Wednesday, October 19, 2022

उमेदवारहरु घरदैलो र भेटघाट कार्यक्रममा व्यस्त


 मतदाता रिझाउन नयाँले गर्ने योजना सुनाउँदै ,पुरानोले गरेको योजना सुनाउँदै

मनोज यादव---

सर्लाही,कात्तिक २

   प्रतिनिधि सभा तथा प्रदेश सभाको  निर्वाचनको मिति नजिकिँदै गर्दा सर्लाहीका  उमेदवारहरु आफ्ना समर्थकहरुको साथमा घरदैलो र मतदाता भेटघाट कार्यक्रममा व्यस्त भएका छन् ।

    सबैभन्दा धेरै मतदाता  गाउँघरमै भेटिने भएकाले उमेदवारहरु पनि मतदाताहरुलाई रिझाउन गाउँ केन्द्रित बनेपछि  सदरमुकाम मलंगवा लगायत जिल्लाका व्यापारिक केन्द्रहरू यतिबेला सुनसान बनेका छन् ।शहरको भन्दा गाउँमा चुनावी रौनक बढेको छ । सबै दलका उम्मेदवारहरू गाउँमा पुगेपछि चुनावी रौनक छाएको हो ।

    नजिकिँदै गरेको दिपावली तथा छठ पर्वको बाबजुद पनि दलहरूले आफ्ना सबै चुनावी कार्यक्रमलाई गाउँ केन्द्रित गरेका छन् । राजनीतिक दलहरु दिनहुँजसो चुनावी कार्यक्रमहरू गरिरहेका छन् । चुनावले गाउँमा चहलपहल बढाएको छ। यतिबेला पुराना तथा नयाँ नेताहरू बीच मतदाताहरुलाई आफुतर्फ आकर्षित गर्ने होडबाजी नै चलेको छ।

    अहिले ४०-५० जना कार्यकर्ताहरुलाई अघिपछि लगाएर नआउने उम्मेदवार कोही पनि छैनन्,लावालस्कर सहित तीनचार वटा चारचक्के गाडी र दर्जनौं मोटरसाइकल लिएर उम्मेदवारहरू जनताको घरघरमा    आउने गरेको स्थानीयहरुले बताए ।

    यसअघि निर्वाचित भइसकेका नेताहरु आफ्नो कार्यकालमा गरेका कामहरुको बारेमा बताउँदै भोंट मागिरहेका छन् भने पहिलोपटक उमेदवार बनेका नयाँ नेताहरु आफुले जितेको खण्डमा गर्ने काम र घोषणापत्र सुनाएर मतदाताहरु सँग भोंट मागिरहेका छन् । दल तथा उमेदवारका कार्यकर्ताहरू बिहानैदेखि साँझ अबेरसम्म प्रचारप्रसारमा होमिएका छन् । अहिले गाउँमा एक पार्टीबाट अर्को पार्टीमा प्रवेश गर्नेहरू पनि बढेका छन् । कुनै पार्टीका उम्मेदवार एक ठाँउमा गयो भने अर्को पार्टीका उम्मेदवार त्योभन्दा बढी कार्यकर्ता लिएर पुग्ने प्रतिस्पर्धा नै चलेको देख्न सकिन्छ ।

    यसपटकको चुनावमा दलिय गठबन्धनका कारण पार्टीगत उमेदवारहरु कम भएकाले अधिकांश  स्वतन्त्र रुपमा उमेदवारी दिएका युवाहरु चुनावी मैदानमा उत्रिएका छन्। जसले गर्दा मतदाताहरुमा उत्साह जागेको छ। दलहरूले आफ्नो पक्षमा मत बढाउन विभिन्न नारासहित घोषणापत्र सार्वजनिक गरेका छन् । जसमा मतदाताका आधारभूत आवश्यकतादेखि ठूला विकास निर्माण योजनाहरू समावेश गरिएका छन् । पटकपटक चुनावमा जिताएर पठाएका नेताहरुले जनताको मनजित्ने एउटा पनि काम नगरेकाले उनीहरू माथि पुनः विश्वास गर्ने भरपर्दो आधार नभएको स्थानीय युवाहरुले बताए ।

   उता उमेदवारहरु मत माग्दै डुलिरहेका छन् भने यता स्थानीयहरु बिच फेरी पनि पुरानै नेतालाई जिताउने कि नयाँलाई मौका दिने भन्ने विषयमा चर्चापरिचर्चा चलिरहेको छ।

No comments:

Post a Comment