Sunday, July 25, 2021

मिर्गौला पिडित सर्लाहीका बेचन रायको उपचारका लागि मलेसियामा रहेका नेपालीहरुले आर्थिक सहयोग पठाए

 


लोकतन्त्र समाचारदाता---

सर्लाही, साउन १०

      सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका  वडा न-१२ गम्हरिया निवासी मिर्गौला पीडित बेचन रायको उपचारका लागि  भनेर वैदेशिक रोजगारीको सिलसिलामा  मलेसियामा रहेका  नेपालीहरुले एकआपसमा उठएर  संकलन गरेको नेपाली ३० हजार १० रुपैया गम्हरिया स्थित एक सामाजिक संस्था एकता समाज युवा क्लब मार्फत आर्थिक सहयोग पठाएको छ ।

     गम्हरीया निवासी स्थानीय किसान राम दरेश राय र तेतरी देवीका एकमात्र  छोरा २५ वर्षीय बेचनको  दुबै मिर्गौला फेल भएर हाल काठमाण्डौ  स्थित टिचिङ्ग अस्पतालमा उपचार भइरहेको छ । दुवै मृगौला बिग्रिएर फेर्नुपर्ने अवस्था रहेकोले हाल उनको डायलासिस भइरहेको एकता समाज युवा क्लबले जनाएको  छ । उपचार महँगो भएको र बेचनको घरपरिवारको आर्थिक अवस्था पनि निकै कमजोर भएका  कारण उनको उपचार सम्भव नहुने समस्यालाई बुझेर मलेसिया स्थित  टाइवा गार्मेन्ट कम्पनीमा काम गर्दै आएका नेपाली कामदारहरुले एकआपसमा रकम संकलन गरेर  पठाएको उक्त रकम  मृगौला पिडित बेचनका पिता राम दरेश रायलाई आइतवार बिहान गम्हरिया स्थित संस्थाको कार्यालयमा बोलाएर हस्तान्तरण गरेको संस्थाले जानकारी गराएको  छ ।

    बुवा राम दरेश र आमा तेतरी देवीको एकमात्र छोरा  बेचनको २ वर्ष र ४ वर्षको दुईजना नाबालक छोराछोरी रहेका छन् । दुवै मृगौला बिग्रेर थला पर्नु भन्दा पहिला छोरा बेचनको कमाइले घरपरिवारको गुजारा चल्दै आएको थियो ।कमाउने एकमात्र छोरानै बिरामी परेपछि आफ्नो एक्लोको कमाइले अहिले एक छाकको भोजन समेत जुटाउन मुस्किल परिरहेको बेचनका पिता राम दरेशले गुनासो गरे ।

    सहयोग राशि स्विकार्दै पिडित बेचनका पिता राम दरेशले उपचारमा केही सहयोग पुगोस् भन्ने उदेश्यले मलेसियामा रहेका नेपाली दाजुभाइहरु सँग समन्वय गरि चन्दा स्वरूप नगद रकम सहयोग गराउन पहल गरिदिने  एकता समाज युवा क्लबलाई धन्यवाद दिएका थिए ।

No comments:

Post a Comment