Friday, December 4, 2020

विविध कार्यक्रमसहित मलंगवामा २९औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइयो

 





लोकतन्त्र समाचारदाता----

सर्लाही ,मंसिर १९

     ‘कोभिड-१९ पश्चातको उत्कृष्ट पुनरागमनको सुनिश्चितता ,अपाङ्गता भएका व्यक्तिहरुको पहुँच र दिगो विकासका लागि हामी सबैको प्रतिवद्धता भन्ने मूल नारासहित बिहीबार सर्लाहीको सदरमुकाम मलंगवामा  २९ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस–२०७७ मनाइएको छ ।

   नेपाल अपाङ्ग संघ मलंगवाको आयोजनामा विविध कार्यक्रमसहित दिवस मनाइएको हो । दिवसको अवसर पारेर जिल्लाको विभिन्न ठाउँका अपाङ्गता भएका व्यक्तिहरुलाई सहायता सामग्रीहरु सहयोग गरिएको छ । सहायता सामग्रीको अभावमा कष्टपूर्ण जीवन बिताइरहेका सर्लाहीका  १० जना अपाङ्गता भएका व्यक्तिहरुलाई सहायता सामग्रीहरु सहयोग गरिएको अपाङ्ग संघ मलंगवाका अध्यक्ष बिरेन्द्र यादवले जनाएको छ ।


सहायता सामग्रीको सहयोग विना हिँडडुल गर्न समस्या भोगिरहेका अपाङ्गता भएका ब्यक्तिहरुलाई बैसाखी , ह्वीलचियर,रजाई उपलब्ध गराइएको अध्यक्ष यादवले जानकारी दिएका छन् ।

    सोही कार्यक्रमको अवसरमा  विभिन्न राष्ट्रिय तथा स्थानीय  संचार माध्यममा कार्यरत जिल्लाका आधा दर्जन क्रियाशील पत्रकारहरुलाई पनि मधेशको प्रतीक गम्छा ओढाएर सम्मान गरिएको छ ।


    जिल्ला समन्वय समितिको सभाहलमा आयोजना भएको कार्यक्रममा जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरी ,मलंगवा नगरपालिकाका मेयर निरसल साह लगायत विभिन्न गैरसरकारी संघसंस्थाका प्रमुख तथा प्रतिनिधि ,अपाङ्गता भएका व्यक्ति र पत्रकारहरुको सहभागीता रहेको थियो ।


No comments:

Post a Comment