Tuesday, May 17, 2022

सर्लाहीको लालबन्दीमा मतपत्र गायब गरेर नतिजा सार्वजनिक गरेको विरोधमा प्रदर्शन




मनोज यादव---

सर्लाही,जेठ ३

     मतपत्र गायब गरेर माओवादी केन्द्रका उमेदवारलाई विजयी भएको नतिजा सार्वजनिक गरेको विरोधमा आज दिउँसो सर्लाहीको लालबन्दी नगरपालिका स्थित मतगणना स्थलमा प्रदर्शन भएको छ। लालबन्दी नगरपालिका वडा न-८ को ११ वटा मतपत्र गायब गरेर नतिजा सार्वजनिक गरिएको भन्दै बिरोध भएको हो ।

   वडा न-८ मा नेकपा माओवादी केन्द्रका वडाध्यक्ष उमेदवार शुक्र लामालाई निर्वाचन अधिकृतको कार्यालय लालबन्दीले विजयी भएको नतिजा सार्वजनिक गरेको थियो । माओवादीका लामाले ४६० मत , एमालेका उमेदवारले ४४४ मत, नेपाली कांग्रेसका उमेदवारले ४३१ मत र अन्य उम्मेदवारले १० भन्दा कम मत पाएको परिणाम सार्वजनिक भएको थियो ।

    जम्मा १४२७ मत खसेकोमा उमेदवारले प्राप्त गरेको पुरै मत मध्येबाट ११ वटा मत नपुगेको नेपाली कांग्रेसका वडाध्यक्ष उम्मेदवार संजिब श्रेष्ठले जानकारी  दिनुभयो । सार्वजनिक मत परिणामलाई स्विकार्न नसकिने र अब पुनः मतदान गर्नुपर्ने उमेदवारहरुले बताएका छन।

   लालबन्दीको पुरानो नगरपालिका कार्यालयको भवनमा राखिएको मतगणना स्थलमा अत्यन्त सिमित ब्यक्तिहरु बाहेकलाई प्रवेश निशेध गरिएको छ । पत्रकारहरुलाई समेत मोबाइल, क्यामरा बाहिर गेटमै राखेर प्रवेश गर्न दिईएको छ ।कम्पाउण्ड भित्र प्रवेश गरेका पत्रकारहरुलाई बाहिर रहेको  प्रतीक्षालयमा बसेर नतिजा कुर्नु परेको छ। गेटमा उभिएका शसस्त्र प्रहरीले समेत पत्रकारहरुसँग दुर्ववहार गर्दै आएका छन ।

No comments:

Post a Comment