Monday, July 12, 2021

अझै खुलेन नेपाल–भारत सीमा नाका,खेतको आली भएर ओहोरदोहोर गर्न बाध्य जनता

 




---सीमा बन्दले बेटी रोटीको सम्बन्धमा असर परेको सिमा क्षेत्रका बासिन्दाहरुको दुखेसो---


मनोज यादव---

सर्लाही ,असाढ २८

   कोभिड–१९ अर्थात् करोना भाइरसका कारण १५ महिनाभन्दा बढी समयदेखि नेपाल–भारत सीमा नाका बन्द गरिएको छ । गएको वर्षदेखि कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले देशमा लकडाउन गरेर अन्तर्राष्ट्रिय सीमा नाका बन्द गरेको थियो । तर अहिले लकडाउन खुले पनि सीमा नाकाहरु बन्द नै छन् ।

    लामो समयदेखि सीमा नाकाबन्द रहँदा सीमा क्षेत्रका बासिन्दाहरु समस्यामा परेका छन् । नेपाल–भारत सीमा बन्द रहेका कारण सीमावर्ती क्षेत्रका बासिन्दाहरुले  व्यापार-व्यवसाय गर्नेदेखि नाता–सम्बन्ध कायम राख्न समस्या भइरहेको गुनासो गर्दै आएका छन्  । सरकारले औपचारिक रुपमा सीमा नाका बन्द गरे पनि चोर बाटोबाट आवतजावतका साथै व्यापक रुपमा तस्करी मौलाएको मलंगवाबासी तथा इन्सेकका सर्लाही जिल्ला प्रतिनिधि बुधन साहले बताए । ‘सरकारले औपचारिक रुपमा नाकाहरु बन्द गरेको छ तर सानातिना नाकाहरुबाट लुकीछिपी ओहोरदोहोर भइरहेको छ, तस्करी पनि भइरहेको छ,’ उनले भने, ‘ बोर्डरमा खटिएका सुरक्षाकर्मीहरु मौकाको फाइदा उठाउँदै  कमाउ धन्दामा लागेका छन् ।’ सिमाको सुरक्षामा बसेका सुरक्षाकर्मीहरु  आमजनतालाई ओहोरदोहोरमा रोक लगाए पनि रकम लिएर चोर बाटोबाट आवतजावत गर्न तथा सामानहरु ओसारपसार गर्न दिइरहेको प्रत्यक्षदर्शीहरुले बताएका  छन् ।अहिले नाका बन्द पनि छ र खुला पनि छ, जोसँग पैसा छ, उसका लागि नाका खुला छ, जोसँग पैसा छैन, उसका लागि नाका बन्द छ ,मलंगवा नगरपालिका भाँडसरका एक स्थानीय नेताले भने । सीमा नाका बन्दका कारण आमजनता भने मारमा परेको उनको भनाइ छ ।

     नाका खुलाउनका जनप्रतिनिधि लगायत सीमा क्षेत्रका बासिन्दा , व्यापारी तथा नागरिक समाजले पटकपटक प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई अनुरोध पत्र पठाइसकेका छन् ।केही महिना अगाडी रिले अनसन समेत गरिसकेका छन् ।तर कोरोना महामारी नियन्त्रणका लागि भन्दै बन्द गरिएको नाका खोलाउन  सरकारको तर्फबाट कुनै पहल नभएको इन्सेकका सर्लाही प्रतिनिधि साहले भने। बजार,पसल, कार्यालय यातायात लगायतका क्षेत्रहरु खुले पनि दुई देश बीचको सीमा नाकामात्र बन्द गर्नुको औचित्य नरहेको उनी भन्छन् । ‘तस्करी एवं अवैध कारोबार गर्नेका लागि सीमा नाका खुला छ तर हामी जस्ताका लागि बन्द छ,’ चक्रघट्टा गाउँपालिका वडा न-८ औरहीका किसान नागेन्द्र रायले भने । भारतीय बजारमा सामान सस्तो पाइन्छ तर मुख्य नाकाबाट भारत छिर्न नदिएका कारण हामी जस्ता साधारण जनताहरु  मारमा परेका छौँ , रायले भने ।’

    नेपाल-भारत  सीमावर्ती क्षेत्रका नेपाली नागरिकको भारततिर र भारतिय नागरिकको नेपालतिर  वैवाहिक सम्बन्ध छ । नाका बन्दका कारण उक्त सम्बन्धमा पनि निकै समस्या आएको छ ।  आली र खेतको बाटो भएर पैदल  आउजाउ गर्न त्यति रोकटोक नभए पनि सवारीसाधनबाट आउजाउमा पुरै रोक लगाइएको छ, जसले गर्दा पछिल्लो समय दुई देशका नागरिकबीच वैवाहिक सम्बन्ध गाँस्न कठिनाइ भएको छ । नाका बन्द भएको एक-डेढ वर्षको अवधी दुई देश बिच बैवाहिक सम्बन्ध गाँस्नेहरुको संख्या ह्वात्तै घटेको छ । सरकारले नै दुई देश बिचको सुमधुर  सम्बन्धलाई बिगार्ने प्रयास गरिरहेको स्थानीयको आरोप छ।नेपाल र भारतबीच सामाजिक, सांस्कृतिक तथा आर्थिक सम्बन्ध छ, त्यसमा पनि नेपालको तराई मधेशसँग भारतको  सम्बन्ध बढी छ । तराई मधेशका चेलीबेटीको बिहे भारतमा र भारतका चेलीबेटीको बिहे नेपालमा भएको छ । सरकारले नाका बन्द गरेर यस प्रकारको सम्बन्धलाई बिगार्न खोजेको र केही हदसम्म बिगारी पनि सकेको स्थानीयहरुको आरोप छ ।

  सीमा नाका बन्द गर्नाले  कोरोना नियन्त्रण हुँदैन यदी बन्द नै गर्ने  हो भने पुरै सिल गरिदिनु पर्छ, नत्र चोरबाटो हुँदै ओहोरदोहोर भइरहेकै छ, बन्दको बहानामा सुरक्षाकर्मीले पैसा उठाएर आवतजावत तथा ओसारपसारमा छुट दिइरहेकै छन् उनीहरूले बताए ।


No comments:

Post a Comment