Saturday, October 1, 2022

वि केयर,वि क्यानद्वारा दशैं,तिहार तथा छठको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न, लागुऔषध तथा दुर्व्यसनी राष्ट्रकै ठूलो समस्या बन्दै गएकोमा समाजसेवी तथा बुद्धिजीवीहरु द्वारा चिन्ता व्यक्त

लागुऔषध तथा दुर्व्यसनी राष्ट्रकै ठूलो समस्या बन्दै गएकोमा समाजसेवी तथा बुद्धिजीवीहरु द्वारा चिन्ता व्यक्त


मनोज यादव---

सर्लाही,आश्विन १५ गते

   लागुऔषध तथा दुर्व्यसनी राष्ट्रकै ठूलो समस्या बन्दै गएको भन्दै मलंगवाका बुद्धिजीवी तथा समाजसेवीहरुले चिन्ता व्यक्त गरेका छन् ।

    सनिवार सर्लाहीको सदरमुकाम मलंगवामा विजया दशमी,दिपावली तथा छठ पर्वको अवसरमा वि क्यान,वि केयर नामक एक स्थानीय गैरसरकारी संस्थाले आयोजना गरेको शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रममा बोल्ने क्रममा उनीहरुले यस्तो चिन्ता व्यक्त गरेका हुन्।

   अहिलेका युवाहरु शरीर तथा मस्तिष्कमा अनावश्यक रुपमा उत्तेजना सिर्जना गर्नका लागि जानी नजानी आफै अथवा गलत साथीहरूको संगतमा लागेर विभिन्न  किसिमका लागुऔषधहरुको सेवन गरेर कुलतमा लागिरहेका छन् ।जसले गर्दा उनीहरु दुर्वयसनी बन्दै गइरहेका छन् ।उनीहरुमा लागुऔषधको लत लागेपछि आफू मात्र नभएर परिवार, समाज तथा राष्टूलाई नै खतरामा पारिराखेको मलंगवा नगरपालिका वडा न-८ का वडाअध्यक्ष मुकेश जयसवालले बताए। 

   यस्तै शुभकामना आदानप्रदान कार्यक्रममा आफ्नो विचार राख्दै श्रीमती कृष्णादेवी जनता माविका शिक्षक सुभाष कर्णले कुलतहरुबाट मानिसको स्वास्थ्यमा विभिन्न किसिमका समस्या आउनुका साथै मनमा नराम्रा विचारहरु आउने गरेको  जसले गर्दा समाजमा विभिन्न किसिमका  अपराधिक घटनाहरु घटिरहेको बताए ।

    पछिल्लो समय बालबालिकाहरु पनि लागुऔषधको कुलतमा फसेको पाइएको छ। बालबालिका,किशोर किशोरी तथा युवा युवतीहरु मात्रै नभएर उमेरले परिपक्व भएका मानिसहरु समेत साथीहरुको लहलहैमा लागेर कुलतमा परिरहेका छन् ।एक दिन त हो रमाइलो गरौँ भन्दै लागुऔषधको सेवन गर्दा बिस्तारै त्यसको लत परिसकेको हुन्छ । 

   विभिन्न चााडपर्व, भोजभतेर, विवाह ब्रतबन्ध तथा सामुहिक पार्टीहरुमा मानिसहरुले रमाइलोका लागि पनि लागुऔषधको सेवन गर्दै आइरहेको पाइन्छ ।  गरिबी, बेरोजगारी, पारिवारिक कलह, जीवनमा सोचेजस्तो सफलता हाँसिल गर्न नसक्दा मानिस मानसिक रुपले तनावग्रस्त हुन्छ र उक्त तनावलाई बिर्सनका लागि पनि मानिसले लागुऔषधको सेवन गर्ने गरेको चेम्बर अफ कमर्स मलंगवाका अध्यक्ष एवं औषधि व्यवसायी अमित अग्रवालले बताए ।  मानिस सुरुमा बिडि, चुटोट, गुट्का, हुँदै रक्सी, गाँजा, अफीम, तथा विभिन्न औषधीहरुको सेवन गर्न थाल्दछ । यस्ता पदार्थहरु सामान्य पसलदेखि लिएर विभिन्न ठाउँमा उपलब्ध हुन सक्छन् । यस्ता पदार्थ, साथीसङ्गी, औषधी पसल, डुलन्ते विक्रेता आदिबाट सजिलै प्राप्त गर्न सकिन्छ अग्रवालले भने।

       लागुऔषध सेवन र दुर्व्यसन गर्ने मानिसहरुकै कारण अहिले समाजमा  चोरी, डकैती हत्या, हिंसा, बलात्कार जस्ता घटनाहरु घट्ने गरेको छ। पछिलो समय मलंगवा लगायत सर्लाही जिल्लाका विभिन्न स्थानहरुमा घटने चोरीका घटनाहरुमा लागुऔषध दुर्व्यसनीहरुकै हात हुने गरेको कार्यक्रममा उपस्थित अतिथिहरुले बताए ।

    बिरबलको खिचडी होटलको विशेष सहयोगमा मलंगवा नगरपालिका वडा न-८ स्थित बालमन्दिरको सभाहलमा आयोजना भएको उक्त कार्यक्रममा वडा न-८ का वडाअध्यक्ष जयसवाल, वडा न-९ का वडाध्यक्ष चन्देश्वर राय,वडा न-३ का वडाध्यक्ष प्रमोद राय यादव,रेडक्रस सोसाइटी मलंगवाका अध्यक्ष नागेन्द्र चौधरी, उद्योग वाणिज्य संघ मलंगवाका अध्यक्ष विरेन्द्र साह,समाजसेवी शिवजी प्रसाद साह,दिपेश अमात्य,शिक्षक विभाष कर्ण ,वि  केयर वि क्यान संस्थाका सदस्य लगायतको उपस्थिति रहेको थियो।

    उक्त अवसरमा संस्थाको तर्फबाट अध्यक्ष लक्ष्मण यादवले कार्यक्रमलाई सफल बनाउन आर्थिक सहयोग गरेका  बिरबलको खिचडी होटलका संचालक माधव कुमारलाई  कदरपत्र सहित खाँदा ओढाएर सम्मानित गरेका थिए। कार्यक्रमको संचालन जेसी रामलखन महतोले गरेका थिए।



No comments:

Post a Comment