पतीको दिर्घायुको कामना गर्दै सर्लाहीका विवाहित महिलाहरुले मनाए वटसावित्री पर्व
मनोज यादव---
सर्लाही,जेठ १६
जेठ औँसीका दिन आफ्नो पतिको लामोआयु, कुशलता र सौभाग्यको कामना गर्दै मिथिलाञ्चलका विवाहित महिलाहरुले मनाउँदै आएका बरसाइत अर्थात वटसावित्री पर्व सर्लाही जिल्लाका विवाहित महिलाहरुले पनि विधिपुर्वक धुमधामका साथ मनाएका छन् ।यो पर्व औँसीको दिन सुरु भई भोलिपल्ट जेठ शुक्ल प्रतिपदा तिथिको दिन समापन गरिन्छ।
किन्वतन्ती अनुसार सत्य युगमा सति सावित्रीले आफ्नो तपश्या र साधनाबाट जेठ औँसीका दिन अटल सौभाग्यको वरदान पाएको विश्वासको आधारमा यो पर्व मनाउने परम्परा बसेको जानकारहरु बताउँछन् ।पौराणिक कथा अनुसार सावित्रीले आफ्नो तपोवलले इष्टदेवलाई रिझाएर अचेत भइ ढलेका(कतिपय सन्दर्भमा मृतजस्तै पनि भनिएको छ) आफ्ना पति सत्यवानलाई तपोवलले जगाएर अटल सौभाग्यको वर पाएकी थिइन्।
विवाहित महिलाहरु जेठ कृष्ण चतुर्दशीका दिन चोखोनितो खाएर व्रत सङ्कल्प गरेपछि औँसीका दिन निराहार ब्रत बसेर टोल छिमेका विवाहित बर्तालु महिलाहरु सामुहिक रुपमा नजिकैको वरको रुखको फेदमा सती सावित्रीलाई सम्झदै ब्रह्मा, विष्णु र महेश्वरसहितका इष्टदेवताको पूजाआराधना गरेर पर्व मनाउने गरेका छन् । जेठ शुक्ल प्रतिपदाका दिन बिहान सूर्योदयसँगै यो व्रत सम्पन्न गर्ने परम्परा रहेको छ।
नवविवाहित महिलाहरु बरको रुख भएको ठाउँमा रातो साडीमा सजिएर एकआपसमा मिलेर पर्व सम्बन्धि गीत गाउँदै पुर्ण निष्ठाका साथ पूजा आराधना गरेर एकआपसमा रमाइलो गर्दै पर्व मनाएका छन् ।कतिपय विवाहित महिलाहरु आफ्नो माइतीमा आएर पर्व मनाएका छन् भने कतिपय आफ्नो ससुराली(श्रीमानको घर)मा मनाएका छन् ।
मैथिल समुदायमा खासगरी ब्राह्मण, कायस्थ, व्यास, स्वर्णकार लगायतका जातिका महिला विवाहको पहिलो वर्ष विशेष विधिअनुसार यो पर्व मनाउने गर्छन तर पछिल्लो समय देखासिखीले पनि बटसावित्री पर्व मनाउनेहरु समाजमा बढ्दै गएको छ।
यस पर्वमा बाँसबाट बनाइएका नयाँ हाते पंखा, धागो, मिठाई, फलफूल, चना लगायतका सामग्रीका साथ पूजा गरिन्छ।
परम्परा अनुसार यो पर्व मनाउनका लागि बेहुलीका लागि ससुरालीबाट नयाँ बस्त्र, प्रसादका लागि मिठाई, चना, माटोको कलात्मक रुपमा बनाइएका नागनागिन सर्प, बाँसको पंखा, टोकरी लगायतका साथै भोजनका लागि चामल, च्युरा, दही लगायतका सामग्री कोसेलीका रुपमा पठाउने गरिन्छ।
यो पर्व नियमनिष्ठाका साथ मनाइएमा पति दीर्घायु हुने यमराजले वरदान दिएको भविष्य पुराणमा उल्लेख गरिएको छ।
No comments:
Post a Comment