Friday, January 8, 2021

प्रधानमन्त्रीले चालेको असंवैधानिक कदमले मुलुक र लोकतन्त्र धरापमा परेको नागरिक समाजको भनाई

 



       "कोभिड -१९ को अवस्थामा जनतालाई मतपत्रको  भन्दा भ्याक्सिनको आवश्यता छ "

मनोज यादव----

सर्लाही ,पुस २४

      प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको असंवैधानिक कदमले मुलुक र लोकतन्त्रलाई  धरापमा पारेको सर्लाहीका नागरिक समाजका अगुवाहरुले  चिन्ता व्यक्त गरेका छन् ।  संविधान विपरीत प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेको उनीहरूले आरोप लगाएका छन् ।

   रिपोर्टर्स क्लब नेपाल सर्लाही शाखाले शुक्रबार सर्लाहीको सदरमुकाम मलंगवामा  आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नागरिक समाज सर्लाहीका महासचिव शिवशंकर चौधरीले सरकार र राष्ट्रपतिको कदम असंवैधानिक भएको जिकिर गरे । प्रधानमन्त्रीले तानाशाही प्रवृत्ति देखाएको आरोप लगाउँदै उनले केन्द्रीय राजनीतिबाट सर्वसाधारण जनताहरुलाई विभिन्न सामाजिक तथा आर्थिक प्रभावहरु परेको बताए ।

     वर्तमान अवस्थामा मुलुकलाई निर्वाचनमा लैजान सक्ने अवस्था नरहेको बताउँदै महासचिव चौधरीले  प्रधानमन्त्री ओलीले संसद विघटन गरेर सिंगै मुलुकलाई बर्बादी तरफ धकलेको आरोप समेत लगाए ।  प्रधानमन्त्रीले इतिहासकै ठूलो भूल गरेको उनले उल्लेख गरे ।

     मुलुक कोभिड–१९ को मारमा परिरहेका बेला आगामी वैशाखमा हुने भनिएको निर्वाचनको परिकल्पना समेत गर्न नसकिने उनको भनाइ छ । यस्तो बेला जनतालाई मतपत्रको भन्दा पनि कोरोना विरुद्धको भ्याक्सिनको आवश्यकता छ ।जसकालाई ठुलो धनराशी चाहिने भएको तर प्रधानमन्त्रीले भ्याक्सिन खरिद गर्ने धनराशी चुनाव गराएर बर्बाद पार्न खोजेको आरोप लगाका छन् । प्रधानमन्त्री  र राष्ट्रपतिले चालेका गलत कदमलाई सर्वोच्च अदालतले रोक्ने आशा रहेको कार्यक्रममा सहभागीहरुले  बताएका छन् ।

    क्लबका जिल्ला सचिव राजीब साहको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न क्षेत्रका सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

No comments:

Post a Comment