Wednesday, May 11, 2022

मतदातालाई आकर्षित गर्न उमेदवारहरुको घरदैलोमा भोजभतेर चल्दै,भोज गर्न र भोंट किन्न तछाडमछाड




मनोज यादव---

सर्लाही,बैशाख २८

   स्थानीय तह निर्वाचन आउन अबमात्र एकदिन बाँकी छ।मतदाताहरु भोली(शुक्रवार) बिहान सात बजेदेखि अपराह्न ५ बजेसम्म मतदान गर्न पाउने छन् ।मंगलबार राति १२ बजेबाट मौन अवधि सुरु भइसकेको छ।उमेदवारहरुले चुनावी प्रचार बन्द गरिसकेका छन् ।तर पनि मौन अवधीको बेला गाउँदेखि शहर बजारसम्म मतदाता रिझाउन उमेदवारहरु बिच मतदाता रिझाउन भोजभतेर र भोंटको खरिद बिक्री गर्न तछाडमछाड भइरहेको छ ।

  उम्मेदवारले मतदाताहरुलाई प्रभावित पार्न जिल्लाभरी भोजभतेर गरिरहेका छन् ।पार्टीको उमेदवार मात्र नभइ स्वतन्त्र उमेदवारहरु पनि यतिबेला उक्त कार्यमा लागेका छन्।आम जनताहरु पनि दिनैपिच्छे सित्तैमा  मासुभात र दारु खान पाएकोले मख्ख परेका छन् ।कतिपय उमेदवारहरुले त घरघरमै गएर भोजखान पैसा र एकदुई किलोको दरले माछा,मासु र दारु बाँडिरहेको श्रोतले जानकारी दिएको छ।

   मौन अवधि सुरु हुनु अगाडीदेखि नै उमेदवारहरु भोजभतेरका कार्यक्रम गर्दै आएका छन् । एउटा दलको उमेदवारले भोज गरेको भोलिपल्टै अर्को दलको उमेदवारले भोज गरेर मतदातालाई आफ्नो पक्षमा ल्याउन कोसिस गरिरहेका छन् ।

    ‘एउटा दलका उमेदवारले  कुखुराको मासु खुवाउँदा अर्को दलका उम्मेदवार उनलाई उछिन्दै खसीको मासु खुवाउँछन्,मलंगवा नगरपालिकाका एक स्थानीय बुद्धिजीवीले भने, ‘गाउँगाउँमा  दैनिकजसो मासुभात र दारुको भोज चलिरहेको छ ।भोजमा बच्चादेखि वृद्धवृद्धासम्म सहभागी हुने गरेको उनले बताए ।

    अधिकतर उमेदवारहरु पैसावाला छन् । ‘जनताले मुख खोल्नुनै पर्दैन, उमेदवार आफैं भोज गर्न तछाडमछाड गर्दै हिँडिरहेका छन्’, चक्रघट्टा गाउँपालिकाका एक होटल व्यवसायीले भने, ‘अहिले सबैभन्दा धेरै व्यापार दारु र मासुको छ । स्थानीय प्रशासनले चुनाव सम्पन्न नहुन्जेल सम्म दारुको बिक्रीवितरणमा कडाइका साथ रोक लगाएको भएपनि सोको बेवास्ता गर्दै सर्लाहीका गाउँ गाउँमा मात्र नभइ सदरमुकाम मलंगवा,लालबन्दी,हरिवन, बरहथवा,बयलबास लगायतका शहरी क्षेत्रमा खुलेआम रक्सीको बिक्रीवितरण भइरहेको पाइएको छ।

   शहरी क्षेत्रदेखि गाउँ देहातसम्मका जनताहरुमा भोज खाएर तथा पैसा लिएर भोंट दिने प्रवृत्तिका कारण नै असल तथा विकासशिल जनप्रतिनिधि चुन्न नसकेको मलंगवा नपा कै अर्का एक बुद्धिजीवीले बताए।

   ‘यदी एकदिनको लागि पनि भोजको कार्यक्रम रोकिदिएको अवस्थामा आफ्नै पक्षको भोटर(मतदाता) रिसाएर बिपक्षी तर्फ टाँसिहाल्छन्’,सर्लाहीका एक वडाध्यक्ष उमेदवारले भने, ‘चुनावको समय जति नजिक आउँछ, भोजको स्वरुप उत्तिकै  फैलाउँदै लग्नुपर्छ ।’

   अहिलेका मतदाताहरु पनि खर्च गर्न नसक्नेका पछि लाग्दैनन् त्यसैले मतदाताहरुलाई नै फकाउन भोज गर्ने र पैसा बाँड्ने काम अहिले जिल्लाभर चलिरहेको छ।

No comments:

Post a Comment