Thursday, July 1, 2021

लकडाउनका कारण सर्लाहीका साढे ७ सय भन्दा बढी सार्वजनिक बसका कर्मचारीहरु बेरोजगार ,छाक टार्न समस्या

 



         ----लोकल रुटमा सार्वजनिक सवारीसाधन  चलाउन अनुमती दिएर लामो दुरीलाई रोक लगाएको निर्णय प्रति यातायात मजदुरको आपत्ती---

मनोज यादव---

सर्लाही ,असाढ १७

    कोरोना भाइरसको महामारीका कारण सरकारले लकडाउन गरेपछि सर्लाहीमा करिब २ महिना भन्दा बढी समयदेखि ठप्प रहेको सार्वजनिक यातायातमा काम गर्ने यातायात  कर्मचारीहरु पुर्णरुपमा बेरोजगार भएका छन् । लकडाउनको  समयमा अत्यावश्यक र केही नीजि सवारीसाधनहरु चले पनि सार्वजनिक यातायातको रुपमा रहेको बसहरु बैशाखदेखि नै ग्यारेजमा थन्किएका छन् । त्यस्ता सवारीसाधन अब मर्मत नगरी चल्ने अवस्थामा छैनन्।

     सर्लाहीको सदरमुकाम मलंगवाबाट लामो तथा छोटो दुरिकालागी १७० वटा, बरहथवाबाट ३० वटा, बयलबासबाट २० वटा र पुर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने लालबन्दी , हरिवन लगायतबाट २०/२० वटा गरी जम्मा २४० वटा बसहरु दैनिक रुपमा चल्दै आएको छ ।ती २४० वटै बसमा प्रति बस ३ जना कर्मचारीहरु गरि जम्मा साढे ७ सय जनाले रोजगारी पाएका छन् ।यसका साथै  बस स्टैण्डहरुमा पनि टिकट काउन्टरमा काम गर्ने कर्मचारी देखि सफाइकर्मीहरु समेत गरि करिब ४ दर्जन भन्दा बढी मजदुरहरु लकडाउनका कारण बेरोजगार भएका छन् ।

     गत वर्षको लकडाउनमा  आफुहरुको समस्या प्रति कुनै चासो नदेखाएको सरकारले यसवर्ष पनि चासो नदेखाएको यातायात मजदुरहरुले  दुखेसो पोखेका छन् ।

     यातायातको क्षेत्रमा काम गर्ने मजदुर कर्मचारीको अवस्था अहिलेको वर्तमान परिस्थितिमा एकदमै  नाजुक भएको छ । उनीहरुको रोजगारी गुम्दा उनीहरुलाई दैनिक छाक टार्न पनि धौधौ भइरहेको छ । लकडाउनले नेपालमा सबैभन्दा बढी मार सार्वजनिक यातायातमा परेको भए पनि यस विषयमा सरकारले ध्यान दिन नसकेको यातायातकर्मीहरुले गुनासो गरेका छन्  ।

      अन्य क्षेत्र तथा पेशामा लागेकाहरुको काम लकडाउनको समयमा पनि चलिएको छ तर आफुहरुको रोजगारी गुमेको छ ।दुईछाक टार्न यतिबेला साहु महाजन सँग कर्जा लिएर काम चलाउनुपरेको एक बस कर्मचारीले बताए।

     सर्लाहीको स्थानीय प्रशासनले गत मंगलबार देखि जिल्लामा लकडाउन केही खुकुलो परेको छ ।लकडाउन खुकुलो पार्दै लोकल रुटमा चल्ने साना तथा ठूला सार्वजनिक सवारीसाधनहरुलाई चलाउन अनुमती दिएको छ तर जिल्ला बाहिर लामो दुरीमा चल्ने सार्वजनिक सवारीसाधनहरुको हकमा भने यस्तो गरिएको छैन ।जिल्ला बाहिर काठमाडौ ,बिरगंज , नारायणगढ ,जनकपुर , बिराटनगर लगायतमा  चल्ने लामो दुरीका बसहरु अहिले पनि ग्यारेज र बसपार्कमा थन्किएका छन् ।बसहरु नचल्दा सामान ओसार्न  लेवर तथा ठेला र रिक्सा चालकहरु पनि काम विहिन भएका छन् ।

     चल्न दिने हो भने लामो दुरीको गाडी पनि चलाउन अनुमती दिनुपर्छ नत्रभने लोकल गाडीलाई पनि चलाउन अनुमती दिनु हुँदैन मलंगवा-बिरगंज रुटमा चल्ने एक बसका चालकले भने ।

     स्थानीय प्रशासनले लोकल रुटमा चल्ने सार्वजनिक सवारीसाधनलाई चलाउन अनुमती दिए पनि अर्को जिल्लासम्म चल्ने लामो दूरीका सार्वजनिक सवारीसाधन हरुको संचालनको हकमा माथिबाटै निणर्य हुनुपर्ने भएकाले लामो दुरीमा चल्ने गाडीहरुलाई अनुमती नदिएको जिल्ला प्रशासन कार्यालयले  सर्लाहीले बताए  ।

      अनुमती पाएपछि सर्लाहीमा  मंगलबारबाट  बसहरु बाहेक मयुरी, म्याजिक,जिप, मोटरसाइकलजस्ता साना खाले सवारीसाधनहरु निर्वाध रुपमा चलिरहेका छन् ।सर्लाहीमा निषेधाज्ञा एकसाता थप गर्दै असाढ २१ गतेसम्म पुनः  बढाइएको छ ।

   
      

No comments:

Post a Comment