Friday, October 28, 2022

सर्लाहीको ब्रम्हपुरीमा निशुल्क स्वास्थ्य जाँच तथा रक्तदान शिविर

 साढे ८ सयभन्दा बढी बिरामीले सेवा लिए



मनोज यादव---

सर्लाही,कात्तिक ११

     नेपाल भारत सिमासँग जोडिएको सर्लाहीको  ब्रह्मपुरी गाउँपालिकामा निशुल्क स्वास्थ्य जाँच तथा रक्तदान शिविर संचालन  गरिएको छ ।   

     गैरआवासीय ब्रम्हपुरीबासीको आयोजनामा शिविर भएको हो । ब्रम्हपुरी स्थित श्री जलधर कमलदेव नमुना माविको प्रांगणमा शुक्रवार आयोजना भएको शिविरमा स्त्रीरोग,बालरोग,मुख तथा  दन्तरोग,आँखा रोग, छाती र जनरल सम्बन्धी सेवा दिइएको आयोजकले जनाएको छ।  शिविरमा स्वास्थ्य जाँच गराएका बिरामीहरुको लागि प्रादेशिक अस्पताल मलंगवाले अस्पतालका अध्यक्ष सतिष साह र मेडिकल सुपरिटेन्डेन्ट डा.नवल किशोर झाको पहलमा नि:शुल्क  औषधिको व्यवस्था गरेका थिए,भने यस पालिका अन्तर्गतको स्वास्थ्य शाखाले स्वास्थ्यकर्मी तथा स्वयंसेवकहरुको व्यवस्था गरेका थिए।

शिविरमा प्रहरी चौकी ब्रह्मपुरीबाट खटिएका सुरक्षाकर्मीहरुको पनि सकृय सहभागीता रहेको थियो।

     जागिर तथा कामकाजको सिलसिलामा ब्रम्हपुरी गाउँपालिकाबाट बाहिर बसोबास गरिरहेका ब्यक्तिहरुको सहयोगले गाउँमा सामाजिक गरिविहरु संचालन गर्ने उदेश्यले गठन गरिएको गैरआवासीय ब्रह्मपुरीबासी संस्थले यसअघि कोभिड-१९ को पहिलो चरणको बेला सामाजिक जनचेतना बढाउने ,उत्पिडित उत्थान प्राथमिक विद्यालय ब्रम्हपुरी-२ मा अध्यनरत गरिब तथा जेहन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण लगायतका कार्यक्रमहरु संचालन गरिसकेको संस्थाका संयोजक  ई.रितेश कुमार साहले बताएको छ।

    शिविरमा डा.आशा झा,डा.राकेश कुमार सिंह,डा.अजय कुमार साह,डा.निरन्जन महतो,डा.सशिरन्जन राम,डा.संगम सिंह, डा.सचिन यादव,डा.चन्दन सिंह र डा.रामनारायण साहले सेवा दिएका थिए । 

 उक्त शिविर मार्फत  जेनरल फिजिसियनतर्फ ४१७ जना,स्त्री तथा बालरोगतर्फ ९० जना,दन्तरोगतर्फ ६० जना,हड्डी रोगतर्फ ८० जना बिरामीहरुले सेवा लिएका थिए भने २२५ जनाको सुगर जाँच गरिएको थियो।साथै सोही शिविरमा संचालन भएको रक्तदान शिविरमा १४ जना ब्यक्तिहरुले रगत दान गरेको संयोजक  ई.साहले  जानकारी दिएको छ।        शुक्रवार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म चलेको उक्त शिविरमा ८८६ जना बिरामीहरुले निशुल्क स्वास्थ्य परीक्षण, परामर्श र औषधी वितरणसम्बन्धी सेवा लिएका थिए।                                 


     

No comments:

Post a Comment