Tuesday, May 17, 2022

सर्लाहीको बरहथवा नगरपालिका वडा न-१७ श्रीपुरमा मंगलबार पुनः मतदान गरियो

 




मनोज यादव----

सर्लाही,जेष्ठ ३

    बरहथवा नगरपालिकाको वडा नम्बर-१७ श्रीपुरमा मंगलबार  पुनः मतदान भइरहेको छ।

   गत बैशाख ३० गते शुक्रवार स्थानीय तहको निर्वाचनका दिन वडा न-१७ परोरियाटोल स्थित श्री आधारभुत विद्यालय मतदान केन्द्रमा स्थानीयहरुले मतदान गर्दै गरेको समयमा जनता समाजवादी पार्टी र माओवादी केन्द्रका उमेदवार तथा समर्थकहरु बीच झडप भएपछि मतदान रोकिएको थियो।

   जनता समाजवादीका वडा अध्यक्षका उमेदवार रामविश्वास रायको समर्थकले माओवादी केन्द्रका वडाअध्यक्ष उमेदवार विरेन्द्र रायलाई निर्घात कुटपिट गरेपछि उक्त  मतदान केन्द्रको मतदान स्थगित भएको थियो ।कुटपिटबाट माओवादी केन्द्रका उमेदवार रायसहित उनका १५/१६ जना समर्थकहरु गम्भीर घाइते भएका थिए ।

 जनता समाजवादी पार्टी पक्षले आफू पक्षीय मतदातालाई गत वैशाख ३० गते शुक्रबार बिहानै मतदान गराएपछि मध्यान्हबाट भने अन्य पार्टी पक्षीय मतदातालाई मत हाल्नै नदिएको आराेप सहित नेपाली कांग्रेस, नेकपा एमाले, जनमत पार्टी र स्वतन्त्र उम्मेद्वारले पुन: मतदानकाे माग गर्दै संयुक्तरूपमा उजुरी दिएपछि आयाेगले उक्त वडामा  पुन: मतदान गर्ने निर्णय अनुसार जेष्ठ ३ गते मंगलबार  बिहान ७ बजेदेखि  मतदान गरिएको जिल्ला निर्वाचन अधिकारी दिवाकर भूजेलले जानकारी दिए। 

   बरहथवा नगरपालिका वडा नं. १७ श्रीपुरको आधारभूत विद्यालय परोरिया मतदान स्थल अन्तर्गत २ वटा मतदान केन्द्रमा जम्मा एकहजार ९५४ मतदाता भएपनि त्यहाँ गत शुक्रबार साँझसम्म ३७२ मत मात्र खसेको जिल्ला निर्वाचन अधिकारी भुजेलले जनाएको छ।

   गत ३० गतेको घटनालाई ध्यानमा राखेर मतदान स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको थियो।

No comments:

Post a Comment