Wednesday, July 14, 2021

सर्लाहीको बोर्डर अवैध लागुऔषध तस्करीको ट्रान्जिन्ट प्वाइन्ट

 



---नेपाल भारत बोर्डरका गाउँ तथा बजार तस्करहरुको जमघट स्थल--- 


मनोज यादव-----

सर्लाही ,असाढ ३०

    लकडाउनका कारण केही समयको लागि सुस्ताएको अवैध लागुऔषधको तश्करीले फरी गति लिएको छ।  पछिल्लो समय सर्लाही जिल्ला अन्तर्गतको  नेपाल-भारत सिमानाका लागुऔषध ओसारपसारको लागि ट्रान्जिट प्वाइन्ट बन्न थालेको छ । 

    प्रहरीले कडाइका साथ निगरानी बढाएपछि जिल्लाको पुर्व पश्चिम राजमार्ग तथा नेपाल भारत सिमा क्षेत्रबाट धमाधम लागुऔषध कारोबारीहरू पक्राउ पर्न थालेका छन्। एक महिनाको अवधिमा दर्जनौं  तस्करहरु लागुऔषधसहित प्रहरीको फन्दामा परिसकेका छन् ।

    श्रोतले दिएको जानकारी अनुसार नेपालबाट भारत तर्फ गाँजा लाने तस्करहरु उताबाट फर्किंदा आफ्नो साथमा डाइजापाम, टेन्टेक्स, फेन्साडिल, कोडेक्स लगायतका प्रतिवन्धित लागुऔषधहरु ल्याउने गरेका छन् ।

    सिन्धुली र मकवानपुरमा उत्पादन भएको गाँजा सर्लाहीको बागमती र लखन्देही नदीको बाटो प्रयोग गरेर गाँजा तस्करहरुले भारतीय बजारमा पुर्याउने गरेका छन् । खोलाको बाटो हुँदै लुकाइछिपाई लगिएको गाँजा भारतीय सीमामा लगेर महँगा मूल्यमा बेच्ने गरेको पक्राउ परेकाहरूले प्रहरी समक्ष बयान दिएका छन् ।सर्लाहीसँग सीमा जोडिएको सिन्धुलीको मरिण र हरिहरपुरगढी क्षेत्रबाट व्यापक मात्रामा गाँजा ल्याउने गरिएको प्रहरीले बताएको छ।  ती तस्करहरु लाई गोप्य सूचनाको  आधारमा जिल्लाको उत्तरी क्षेत्रमा रहेको लालबन्दी, हरिवन र बागमती प्रहरीलाई सक्रिय पारेर पक्राउ गरेको प्रहरी श्रोतले बताएको छ । गाँजाको ओसारपसार रोक्न सिन्धुलीबाट आउने जिल्लाको उत्तरी भेगका भित्री सडक , नदीको बाटो तथा नेपाल भारत सिमानाकाहरुमा कडाइका साथ  निगरानी र चेकजाँच बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।  

   भारतको सोनवर्षा,भुतही, सितामढीबाट ल्याएका लागुऔषधहरु नेपाल भारत बोर्डर हनुमान चौक (रमनगरा), कन्हौली भाँडसर र त्रिभुवननगर गाउँ नजिकैको सोनवर्षा बजारमा बसोबास गर्ने स्थानीय ब्यक्तिहरु सँग कन्ट्याक्ट् मिलाएर उनिहरुको  घरमा लुकाएर राख्ने र पछि बिस्तारै विस्तारै सुरक्षाकर्मीहरुको आँखा छलेर मलंगवा , भेल्ही ,भाँडसर ,पर्सा,नारायणपुर संग्रापुर हुँदै नेपाल भित्राउने गरेको श्रोतले जानकारी दिएको छ ।

     नेपाल -भारत सिमा नजिकका भारतीय गाउँ तथा बजारमा तस्करहरु दिनहुँजसो जमघट हुने गरेका छन्।  



No comments:

Post a Comment