Friday, May 13, 2022

सर्लाहीको नेपाल भारत सिमावर्ती पश्चिम क्षेत्रका केही मतदान केन्द्रमा झडप,स्थिति तनावग्रस्त / धनकौल र चक्रघट्टा गाउँपालिकामा हवाई फायर,हाल मतदान स्थगित

मनोज यादव---

सर्लाही,बैशाख ३०

   स्थानीय तह निर्वाचन अन्तर्गत आज जारी निर्वाचनमा सर्लाहीको धनकौल गाउँपालिकामा राजनैतिक दलका नेता तथा  कार्यकर्ताहरु बीच झडप भएको छ।धनकौल गाउँपालिका वडा न-२ स्थित पशु सेवा मतदान स्थलमा करिब ५ सयको हराहारीमा आएका मानिसहरुको समुहले मतदान केन्द्रमा ढुङगा मुढा गर्न थालेपछि स्थिति  नियन्त्रणमा लिन प्रहरीले १ दर्जन भन्दा बढी राउन्ड  हवाई फायर गरेको प्रमुख जिल्ला अधिकारी थालेश्वर गौतमले जानकारी दिएको छ।

    प्रमुख जिल्ला अधिकारी गौतमका अनुसाद नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच विवाद तथा झडप भएपछि स्थिती नियन्त्रणमा लिन गोली चलाउनु परेको हो।झडपको क्रममा राजनीतिक दलका कार्यकर्ताहरु बीच ढुंगा हानाहान समेत भएको छ । स्थिती नियन्त्रण भन्दा बाहिर गएपछि उक्त  मतदान केन्द्रमा अहिले नेपाली सेनाको टोली  खटाईएको छ ।

   त्यस्तै कौडेना गाउँपालिकाको वडा न-६ स्थित जनता आधारभूत विद्यालय मतदान केन्द्रमा पनि विभिन्न राजनैतिक दलका नेता तथा  कार्यकर्ताहरु बीच बिबाद भएको छ।विवादका कारण अवरुद्ध भएको मतदान झण्डै १ घण्टा पछि पुनः केहीबेर अगाडीबाट सूचारु भएको छ। 

    त्यस्तै नेपाल भारत सिमवर्ती बलरा नगरपालिका वडा न–१, हथियौल स्थित मतदान स्थलमा पनि विवादका कारण मतदान कार्य अवरुद्ध भएको जनाइएको छ। 

   सर्लाहीको चक्रघट्टा गाउँपालिका अन्तर्गत शिवनगरको रासनारायण प्रावि मतदान केन्द्रमा पनि केही बेर अगाडी नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका कार्यकर्ताबीच झडप हुँदा स्थिती नियन्त्रण बाहिर जान थालेपछि सुरक्षाकर्मीले हवाई फायर गरेका छन् । दुई पक्षको झडपका कारण स्थिती नियन्त्रण बाहिर गएपछि प्रहरीले गोली चलाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

   झडपमा परेर के कतिजना घाईते भएको भन्ने  विस्तृत विवरण आउन बाँकी रहेको जिप्रकाले बताएको छ ।

   सर्लाहीमा ३१८ मतदान स्थल अन्तर्गत ५९९ मतदान केन्द्र रहेका छन् । आज भएको मतदानबाट ११ नगरपालिका र ९ गाउँपालिका गरी २० वटा स्थानीय तहमा प्रमुख र उपप्रमुख तथा २०० वडाध्यक्ष एवं ८०० जना वडा सदस्य गरी एक हजार ४० जना जनप्रतिनिधि चुनिने छन् ।सर्लाहीमा जम्मा  चार लाख ७४ हजार ४३९ मतदाताहरु रहेका छन् ।


No comments:

Post a Comment