Thursday, January 7, 2021

प्रदेश २ का जनताहरु कोरोनालाई सामान्य रुपमा लिन थाले

 ---**लापरबाही गरे भोलीको दिनमा स्थिति भयावह हुने बिज्ञहरुको चेतावनी**---

लोकतन्त्र समाचारदाता ----

सर्लाही ,पुस २३

   प्रदेश २ अन्तर्गतका जिल्लामा  कोरोना संक्रमितहरु घरमै बस्न थालेपछि अधिकांस क्वारेन्टिन तथा आइशोलेसन खाली भएका छन् । संक्रमणलाई समान्य रुपमा लिँदै संक्रमितहरु घरमै बसेर औषधी उपचार गर्न थालेपछि क्वारेन्टिन तथा आइशोलेसनहरु खाली भएको हो ।

      पछिल्लो समय प्रदेश २ मा संक्रमणलाई हल्का रूपमा लिँदै जटिल किसिमका रोगीबाहेकले जाँचै गराउन छाडेको र स्वाब परिक्षण समेत कम भइरहेकोले क्वारेन्टिन तथा आइशोलेसनहरु खाली भएको हो । हालसम्म प्रदेश २ मा १ लाख ४३ हजार २ सय ६३ जनाको स्वाब संकलन भएकोमा १७ हजार १ सय ११ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

ती मध्ये २ सय ९ जना मात्र संक्रिय संक्रमितहरु रहेको प्रदेश २ को स्वास्थय निर्देशनालयले जनाएको छ ।  निर्देशनालयले दिएको जानकारी  अनुसार पछिल्लो समय दैनिक २ जनासम्म मात्र संक्रमित भेटिन थालेका छन् ।

    समाजमा कोरोना संक्रमितलाई घृणाको दृष्टिले हेर्ने, नराम्रो व्यवहार गर्ने जस्ता समस्या अझै पनि विद्यमान रहेको र आफैंलाई समेत मनौवैज्ञानिक त्रास हुने हुँदा जाँच गराउन छोडेको स्वास्थ्यकर्मीहरु बताउँछन् । कतिपय व्यक्ति संक्रमित हुँदा समेत चेकजाँच नगराएर लापरवाही गर्दै घुमफिर समेत गर्ने गरेका छन् । लकडाउन हटेपछि बजारमा  भीडभाड ह्वात्तै बढेको छ भने मानिसहरु मास्क तथा सेनिटाइजरको समेत प्रयोग गर्न छाडेका छन् । हात नधुनेजस्ता लापरवाही पनि व्याप्त छ । 

       संक्रमितका लागि तयारी अवस्थामा राखिएका २ हजार ६ सय १९ बेडहरु खाली छन् । लकडाउन खुलेसँगै हाटबजार ,मेला तथा  प्रदर्शनमा भिड बढेका छन् । कलेज , विद्यालय खुलेका छन । राजनीतिक भेलाहरु  दिनानुदिन बढ्दै गएको र सतर्कता नपनाई लापरबाही गरिएकाले वास्तविक संक्रमितको संख्या कम नभएको स्वास्थ्य कार्यालय सर्लाहीले बताए । सरकारले तोकेको मापदण्डअनुसार जाँचको दायरा कम भइसकेकाले संक्रमितको संख्या घटेको कार्यालयले  बताए ।

     स्वास्थ्य कार्यालय सर्लाहीले जाडो याममा कोरोना भाइरस बढी सक्रिय हुने भएकाले यसलाई समान्य रूपमा नलिइ सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

   पहिले कुनै संक्रमित भेटिँदा उसको सम्पर्कमा गएका अथवा आएका व्यक्तिहरूलाई ट्रेसिङ गरी अनिवार्य परिक्षण गरिन्थ्यो । तर, अहिले यस्तो गरिएको छैन ।पछिल्लो समय संक्रमणको प्रभाव र लक्षण बिनाको संक्रमित भएर समेत संख्या घटेको देखिन्छ । पहिलेको मापदण्ड अनुसार परीक्षण सुरु गरिए अहिले धेरै संख्यामा संक्रमितहरु भेटिने स्वास्थ्यकर्मीहरुको  दाबी छ । 

     संक्रमणलाई समान्य रूपमा लिएर अहिले लापरवाही गरे भोलिका दिनमा ठूलो भयावह स्थिति  आउन सक्ने विज्ञहरूको चेतावनी छ ।


No comments:

Post a Comment