेर न्याय प्राप्तिको लागि सरोकारवाला निकाय सम्म जानु पर्छ, स्वास्थ्यकर्मी   यादव भन्नुहुन्छ ।

    यस्तै मलंगवा नगरपालिका वडा न-५ भाडसरका अर्का महिला नेतृ मुक्ता यादवको कथन पनि  शिक्षिका यादवको जस्तै छ । उनी अहिले ग्रामीण भेगका केही महिलाहरु न्यायको लागि प्रहरी कार्यालय सम्म जाने आँट देखाए पनि पारिवारिक बन्धनले गर्दा धेरै पिडित महिलाहरु जान सकिरहेका छैनन् ।

    कबिलासी नगरपालिका वडा न-९ सलेमपुरकै एक समाजसेवी तथा  राजनीतिकर्मी दिनेश यादव(मास्टर) ग्रामीण स्तरमा हिंसा सहेर बस्न बाध्य महिलाहरु लाई शुरक्षा र न्याय सम्म पहुँच पुर्याउनको लागि जनचेतनामा जोड दिनु पर्ने बताउनुहुन्छ ।अधिकारकर्मीहरुले गाउँ गाउँमा अब जनप्रतिनिधिहरु आइसकेकोले उनिहरुकै मार्फत हिंसा र पिडामा परेका महिलाहरुलाई शुरक्षा र न्याय सम्म पहुँच पुर्याउन जनचेतनामूलक कार्यक्रमहरु संचालन गर्नुपर्ने यादवले बताए  ।

No comments:

Post a Comment