Saturday, December 12, 2020

सर्लाहीमा मानवअधिकारको अवस्था कमजोर भएको मानवअधिकारकर्मीको भनाइ

 


सर्लाही ,मंसिर २७
     सर्लाहीसहित तराईका  जिल्लाहरुमा मानव अधिकारको अवस्था कमजोर भएको  मानवअधिकारकर्मीहरुले बताएका छन् । रिपोर्टस क्लब नेपाल सर्लाही शाखाले मलंगवामा आयोजना गरेको "सर्लाहीमा मानवअधिकारको वर्तमान अवस्था" सम्बन्धि अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले यस्तो बताएका हुन् ।
नेपालमा मानवअधिकार सम्बन्धि थुप्रै कानुनहरु निर्माण गरिएको भएपनि कानुनको कार्यान्वयन पक्ष फितलो हुँदा मानव अधिकारको अवस्था कमजोर भएको अधिकारकर्मीहरुको भनाई छ ।


कार्यक्रममा बोल्दै थर्ड एलायन्स सर्लाहीका अधिकृत मुकेश मिश्रले राज्यले मानवअधिकार हनन सम्बन्धि ऐन कानुनहरु बनाएको भएपनि त्यसको कायान्वयन पक्ष फितलो भएको गुनासो गरे । उनले लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान चलिरहँदा पनि जिल्लामा  लैंगिक हिंसाका घटनाहरु बन्द नभएको बताए ।लोकलाज र समाजिक दवाबका कारण गाउँघरमा घट्ने अधिकांश  घटनाहरु बाहिर नआएको र केही घटनाहरु बाहिर आएपनि न्यायिक निकायहरुले वेवास्ता गरेको सहभागीहरु गुनासो गरेका छन् । विभिन्न औपचारिक कार्यक्रमहरुमा ठुला ठुला भाषणहरु गर्ने गरिएको भएपनि घरमा गएर गर्ने व्यवहारमा परिवर्तन आउन नसकेको उनीहरूले बताए ।



         सर्लाहीमा ६ वर्षिया बालिकादेखी ६० वर्षिया वृद्धा माथि भएको बलात्कारको  घटनालाई उदाहरणको रुपमा प्रस्तुत गर्दै  स्थानीय तहमै दैनिक महिला हिंसाका घटनाहरु हुने गरेको र त्यस्ता घटनालाई लुकाउने अथवा आपसी साम्झदारीमा ढाकछोप गर्ने कार्यमा स्थानीय तहका जनप्रतिनिधिको संलग्नतामा हुने गरेको  मिश्रले बताए ।


   सर्लाहीमा  बालविवाहको समस्या सबैभन्दा बढी भएको बताउँदै बालविवाहले गर्दा घरेलु हिंसा लगाएतका समस्याहरु आउने गरेको अधिकारकर्मी राजेश पासवानले  बताए । त्यस्तो समस्या समाधानका लागि सबैले आआफ्नो ठाउँबाट अभियान संचालन गर्न उनले सुझाव दिएका छन्



      जिल्लामा जातिय छुवाछुतका घटनाहरु धेरै हुुने गरेको अर्का अधिकारकर्मी सुन्दरश्याम यादवले बताएका छन् । उनले कुनै पनि घटनाका पिडितहरुले न्यान पाउन मुस्किल पर्ने भन्दै त्यस तर्फ सजक हुन आग्रह गरेका छन् । उनले मुलुक सघिय संरचनामा गई बनेका स्थानीय तहहरुले मानव अधिकारका विषयमा चासो र चिन्ता राख्नु पर्ने बताए ।
    मुलुकमा सबैखाले परिवर्तनहरु भइसक्दा समेत नागरिकहरुको सोचाईमा परिवर्तन आउन नसकेकाका कारण यस किसिमका घठनाहरु हुने गरेको अन्तरक्रियाका सहभागीहरुले  बताए । जब सम्म नागरिकहरुको सोचाईमा परिवर्तन आउन सक्दैन तब सम्म मुलुक परिवर्तन हुन नसक्ने उनीहरूको  भनाई थियो ।
       रिपोर्टस क्लब नेपाल सर्लाही शाखाका सचिव राजिव साहको अध्यक्षतामा आयोजना भएको कार्यक्रममा विभिन्न क्षेत्र सँग सम्बन्धित  अधिकारकर्मी तथा संचारकर्मीहरुको सहभागी रहेको थियो । कार्यक्रम क्लबको मलंगवा स्थित आफ्नै साक्षातकार कक्षमा सम्पन्न भएको आयोजकले जनाएको छ ।

No comments:

Post a Comment