Wednesday, December 9, 2020

सर्लाही जिल्लाभर डिजे बाजा बजाउन प्रतिबन्ध/तर पालना भएन

 



राजिब साह---

सर्लाही,मंसिर २४

     सर्लाही जिल्लामा डिजे साउण्ड सिस्टम प्रयोगमा प्रतिबन्ध लगाइएको छ । जिल्लाभित्र हुने धार्मिक, सामाजिक, राजनीतिक लगायतका कार्यक्रममा प्रयोग गरिने डिजे साउण्ड सिस्टमले चर्को ध्वनि प्रवाह हुनुका साथै ध्वनि प्रदूषण, विभिन्न स्वास्थ्य समस्या, शान्ति सुरक्षामा असर र सामाजिक सद्वाभावमा समेत असर पारेको भन्दै जिल्ला प्रशासन  कार्यालय सर्लाहीले जिल्ला भित्र डिजे साउण्ड सिस्टम प्रयोगमा प्रतिबन्ध लगाएको हो ।

    जिल्ला सुरक्षा समिति, जिल्लास्तरीय सर्वदलीय र सर्वपक्षीय बैठक तथा नेपाल सरकारका माननीय मन्त्री ,प्रतिनिधि तथा प्रदेश  सभाका सदस्य र स्थानीय तहका प्रमुखहरुको संयुक्त बैठकबाट जिल्ला भित्र डिजे साउण्ड प्रयोगमा प्रतिबन्ध लगाउन सिफारिस गरेको  प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले  बताए । यस्ता साउण्ड सिस्टमले दुर्घटनासमेत बढाउने भएकाले जिल्लाका कुनै पनि स्थानमा यस्तो स्पिकर राख्न नदिन स्थानीय प्रशासन ऐन २०२८ बमोजिम आदेश जारी गरिएको प्रजिअ  पौडेलले जानकारी दिए ।

    उक्त आदेशको बर्खिलाप गरेको पाइएमा सो सिस्टम जफत गरि  प्रचलित कानून बमोजिम कारबाही गरिने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

     स्थानीय प्रशासनले पटकपटक सूचना प्रकाशित गरि डिजे साउण्ड सिस्टम बजाउन प्रतिबन्ध लगाउँदै आएपनि आदेशको पालना कहिकतैबाट भएको देखिंदैन ।जिल्लाको सदरमुकाम मलंगवामै यसको उलंघन भइरहेको छ ।


No comments:

Post a Comment