Monday, October 31, 2022

तराईको मधेश प्रदेशमा हर्षोल्लासका साथ छठ पर्व सम्पन्न,यसवर्ष कोरोनाको संकट हटिसकेकोले खुलेर मनाए छठ




    संसदीय निर्वाचनका उमेदवारहरु पनि छठ घाटमा पुगेर आफ्नो लागि मत माग्दै गरेको भेटिए

 

मनोज यादव---- 

सर्लाही, कार्तिक १४ 

      तराईको मधेश प्रदेशमा लोकआस्थाको महापर्व छठ हर्षोल्लासका साथ सम्पन्न भएको छ।बर्तालुहरु लगातार चार दिनसम्म निराहार बसेर आज बिहान उदाउँदो सूर्यलाई अर्ध दिएर छठ पर्व सम्पन्न गरेका हुन्। 

     पहिलो दिन नहाय खाय,दोस्रो दिन खरना तेस्रो दिन अस्ताउँदो तथा चौथो र अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ दिएर यो पर्व विधिवत रुपमा सम्पन्न हुने गर्छ। 

   चार दिवसीय छठ पर्वमा तेस्रो दिनलाई मुख्य दिन मानिन्छ ।यो पर्व निकै कठिन पर्व मानिन्छ । चार दिनको यस पर्वमा बर्तालुले दुई दिन बिना अन्न–पानीको भोकै बस्नुपर्छ । पहिलो दिन जीउ शुद्ध गर्न नुहाउने दिनलाई ‘नहाय–खाए’ भनिन्छ भने दोस्रो दिन दिनभरि उपवास रही राति ‘खीर’ बनाई देउतालाई चढाएर खाने विधिलाई ‘खरना’ भनिन्छ । त्यस्तै मूल दिन जसलाई सँझिया घाट पनि भिनिन्छ मा ठेकुवा, भुसवा,खजुरीया ,केराको घउर,ऊखु,भोगटे,अदुवा,स्याउ लगायतका फलफुलको साथै माटोको हात्ती, सुप, कनसुपती, कलश सहितको घैंटो आदि सामाग्रीहरुको स्वच्छता र पवित्रता पूर्वक व्यवस्था गरिन्छ र साँझतिर अस्ताउने सूर्यको नमन गर्दै अर्घ दिइन्छ ।संझिया घाटको दिन अर्घ दिइसके पछि बर्तालु महिला र पुरुषहरु राति घाटमै जाग्राम बस्ने गर्छन भने कोही सूर्यलाई अर्घ दिन भनि ल्याएको परसादहरु लिएर आआफ्नो घरमै जान्छन् । त्यसको भोली पल्ट पनि यसैगरी उदाउँदो सूर्यलाई अर्घ दिइन्छ ।

   छठ यस्तो पर्व हो, जसमा अस्ताञ्चलगामी अर्थात अस्ताउँदो सूर्यलाई पनि पूजा गर्ने परम्परा छ । यो पर्व गर्नाले विभिन्न रोगहरुको नास हुने र निसन्तान दम्पतिले सन्तान प्राप्ति गर्ने जनविश्वास रहि आएको छ।

   पछिल्लो समय  छठ पर्व तराई मधेशमा मात्र नभइ मधेसी समुदायको देखासिखी र यस प्रतिकोआस्थाले गर्दा काठमाडौमा समेत मनाउन थालिएको छ।

    यसअघिको दुईवर्ष विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस र देशव्यापी लकडाउनका कारण खुलेर छठ पर्व मनाउन नपाएका मानिसहरु यसवर्ष निर्धक्कका साथ पर्व मनाएका छन् ।

    आगामी मंसिर ४ गतेको लागि चुनावी मैदानमा उत्रिएका उमेदवारहरु पनि छठ घाटमा पुगेर आफ्नोलागि मत मागेको देखिएका थिए।


No comments:

Post a Comment