Tuesday, December 1, 2020

पुराना तथा अव्यवस्थित अस्पतालहरुको सुधार पछि मात्र नयाँ थप्नुपर्ने थियो -जानकारहरुको कथन

 



मनोज यादव----
सर्लाही , मंसिर १६ 
    ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्य तथा सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवा पुर्याउने लक्ष्यसहित सरकारले  सोमवार प्रदेश २ मा एकैपटक ५,१० र १५ शैयाको ४५ आधारभूत अस्पतालको शिलान्यास भएको छ भने अझै ८ वटा शिलान्यासको तयारी छ ।सरकारले स्वास्थ्य क्षेत्रमा ‘ठूलो क्रान्ति’ ल्याएको भन्दै नयाँ अस्पतालको शिलान्यास गरेको भएपनि प्रदेश न-२ मा पहिलेदेखि  भएका सरकारी तथा गैरसरकारी अस्पतालमा सेवा विस्तार, भवनको जिर्नोधार र जनशक्ति परिपुर्ति गर्न अझ बाँकी छ ।



    सर्लाहीमा पनि सोमबार एकैसाथ  ६ स्थानमा १५ बेड (शैया) को आधारभूत अस्पतालहरुको शिलान्यास गरिएको छ ।जिल्लाको हरिवन, बागमती, बलरा र बरहथवा नगरपालिका तथा चन्द्रनगर र पर्सा गाउँपालिकामा अस्पतालको शिलान्यास गरिएको हो ।
     सर्लाहीमा  निजी तथा सरकारी अस्पतालको संख्या निकै कम छ । जनशक्ति, उपकरण र पूर्वाधार नहुँदा यहाँका बासिन्दा उपचारका लागि बाहिरकै भर पर्न बाध्य छन्। बेलैमा उपचार नपाउँदा कतिपयले ज्यानसमेत गुमाउनु परिरहेको सबैलाई जानकारी छ तर पनि  सरकारले त्यसतर्फ  कुनै चासो देखाएको छैन् ।
    सामाजिक विकास मन्त्रालयका अनुसार साढे ६१ लाख प्रक्षेपित जनसंख्या रहेको यो प्रदेशमा १३ सरकारी अस्पताल, दुई मेडिकल कलेज र  ६० वटाजति निजी अस्पताल छन्। तर प्रदेशको जनसंख्या तथा अस्पतालको संख्याको अनुपातमा चिकित्सक, प्राविधिक र उपकरण एकदमै कम छन्। यसले बिरामीलाई समस्या त भएकै छ, चिकित्सकलाई पनि अत्यधिक चाप र दबाब परेको छ । मन्त्रालयको स्वास्थ्य महाशाखाका अनुसार यस प्रदेशमा १३ सय शैय्याको सरकारी, करिब ३ हजार शैय्याको निजी र १५ सय ५० बेड क्षमताको शिक्षण अस्पतालहरु छन्। तर अस्पतालमा रोगअनुसारका विशेषज्ञको अभाव मात्र होइन, बिरामीको चापअनुसार चिकिसत्क, प्राविधिक र उपकरणसमेत न्यून रहेको छ ।महाशाखाको तथ्यांकले देखाउँछ। आँखाबाहेक  जटिल रोग, शल्यक्रिया र नमुना परीक्षणका लागि अझै विराटनगर, धरान, भरतपुर र काठमाडौंकै भर पर्नुपरेको छ। 
   सामाजिक विकास मन्त्रालयको स्वास्थ्य निर्देशनालयका अनुसार करिब ४० वर्षअघिकै चिकित्सक, प्राविधिक तथा कर्मचारीको दरबन्दीअनुसार प्रदेशभरका सबै सरकारी अस्पतालहरु संचालन  भइरहेका छन्। सर्लाहीको मलंगवास्थित जिल्ला अस्पतालमा चिकित्सक, प्राविधिक तथा अन्यसहित ३५ कर्मचारीको दरबन्दी रहेकामा १२ जना मात्र कार्यरत छन्। प्रशासनिकतर्फ पनि ५१ कर्मचारीको दरबन्दी रहेकामा २० जना मात्र कार्यरत छन्। यस्तै कन्सल्टयान्ट फिजिसियन पनि ३ जना मात्र रहेका छन् ।
     प्रदेश-२ का आठै जिल्लाका सरकारी अस्पतालमा १ सय २८ जना मात्र मेडिकल अधिकृत छन्। जसमध्ये मलंगवामा ९ जना छन् ।यसैगरी प्रदेशका सरकारी अस्पतालमा १ सय ४२ जना स्टाफ नर्सहरु छन् ।जसमध्ये मलंगवामा ९ जना छन् ।यस्तै प्रदेशका आठै जिल्लाका सरकारी अस्पतालमा गरी एनेस्थेसिया एसिस्टेन्ट ९, अनमी ९३, एचए ३२, अहेब ८७, रेडियोग्राफर १७, डार्क रुम असिस्टेन्ट १२, ल्याब टेक्नोलजिस्ट ५, ल्याब टेक्निसियन २९, ल्याब असिस्टेन्ट २५, बायोमेडिकल टेक्निसियन १ र मेडिकल रेकर्डर ८ जना मात्र छन्। 
    यस्तै सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाले दिएको तथ्यांकअनुसार आठै जिल्लाका निजी अस्पतालमा १ सय २३ कन्सल्ट्यान्ट फिजिसियन, ११ एनेस्थेसियालजिस्ट, ३ प्याथोलजिस्ट, ५ माइक्रोबायोलजिस्ट, १ सय ३१ मेडिकल अधिकृत, २१ नर्सिङ अधिकृत, ५ डेन्टल सर्जन, नर्सिङ इन्सटक्टर १२, स्टाफ नर्स २ सय १७, एनेस्थेसिया असिस्टेन्ट १३, अनमी  १ सय ८५, एचए १ सय ६६, अहेब १ सय ७८, रेडियो ग्राफर ४१ , १३ डार्क रुम असिस्टेन्ट, ल्याब टेक्नोलजिस्ट २६, ल्याब टेक्निसियन ४९, ल्याब असिस्टेन्ट ७७ र मेडिकल रेकर्डर १४ मात्र छन्।     
    प्रदेश २ का सरकारी अस्पतालमा मात्र नभई निजी अस्पतालमा समेत पर्याप्त उपकरण र चिकित्सक नहुँदा बिरामीलाई बाहिर पठाउनुपर्ने बाध्यता छ। प्रदेश २ मा आँखाको बाहेक अन्य  रोगको उपचार गर्ने कुनै विशेष अस्पताल छैन। 
    सरकारले भएका पुराना अस्पतालहरुको सुधार तथा व्यवस्थित गरेर  मात्र नयाँ अस्पतालहरु थप्नु पर्ने थियो, जानकारहरुको कथन छ ।

No comments:

Post a Comment