Friday, October 14, 2022

अख्तियार आयुक्तकै जागिर खुस्काईदिने राष्ट्रिय खेलाडी पनि चुनावी मैदानमा

 

सोम दियाली---

असोज २८ ।

    नेपाल कराते महासंघका केन्द्रीय सचिव राष्ट्रिय खेलाडी ध्वजमान मुक्तानले संघीय संसदका लागि उमेदवारी दिनुभएको छ । 


खेलकै माध्यमबाट देशको नाम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सफल हुनुभएका पछिल्लो समय भ्रष्टाचार विरोधी अभियन्ताको रुपमा समेत परिचय बनाउनु भएका मुक्तानले सर्लाही क्षेत्र नम्बर १ बाट संघीय संसदको लागि स्वतन्त्रबाट उमेदवारी दिनुभएको हो । उहाँले मौरी छाप चुनाव चिन्ह प्राप्त गर्नुभएको छ । 


सम्पूर्ण जीवन खेलमै समर्पित गर्नुभएका मुक्तान देशमा व्याप्त भ्रष्टाचार, अनियमितता, कालोबजारी, बेरोजगारी, चरम गरीबी लगायतका समस्या टुलुटुलु हेरेर बस्न नसकेको भन्दै आफै चुनावमा होमिएको बताउनुभयो । उहाँले आफूले चुनाव जिते खेल क्षेत्रसहित समाजलाई सही मार्गमा डो¥याउन, शान्ति सुव्यवस्था कायम गर्न र विकास र समृद्धिका लागि काम गर्ने बताउनुभयो । 


भाईरल पोष्टसँग कुराकानी गर्नुहुँदै स्वतन्त्र उमेदवार मुक्तानले भन्नुभयो,‘खेल क्षेत्रबाट मैले राष्ट्रका लागि जति योगदान दिनु दिएँ । अब राजनीतिमै लागेर समाज परिवर्तन गर्न लाग्छु ।’ उहाँ खेलाडी मात्रै नभएर भ्रष्टाचार निवारण अभियन्ता पनि हुनुहुन्छ । भ्रष्टाचारीहरु आफूलाई मन नै नपर्ने बताउनुहुँदै उहाँअगाडि भन्नुहुन्छ,‘ मैले यहाँ सम्म कि भ्रष्टाचारीहरुलाई कार्वाही गर्ने निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्तकै जाखिर खाई दिएको छु । करीब दुई वर्ष अघि प्रमुख आयुक्तको लाईनमा रहेका अख्तियार दुरुपयोग अुनसन्धान आयोगका आयुक्त राजनारायण पाठकको जागीर मैले नै चैट पारिदिएको हुँ ।’ उहाँले भन्नुभयो,‘त्यसैले म भन्छु कि म भ्रष्टाचार गर्दिन, गर्न दिन्न र गर्नेलाई छोड्दिन ।’


उहाँले पछिल्लो समय दलहरुप्रति जनताको विश्वास टुटेकोले आफूले चुनाव जित्ने दाबी गर्नुभयो । ‘अहिले दलहरुप्रति जनताको विश्वास टुटेको छ । भ्रष्टहरुलाई मत दिँदा दिँदा जनता आजीत भईसकेका छन् । जनताले काम गर्ने मान्छे खोजेका छन् । विकास गर्ने नेतृत्व खोजेका छन् । त्यसैले म जनताका मूलभूत आवश्यकता पूरा गर्न सक्षम छु । मलाई आशा छ, यस क्षेत्रका जनताले मलाई विजयी बनाउनुहुनेछ’, मुक्तानले भन्नुभयो ।


उहाँले आफू अरु जस्तो नक्कली स्वतन्त्र उमेदवार नभएको बताउनुभयो । ‘अरु त पार्टीले टिकट नदिएपछि स्वतन्त्र बनेका हुन् । उनीहरु स्वतन्त्र पनि होईनन् पार्टीका बागी उमेदवार हुन् । म त कुनै पनि दलमा नलागेको शतप्रतिशत स्वतन्त्र उमेदवार हुँ । अर्थात् सक्कली स्वतन्त्र उमेदवारलाई जनताले भोट दिनुहुनेछ ।’, मुक्तानले भन्नुभयो । 


को हुन् ध्वजमान मुक्तान ?


ध्वजमान मुक्तान नेपाल कराते महासंघका केन्द्रीय सचिव तथा मधेश प्रदेशका ईन्चार्ज हुनुहुन्छ । विस २०२६ साल फागुन ५ गते पिता जंगवीर मुक्तान र माता मनमाया मुक्तानको कोखबाट भएको हो । जंगवीर र मनमायाका ५ भाई छोरामध्ये ध्वजमान साईला छोरा हुनुहुन्छ । 


सर्लाहीको ईश्वरपुर नगरपालिका ४ साविक भक्तिपुर गाविसको सागरनाथमा जन्मिनुभएका मोक्तानको बाल्यकाल सागरनाथमै बित्यो । सम्पन्न परिवारको नभएपनि खान लाउन भने उहाँको परिवारमा समस्या थिएन । 

उहाँले सागरनाथस्थित सागरनाथ माविबाट प्राथमिक तहको शिक्षा हासिल गर्नुभयो भने बयलवासस्थित नारायण माविबाट एसएसलसी तथा काठमाण्डौं स्थित आरआर क्याम्पसबाट आईए पास गर्नुभयो । 


सानै देखि खेलमा रुचि राख्नुहुने ध्वजमानले ११ वर्षको उमेरदेखि नै कराते खेल्नु भयो । खेल खेलेरै देशको नाम राख्छु भनेर कराते मै अघि बढ्नु भएका ध्वजमानले आठौं साफमा स्वर्ण पदक जित्नु भएको थियो । उहाँले सन् २००१ देखि २०११ सम्म जापानमा रहेर खेल प्रशिक्षण गराउनु भएको थियो । उहाँ फाईभ डन खेलाडी हुनुहुन्छ ।  


जीवनमा खेल खेलेर नै थुप्रै सफलता प्राप्त गर्नुभएका ध्वजमानले दर्जनौं राष्ट्रिय अन्तर्राष्ट्रिय पदक तथा पुरस्कारहरु जित्नु भएको छ । उहाँ गोरखा दक्षिणबाहू तेश्रो त्रिशक्ति पट्टबाट समेत सम्मानित भई सक्नुभएको व्यक्ति हुनुहुन्छ । उहाँ सबैसँग समान व्यवहार गर्न रुचाउनु हुन्छ । कसैलाई काखा कसैलाई पाखा गर्नेहरु उहाँलाई पटक्कै मन पर्दैन । 


देशको पछिल्लो राजनीतिक अवस्थाबाट पनि उहाँ आजित, वाक्क दिक्क भएर नै आफै चुनावी मैदानमा उत्रिएको बताउनुहुँदै उहाँले चुनावमा आफूलाई सहयोग गर्न सबै शुभेच्छुक, शुभचिन्तक तथा क्षेत्रवासीहरुसँग आग्रह गर्नुभएको छ ।

No comments:

Post a Comment