Friday, January 8, 2021

राष्ट्र समक्ष माफी माग्दै प्रतिनिधि सभा सुचारु गर्न मागका साथ प्रचण्ड -नेपाल समूहले सर्लाहीका प्रजिअ मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाए



मनोज यादव---
सर्लाही ,पुस २४
     प्रचण्ड-नेपाल समूहले राष्ट्र समक्ष माफी माग्दै प्रतिनिधि सभा सुचारु गर्न माग गर्दै आज(शुक्रबार)सर्लाहीका  प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन् ।



      प्रचण्ड-नेपाल समूहको जिल्ला संघर्ष समितिले प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई  बुझाएको ज्ञापनपत्रमा  प्रधानमन्त्री केपी ओलीले गत पौष ५ गते नेपालको संविधानको ठाडो उलंघन गरि असंवैधानिक ,अलोकतान्त्रिक एवं स्वेच्छाचारी ढंगबाट प्रतिनिधि सभा विघटन गर्ने प्रतिगामी कदम प्रति घोर विरोध र भत्सर्ना गरिएको  छ । ठुलो बलिदानीपूर्ण संघर्षबाट प्राप्त गरेको ऐतिहासिक राजनैतिक परिवर्तन ,संघीय लोकतान्त्रिक गणतन्त्र तथा नेपालको संविधानको रक्षा गर्न वर्तमान असंवैधानिक कदम तथा सवै प्रकारको प्रतिगामी षड्यन्त्रलाई असफल पार्न र त्यसको लागि जस्तोसुकै संघर्ष गर्न नेपाली जनता सक्षम रहेको संघर्ष समितिले ज्ञापनपत्र मार्फत चेतावनी दिएका  छन् ।
    संघर्ष समितिले संविधानले प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने कुनै अधिकार नदिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीलाई संविधानको सम्बन्धित धाराको पुनः अध्यन गर्न    ज्ञापनपत्र सँगै सो धाराको प्रति समेत पठाएका छन् ।
     ज्ञापनपत्र मार्फत प्रधानमन्त्रीले  चालेको असंवैधानिक कदमका निम्ति पश्चातापका साथ राष्ट्रका सामु क्षमायाचना मागेर प्रतिनिधि सभा सुचारु गरि संविधानलाई क्रियासिल बनाउने पक्षमा आउन अनुरोध गरिएको छ ।हामी उहाँलाई सच्चिने अवसर प्रदान गरेका छौं ,जिल्ला संघर्ष समितिका संयोजक रेवती पन्तले बताउनुभयो ।
    ज्ञापनपत्र बुझाउन निवर्तमान मन्त्री रामेश्वर राय यादव लगायत निवर्तमान प्रतिनिधि सभा सांसद,प्रदेश सांसद तथा संघर्ष समितिका सदस्यहरु आज दिउँसो सर्लाहीका  प्रमुख जिल्ला अधिकारी पौडेलको कार्यकक्षमै पुगेका थिए।

No comments:

Post a Comment