Thursday, July 1, 2021

खुटौनामा घर भत्किँदा किचेर तीनजना घाईते

 


लोकतन्त्र समाचारदाता---

सर्लाही ,असाढ १७

   गए रातिको अविरल वर्षाको पानीले घर भत्किएर त्यसमा किचेर  सर्लाहीको सदरमुकाम मलंगवा  नगरपालिका वडा न-६, खुटौनामा तीन जना घाईते भएका छन् ।

     राती करिब २ बजेतिर स्थानीय महेशी रामकी श्रीमती सुशीला देवी महराको खपडाले छाएको दुई तल्ले  कच्ची घर छानासहित भत्किएर घरधनी ५० वर्षीया सुशीला देवी, रवीन्द्र रामकी २६ वर्षीया श्रीमती  रेखा देवी र छोरी २ वर्षीया अर्चना महरा घाईते भएको  जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी निरिक्षक कृष्ण गिरीले जनाएको छ ।उक्त घरमा  १० जना ब्यक्तिहरु  सुतेका थिए। बाँकीले  भागेर ज्यान जोगाएको प्रहरीले बताएको छ । घाईतेहरुको अहिले जिल्ला अस्पताल मलंगवामा उपचार भइरहेको  छ ।

    घर पुर्ण रुपमा भत्किएर घरमा रहेको अन्नपात, लत्ताकपडा लगायतका सम्पूर्ण सरसामान नष्ट भएकोले उनीहरु अहिले आफ्नै आफन्तको  घरमा गई बसेका छन।

   यस्तै बुधबार  चन्द्रनगर गाउँपालिका वडा न-५, मोहनपुर बस्ने मोलाजिम मन्सुरको फुसले छाएको दुई तले कच्ची घर पुर्ण रुपमा भत्किएको छ । घर भत्किँदा मानवीय तथा चौपायको क्षति भने नभएको प्रहरीले बताएको छ।

    यसैगरी बुधबार बिहान परेको  पानीले हरिवन नगरपालिका वडा न-३, ढापटोल बस्ने नारायण प्रसाद पाठकको ३० वर्षीया छोरी सरु पाठकको दुई तल्ले मानिस नबस्ने तर गाईबस्तु बाँध्ने पुरानो  काठको घर भत्किएर त्यसमा बाँधिएको एउटा दुहुनो भैँसीको ढाँड भाँच्चिएर घाइते भएको  छ ।

No comments:

Post a Comment