Monday, July 12, 2021

पुर्व पश्चिम लोकमार्गको अवस्था नाजुक ,ठाउँठाउँमा भत्किएका सडक तथा पुलका कारण दुर्घटनाको जोखिम

 




मनोज यादव---   

सर्लाही ,असाढ २८

     पुर्व पश्चिम  लोकमार्ग अन्तर्गत सर्लाही जिल्लाको   सडक खण्डको  अवस्था अहिले नाजुक अवस्थामा पुगेको छ।महोत्तरी र सर्लाही जिल्लाको सिमाना  बाँके देखि सर्लाही र रौतहट जिल्लाको सिमाना बागमती सम्म करिब ३५ किलोमिटर लम्बाइ रहेको  पुर्व पश्चिम  लोकमार्ग सडकको अवस्था दिनप्रतिदिन  नाजुक हुदै गएको स्थानीय बासिन्दाहरुले बताएका छन्  ।

    सधै अति व्यस्त रहने उक्त सडकका खाल्डाखुल्डीहरुमा  सामान्य वर्षा हुँदा पनि पानी जमेर स-साना  पोखरी जस्तो बन्ने  गरेको छ । जिर्ण भएका ती खाल्डाखुल्डी भएर सवारी साधन गुडाउँदा सवारी दुर्घटनाको जोखिम बढेको सवारी चालकले बताए ।

    सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले सडकका खाल्डाखुल्डीहरु नाममात्रको अलकत्रा हालेर टाल्ने काम गरेको भएपनि सो सडक भएर गुड्ने  ठुला सवारीसाधनहरुका कारण पुनः भत्किएर पहिलाको भन्दा झन ठुलो खाडलहरु बन्ने गरेको छ । सडक डिभिजनले टालटुल पारेर अगाडी अगाडी सडक बनाउँदै लाने र पछि पछि सडक पुनः भत्कीँदै जाने गरेका कारण उक्त लोकमार्गका पुल तथा सडकमा लामो सवारी जाम लाग्ने गरेको छ ।कयौंपटक ती जिर्ण सडक तथा पुलमा सवारी दुर्घटनाहरु भइसकेको स्थानीयहरुले बताए । पुरानो सडक त्यसमा पनि सडक डिभिजन कार्यालयले गरेको गुणस्तरहीन  कामले गर्दा लोकमार्ग अन्तर्गतको सडक ठाउँ ठाउँमा भत्किएको हो ।

    यस  लोकमार्गमा पर्ने नदीहरुमा बनाइएका पुलहरुको अवस्था पनि सडकको जस्तै  नाजुक छन् । ठुला पुलहरु मध्ये बागमती र लखनदेही नदीको पुलका साथै साना चापिनी ,फुलजोर तथा बाँके खोलामा बनाइएका  पुलहरुको बीच-बीचमा ठुल्ठुला खाल्डाहरु परेका छन् । सडक डिभिजनले पुलमा भएका खाल्डाखुल्डी टाल्ने काम गरेको १५ दिन पनि बित्न नपाउँदै पुनः भत्किएर जस्ताको त्यस्तै हुने  गरेको छ । सवारीसाधनको चाप भएको बेला जिर्ण पुल भएर सवारी साधनहरु गुडाउँदा दुर्घटना हुने सम्भावना बढी रहेको  सवारी चालकहरुले गुनासो गरेका छन् ।

     यता, सडकमा परेका खाल्डाहरु पुर्नका लागि    ठेक्का लागि सकेको सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । यसरी भत्किएका सडक तथा पुलहरुलाई कामचलाउ रुपमा मर्मत गर्नुको साटो दिर्घकालिन रुपमा पुनर्निर्माण गर्नु पर्ने यस क्षेत्रका बासिन्दाहरुले बताएका छन्।

No comments:

Post a Comment