Thursday, October 6, 2022

सर्लाही जिल्ला मै पहिलोपटक मलंगवामा असत्य माथि सत्यको विजयको प्रतिकको रुपमा रावणको पुतला दहन गरियो

 

 



मनोज यादव----

सर्लाही,आश्विन २०

     विजया दशमीको अवसरमा बुधबार राति  सर्लाहीको सदरमुकाम मलंगवामा जिल्लामै पहिलोपटक रावणको पुतला दहन गरिएको छ। 

   असत्य माथि सत्यको विजयको प्रतीकको रुपमा दशमीको दिन  मलंगवा नगरपालिका वडा न-१० स्थित तीनबिघे मैदानमा  लंकाधिपति रावणको पुतला दहन गरिएको हो।

रामले रावणमाथि विजया दशमीकै दिन विजय प्राप्त गरेको खुसियालीमा रावणको प्रतिमा बनाएर जलाउने कार्य त्रेतायुगदेखि चल्दै आएको र सोही धार्मिक परम्परालाई निरन्तरता दिन मलंगवा नगरपालिका क्षेत्र भित्रका स्थानीय  युवा समाजसेवीहरुको पहलमा  जिल्लामै पहिलोपटक रावणको विशाल प्रतिमा बनाएर जलाएको मलंगवाका युवा समाजसेवी धिरेन्द्र मिश्रले बताएको छ।

    रावणको पुतला दहन गर्नु अगाडी बुधबार दिउँसो  हिन्दुधर्म प्रति आस्था राख्ने  सयौं युवाहरुले मोटरसाइकल  जुलुस समेत निकालेका थिए।उक्त जुलुस जिल्ला समन्वय समिति स्थित तीनबिधे मैदानबाट सुरु भई  देवी दुर्गा र जयश्री रामको नारा लगाउँदै मलंगवा नगरपालिका अन्तर्गतको विभिन्न वडाहरुको परिक्रमा गर्दै पुनः तीनबिधे मैदानमा आएर साँझ ७ बजे सामुहिक रुपमा रावणको पुतला दहन गरिएको थियो। 

    पुतला जलाउन अगाडी असत्यमाथि सत्यको विजयका रूपमा भगवान् रामको दीप प्रज्वलन गरी पूजा आराधना गरिन्छ । भगवान् रामको धार्मिक विधिअनुसार पूजा सम्पन्न भएपछि रावणको पुत्ला दहन गरिन्छ र सोही राति विजय उत्सव मनाउने गरिन्छ ।

    असत्यमाथि सत्यको विजय होस् भने सन्देश दिनका लागि जिल्लामै पहिलोपटक आयोजना गरिएको  रावण बधको कार्यक्रम प्रत्येक वर्ष यसैगरी  विजयादशमीको दिन आयोजना गर्दै जाने स्थानीय युवा समाजसेवी प्रविण चन्द्र कर्णले जनाएको छ । 

No comments:

Post a Comment