Tuesday, October 18, 2022

पटकपटक निर्वाचित भएर पनि केही गर्न नसकेका पुराना नेताहरुको विकल्पको रुपमा सर्लाही क्षेत्र न-४ का जनताले आफुलाई अरुभन्दा बढी उपयुक्त मानेका छन् :ई.राजिनन्द प्रसाद चौधरी,प्रतिनिधि सभा उमेदवार

 


पटकपटक निर्वाचित भएर पनि केही गर्न नसकेका पुराना नेताहरुको विकल्पको रुपमा सर्लाही क्षेत्र न-४ का जनताले आफुलाई अरुभन्दा बढी उपयुक्त मानेका छन् :ई.राजिनन्द प्रसाद चौधरी,प्रतिनिधि सभा उमेदवार

मनोज यादव---

सर्लाही,कात्तिक १

    लोकतन्त्रको नाममा विश्वको एकमात्र हिन्दुराष्ट्र,राज्य शक्तिका स्रोत सनातन हिन्दु संस्कृतिप्रति आस्थावान ९० प्रतिशत भन्दा बढी नेपाली जनताको धार्मिक आस्थाको अवमुल्यन गर्दै नेपाललाई धर्म निरपेक्ष राष्ट्रको श्रेणीमा तीन दलिय सिन्डिकेटले  खडा गरेर हिन्दुवादी बिचारका ९० प्रतिशत जनतालाई मर्माहत तुल्याएकोमा नेपाल जनता पार्टीको घोर आपत्ति रहेको सर्लाहीको निर्वाचन क्षेत्र न-४ बाट प्रतिनिधि सभा सदस्य पदका उमेदवार ई.राजिनन्द प्रसाद चौधरीले बताउनुभएको छ।

   नयाँ संविधानमा धर्म निरपेक्षताको सवालमा ने.ज.पा ले घोर आपत्ति एवं असहमति जनाउँदै आएकोले नेपाललाई हिन्दुराष्ट्रको रुपमा पुनस्थार्पना गर्न आफ्नो पार्टी सदैव संघर्षरत रहने प्रतिनिधि सभा सदस्य उमेदवार ई.चौधरीले बताए।

    आफु प्राविधिक क्षेत्रबाट आएको ब्यक्ति भएकोले जबसम्म प्रविधिको विकास हुँदैन तबसम्म देशको विकास हुन सक्दैन भन्ने कुरा आफुले बुझेकोले क्षेत्र न-४ का प्रत्येक नागरिकको आफ्नै बिजुलीबत्ती ,खानेपानी तथा शौचालयसहितको सुविधायुक्त घर,ग्रामीण क्षेत्रको विकासका लागि ग्रामीण हाटबजारको संजाल विस्तार गरि शहरी सुविधा उपलब्ध गराउने ,साना तथा घरेलु उद्योगमा कार्यरत उद्यमीहरुको क्षमता विकासका लागि सहुलियत श्रृण सुविधा उपलब्ध गराई सहज बजार व्यवस्थापनमा सहयोग गर्ने र घरघरमा शुद्ध खानेपानीको उपलब्धता गराउने उहाँले बताउनुभयो ।उहाले आफ्नो क्षेत्रका जनताहरुलाई सुशासनको अनुभुती दिलाउन  प्रशासन प्रणालीमा व्याप्त चरम भ्रष्टाचार,मनमानी एवं लाल फित्ताशाहिको अन्त्य गर्ने बताउनुभयो ।  

    क्षेत्र न-४ का जनताले मैले चुनाव लड्नुको उदेश्य र योजनालाई आत्मसात् गरेर बिजयी गराएको खण्डमा  प्रत्येक गाउँ ,नगर र पालिका स्तरमा खाद्य पदार्थको भण्डारण एवं वितरण गरि कालोबजारीलाई नियन्त्रण गर्ने,विद्युतिय शासन प्रणालीद्वारा पार्दर्शिता कायम गराउने र सेवाग्राहीहरुलाई सरल र सहज रुपमा सेवा प्रवाह गराउने आफ्नो लक्ष्य  रहेको लोकतन्त्र खवर डट.कम सँगको कुराकानीमा उहाँले जानकारी गराउनुभयो।

     देशमा व्याप्त बेरोजगारीका कारण आफ्ना घरपरिवारलाई छाडेर रोजगारको लागि खाडी मुलुक तथा भारतका विभिन्न शहरमा पलायन हुँदै आएका युवा जनशक्तिलाई आफ्नै देशमा टिकाइ राख्न सीप विकास एवं व्यापक श्रृण सुविधाको माध्यमले रोजगारीको अवसर सिर्जना गर्ने र रोजगारीका अवसर वृद्धिका लागि स्वदेशी उत्पादन एवं पर्यटन क्षेत्रलाई विशेष प्रोत्साहन गर्ने ,महिला लक्षित सीप विकास प्रशिक्षण कार्यक्रमको व्यवस्था गर्ने आफ्नो लक्ष्य रहेको बताए।

    यसैगरी लोकतन्त्र खबर डट.कमसँगको कुराकानीमा उहाँले कन्या भ्रुण हत्यालाई रोक्न र छोरीलाई पढाउने राष्ट्रिय अभियान "छोरी बचाऔं-छोरी पढाऔं अभियान शुरु गर्ने जानकारी बताउनुभयो ।उहाँले ने.ज.पा आफ्नो स्थापना कालदेखि नै समाजमा व्याप्त छुवाछूत र भेदभावको अन्त्य तथा समानतामुलक समाजको निर्माणका लागि  दलित,आदिवासी ,जनजाति,पिछडा वर्ग लगायत अन्य वर्गका नागरिकहरु समेतलाई प्राथमिकताको आधारमा अवसरहरु प्रदान गर्न वातावरण बनाउने साथै लोपोन्मुख जातजाति एवं विपन्न वर्गका नागरिकहरुका लागि शिक्षा,स्वास्थ्य एवं अन्य आधारभुत सेवा सुनिश्चित गरि विस्थापित हुनबाट बचाउने बताउनुभयो ।

    यसका साथसाथै क्षेत्र न-४ का जनता तथा क्षेत्र विकासका लागि कृषिलाई आधुनिकिकरण गरेर सुधार गर्ने,वरिष्ठ एवं शारीरिक रुपमा असक्त नागरिकहरुको हकहित र रक्षाको लागि अधिकतम सुविधा उपलब्ध गराउने,यसैगरी  देशको कर्णधारको रुपमा रहेका युवा वर्गको लागि उच्च शिक्षा अध्यन गर्न सहजरूपमा शैक्षिक श्रृणको उपलब्ध गराउने र राष्ट्रिय खेलकुद प्रतिभा खोज प्रणालीको सुरुवात गर्ने समेत योजना र लक्ष्य रहेको जानकारी गराउनुभयो।

    पटकपटक निर्वाचित भएर जाँदा पनि  पुराना नेताहरुको कामबाट असन्तुष्ट सर्लाहीको निर्वाचन क्षेत्र न-४ का जनताले यसपालि आफ्नो क्षेत्रको विकास तथा हकहित संरक्षणका लागि  नेताको रुपमा नयाँ अनुहार खोजेका छन् । यस क्षेत्रका जनताहरुले पटकपटक निर्वाचित भइसकेका पुराना नेताहरुको विकल्पको रुपमा आफुलाई   अरुभन्दा बढी उपयुक्त मानेको र प्राविधिक क्षेत्रबाट आएका कारण प्राविधिक ज्ञान समेत भएकोले निराश भइसकेका यस क्षेत्रको जनता तथा क्षेत्रको लागि केही गर्नसक्ने क्षमता समेत आफुभित्र व्याप्त रहेकोले जागिरबाट अवकास पाएपछि समाजसेवा गर्ने उदेश्यले सर्लाहीको क्षेत्र न-४ बाट प्रतिनिधि सभा सदस्य पदको लागि उमेदवारी दिएको ई.चौधरीले लोकतन्त्र खबर डट.कम सँग भन्नुभयो।

    आफुले नेपालमा आयातित संस्कृतिको दुस्प्रभाव कम गर्न ,धर्म परिवर्तन गर्ने प्रवृत्तिलाई रोक्न साथै वेद,योग,सिल्पविधा,आयुर्वेद आदी हिन्दु जिवनशैलीमा आधारित ज्ञानभुमी एवं आध्यात्मिक राष्ट्रको रुपमा विकास गर्न अग्रसर रहेको नेपाल जनता पार्टीबाट चुनाव लडेकोले धर्म संस्कृतिको रक्षा गर्न र जनताको सेवामा दिनरात तल्लिन रहन आफुले प्रतिवद्धता लिएको बताउनुभयो ।

   

No comments:

Post a Comment