Tuesday, October 4, 2022

तराईका देवी मन्दिर तथा शक्तिपिठहरुमा दर्शनार्थीहरुको घुँइचो बढ्यो/देवी प्रतिमा सर्वसाधारणहरुको दर्शनका लागि खुल्ला

 


 

मनोज यादव----

सर्लाही,आश्विन १८

    नेपालीहरुको महान चाड बडा दशै सुरु भए लगतै सर्लाही लगायत तराईका बिभिन्न स्थानका देवी मन्दिर तथा शक्तिपिठहरुमा दर्शनार्थीहरुको घुँइचो लागेको छ । तराई  मधेशका जिल्लामा देवी दुर्गासहित अन्य विभिन्न देवी देउताका मूर्ति राखिएका प्रतिमा स्थल तथा मन्दिरहरु एक प्रकारले धार्मिक पर्यटकीय गन्तव्य जस्तै बनेको छ ।

    मधेस  प्रदेश अन्तर्गत पर्ने सर्लाही जिल्लाको सदरमुकाम मलंगवा स्थित प्रशिद्ध राजदेवी माई,बौधी माई, कबिलासी नगरपालिका स्थित चमेली माई लगायत जिल्लाका विभिन्न पालिकाहरुमा अवस्थित दशकौ पुरानो एवं  प्रशिद्ध देवी मन्दिर तथा मेला आयोजनको लागि बनाइएका अस्थायी प्रतिमा स्थलहरुमा सप्तमीको दिनदेखि नै विशेष पुजा गर्ने र बली चढाउने भक्तहरुको घुइँचो लागेको छ । ती मठ मन्दिर तथा प्रतिमा स्थलहरुमा दशै सुरु भएको घटस्थापनाको दिनदेखि नै बिहान बेलुका  दैनिक रुपमा बिशेष पुजा आजा हुनुका साथै भजन किर्तन जागरण तथा झिंझिया नाचहरु समेत भैरहेका छन । दशैको समयमा  शक्ति पिठहरुमा पुजा अर्चना गरेमा पारिवारिक सुख शान्ति मिल्ने धार्मिक जनबिश्वास रही आएको छ ।

     अहिले सर्लाहीको सदरमुकाम मलंगवा ,विभिन्न चौक चौराहाहरुमा भब्य पण्डाल भित्र निर्माण गरिएका माता दुर्गासहित अन्य देवी देवताहरुको प्रतिमा स्थल  तथा दुर्गा मन्दिरहरुमा ठुलो मेला लागेको छ । यस्ता माटोको प्रतिमाहरु सदरमुकाम मलंगवा ,लालबन्दी ,हरिवन, बयलबास, बरहथवा, बागमती लगायत गाउँगाउँमा स्थापना गरि भब्य मेला लागिएको छ

     दुर्गा भगवतीको प्रतिमा राखिएको स्थान एक प्रकारले धार्मिक पर्यटकीय गन्तव्य जस्तै बनेको छ । जहाँ आसपासका गाउँहरुबाट ठुलो संख्यामा मानिसहरु पूजा आराधना गर्न र मेला भर्न आउने गरेका छन्। दसैँमा लाग्ने यस्तो मेलालाई मौलिक परम्पराको रुपमा लिइने जानकारहरु बताउँछन् । तराई मधेसमा दसैं पर्वलाई दुर्गा पूजा, दशहरा, दशमी, भगवती पूजाको नामले पनि मनाउने गरिन्छ । 

    विजया दशमीको अवसरमा पहिलो दिन  हजारौं कुमारी कन्या तथा महिलाहरु द्वारा कलश यात्रा निकाली विधिवत रुपमा घटस्थापना गरिएको थियो।छैटौं दिन बेललाई फुलबारीमा आमन्त्रण गर्न बेलनवतन यात्रा निकालि बेललाई निमन्त्रणा दिई त्यसको भोलिपल्ट अर्थात् सप्तमीका दिन निमन्त्रणा दिएको बेललाई पूजापाठ गरी डोलीमा राखेर दुलही ल्याएझैँ मन्दिर तथा प्रतिमा स्थलमा ल्याएर पूजापाठ गरी बेललाई विधिवत भित्र्याइएको थियो।यसैगरी सातौ अर्थात फुलपातीका दिन बाजागाजा सहित देवीको ध्वजा यात्रा निकाली नगरको परिक्रमा गरिएको थियो 

   तराई मधेसको मौलिक परम्पराको रुपमा नाच्दै आइरहेको झिझिया नृत्य  बढ्दो आधुनिकता सँगै हराउँदै गइरको  अवस्थामा यसलाई पुनः समाजमा स्थापित गराउ केहीवर्ष देखि दशै पर्वको अवसर पारेर झिझिया नृत्य प्रतियोगिताको आयोजना हुन थालेको छ।दसैँमा डायन(बोक्सी) तथा धामी झाँक्रीहरु आफ्नो तन्त्र विद्या सिद्ध गर्ने भएकाले महिलाहरु आफ्ना बालबालिकालाई यस्तो कार्यमा प्रयोग गर्नबाट रक्षा गर्न कम्मरमा हिंग, लसुन र निधारमा कालो टीका लगाइदिने प्रचलन रहेको छ।त्यसोत डायन(बोक्सी)बाट जोगिनका लागि दसैँको पहिलो दिन घटस्थापनाको दिनदेखि नै तराई मधेशका गाउँगाउँमा झिझिया  नृत्य शुरु हुन्छ । यो नृत्य दसैँको अन्तिम दिन अर्थात् पूर्णिमाको दिन समाप्त हुन्छ । यो नृत्य गर्ने महिलाहरु डायनबाट जोगिन, धामी झाँक्रीहरुलाई गाली गर्ने, त्यसको विरोध गर्ने र सराप्ने गर्दछन् ।

   मधेसी समुदायमा टीका तथा जमरा लगाउने चलन हुँदैन । यद्यपि कतिपय ठाउँमा पहाडको सिको गरेर टीका लगाउने चलन पनि शुरु यहाँ भएको छ। 

  अष्टमी अर्थात आठौं दिनको पूजालाई अर्धरात्री पूजा भनिन्छ । जसलाई कालरात्री पनि भनिन्छ । त्यस रात गरिने दुर्गा भगवतीको पूजालाई निशा पूजा पनि भनिन्छ । रातभर पूजा आराधना हुन्छ । कोटिन जोगिनको पूजा पनि त्यही दिन हुन्छ ।

    त्यसपछि अन्तिममा गएर बधम बध पूजा हुन्छ र बलि दिन शुरु हुन्छ । भक्तजनहरुले भाकल गरे अनुसार खसी, बोका, परेवा, हाँस आदिको बलि दिन्छन । नवमी अर्थात् नवौं दिन दुर्गा भगवतीको पूजापाठ तथा आरती हुन्छ र विजया दशमीको अन्तिम दिन दुर्गा भगतवतीका साथै सबै देवीदेवताको बिसर्जनको पूजा हुन्छ । त्यो दिन दुर्गा भवगतीलाई बिदाई गरिन्छ, जसलाई जात्रा भनिन्छ । त्यो दिन यात्राका लागि एकदमै शुभ मानिन्छ । कसैलाई बाहिर जानु छ वा आउनु छ भने त्यस दिनलाई शुभ मानिन्छ । त्यो दिन चेलीबेटी, बुहारी भित्र्याउने वा पठाउने काम पनि हुन्छ ।

   गतवर्ष कोरोना संक्रमण तथा लकडाउनका कारण मठ मन्दिरहरुमा भिडभाड नभएपनि यसवर्ष भने जिल्लाका सबैजसो मठ मन्दिर तथा मुर्ति स्थलहरुमा ठुलो मेला लागेको छ ।


 


No comments:

Post a Comment