Sunday, May 29, 2022

मलंगवाका मेयर नागेन्द्र प्रसाद यादव द्वारा ट्रिनिटी हेल्थ केयर अस्पतालको उद्घघाटन

  



मनोज यादव---

सर्लाही,जेठ १५ 

    सर्लाही जिल्लाको सदरमुकाम मलंगवा नगरपालिकामा एउटा अरु सुविधा सम्पन्न अस्पताल थपिएको छ । ट्रिनिटी हेल्थ केयर प्रालिको नामबाट संचालनमा आएको उक्त अस्पतालको आइतवार मलंगवाका नवनिर्वाचित मेयर नागेन्द्र प्रसाद यादवले उद्घघाटन गर्नु भएको छ ।   

           मलंगवा  वडा न–९ बसपार्क स्थित स्व.डाक्टर गंगाधर झाको घरमा रहेको यस ट्रिनिटी हेल्थ केयर अस्पतालको मेयर यादवले रिबन काटेर उद्घघाटन गर्नु भएको हो । सुविधा सम्पन्न अस्पतालको कमिका कारण बिगतको दिनमा यस नगरपालिका लगायत आसपासका गाउँघरमा बसोबास गर्ने आम नागरिकलाई सामान्य देखि गम्भीर खालका रोगको उपचारका लागि जिल्ला बाहिर तथा छिमेकी भारतका विभिन्न ठूला सहरहरूमा धाउनु पर्न आवस्था रहँदै आएको थियो र पैसा पनि सोंचेको भन्दा दोब्बर तेब्बर खर्च गर्नु परेको थियो । त्यसैलाई मध्येनजर गर्दै यहाँका बिरामीहरुलाई जिल्ला बाहिर र भारतमा उपचारको लागि जाने झण्झट र अप्रत्याशित खर्चबाट बचाउन मलंगवामै सुविधा सम्पन्न हस्पिटल संचालनमा ल्याएर सेवा दिन सुरु गरेको अस्पतालका संचालक दिपेश कर्णले बताउनु भयो ।   

           यस अस्पतालमा बिरामीहरुलाई २४ घण्टा इमर्जेन्सी सेवा, बिरामी भर्नाको सुविधा, अत्याधुनिक ल्याबको सुविधा, एक्स–रे, भिडियो एक्स–रे, नेबुलाइजेशन, ईको, ईसिजी, अक्सिजन, प्लास्टर र ब्यनडेजको सुविधाको साथै विशेषज्ञ डाक्टरद्वारा डाइबिटिज एवं थाईराईड रोगको समेत उपचारको सुविधा रहेको संचालक कर्णले जानकारी गराउनु भयो । 

             अस्पताल उद्घघाटन कार्यक्रममा नागरिक समाजका अगुवा उपेन्द्र गुप्ता, निर्माण व्यवसायी जेसी अरुण कुवँर, स्थानीय विनोद ठाकुर लगायतको उपस्थिति रहेको थियो ।

No comments:

Post a Comment