Sunday, December 20, 2020

उखु किसानको आन्दोलनलाई सशक्त बनाउन प्रदेश २ का सांसद अशोक यादव पनि राजधानीमा

  


मनोज यादव---

सर्लाही ,पुस ५

    काठमाडौं स्थित माइतीघर मण्डलामा आन्दोलनरत उखु किसानको आन्दोलन झनै बलियो र सशक्त बनाउन सर्लाहीबाट प्रदेश न-२ का सांसद अशोक यादव पनि पुगेका छन् ।  उखु बिक्री गरेको रकम पाउनुपर्ने माग गर्दै माइतीघरमा जारी उखु किसानको आन्‍दोलनमा किसानको संख्या बढिरहकोले आन्दोलनरत किसानहरुको समर्थन गर्न तथा हौसला बढाउन उहाँ राजधानी पुग्नु भएको उहाँको सचिवालयले जानकारी गराएको छ ।

    माइतीघरको धर्नामा सहभागिता जनाउन सर्लाहीसहित बारा, पर्सा, रौतहट र नवलपरासीका किसान पनि पुगेका  छन् । सुरुमा सर्लाही र नवलपरासीका किसानले सुरु गरे पनि अन्य जिल्लाका पीडित किसान पनि आउन थालेको उखु किसान सघंर्ष समिति सर्लाहीले  जानकारी दिए ।सर्लाही,बारा पर्सा, रौतहट र नवलपरासी जिल्लाबाट माइतीघरको आन्दोलनमा सहभागिता जनाउने किसानहरुको संख्या तीन सय भन्दा बढी  पुगेको  संघर्ष समितिले जनाएको छ ।

    किसानको हातमा पैसा नआएसम्म कुनै पनि हालतमा वार्ता नगर्ने अडान किसानहरुले लिएको प्रदेश सांसद यादवले बताए । उखु मिलसंग चार वर्षदेखि पाउन बाँकी रहेको  झण्डै ९० करोड रुपैयाँ बक्यौता दिलाइदिन माग गर्दै  किसानहरु माइतीघरमा आन्दोलनमा छन् । गत वर्ष पुस १८ गते सरकारसंग किसानले गरेको सुम्झौता हुबहु कार्यन्वन गर्न पीडित किसानहरुले माग राखेका छन् ।

     गृह मन्त्रालयले सर्लाहीको अन्नपूर्ण सुगर मिल धनकौल, इन्दिरा सुगर मिल नवलपरासी, लुम्बिनी सुगर मिल नवलपरासी र श्रीराम सुगर मिल रौतहटका संचालक  पक्राउ गर्न निर्देशन दिएपनि हालसम्म एकजना पनि संचालक  पक्राउ पर्न सकेको छैन ।


No comments:

Post a Comment