Friday, July 9, 2021

सर्लाहीमा अवैध औषधि पसलहरु खुल्ने क्रम बढ्दो,लकडाउनमै खुले दर्जनौं पसल

 




---त्यस्ता पसलबाट खुलल्म खुल्ला लागुऔषधको बिक्री वितरण चल्दै---

 लोकतन्त्र समाचारदाता----  

सर्लाही ,असाढ २५

   औषधिको व्यापारबाट राम्रो आम्दानी हुने भएपछि सर्लाहीको  सदरमुकाम मलंगवा नगरपालिका क्षेत्रका साथै जिल्ला भरीका  गाउँका स–साना स्थानीय बजारहरूमा  धमाधम अवैध औषधि पसलहरु खुल्ने क्रम बढेको छ । नियमन निकाय तथा सरोकारवालाहरुबाट नियमित अनुगमन नहुँदा त्यस्ता नयाँ औषधि पसल खुल्दै गएका हुन। 

   जिल्लाको  ग्रामीण  क्षेत्रमा दिनानुदिन च्याउ उम्रिए झैँ निजी क्लिनिक तथा औषधि पसल खोलिँदै आएपछि  ग्रामीण क्षेत्रका सोजासाझा स्थानीय  बासिन्दाहरु ठगिएका छन् । जिल्लाका धेरैजसो क्षेत्रमा अनधिकृतरूपमा क्लिनिक तथा औषधि पसलहरु खुल्लमखुल्ला सञ्चालन भइरहे पनि यसलाई रोक्न कुनैपनि सरोकारवाला निकायले वास्ता नगरेपछि त्यस्ता अवैध औषधि पसल तथा क्लिनिकहरु खुल्दै गएको जानकारहरु बताउँछन्  ।

    ग्रामीण क्षेत्रका बासिन्दाहरु रोग बताएको भरमा पसलबाट औषधि लगेर जोखिम मोलिरहेका छन् भने कतिपय औषधि पसलले सामान्य अनुभवकै भरमा औषधिको व्यापार गर्ने गरेका छन् ।कतिपय औषधि व्यापारीले विभिन्न अस्पतालका नाम चलेका विषेशज्ञ डाक्टरहरुको नामको बोर्ड  झुन्ड्याएर आफैँले स्वास्थ्य जाँच गर्ने गरेको पाइएको छ ।यस्तो भइरहँदा पनि  सम्बन्धित निकायले चासो नदिएको मलंगवा नगरपालिका वडा न-२ का स्थानियवासी आदर्श यादवले बताए । नियमानुसार औषधि पसल राख्न कम्तीमा तीनवर्षे फार्मेसी पास गर्नुपर्ने भए पनि यहाँका  दर्जनौ  यस्ता पसलेहरुले सामान्य अनुभव कै भरमा औषधिको व्यापार गरेको मलंगवा कै एक निजी क्लिनिकका संचालक तथा  चिकित्सकले बताए ।उनका अनुसार कतिपयले त एउटै औषधि पसलमा स्वास्थ्य जाँच र ल्याब(प्रयोगशाला)को जाँच समेत गर्दै आएका छन् ।गाउँघरमा एउटा-दुइटा सानो दराजमा केही जेनरल रोगको औषधिहरु राखेर पनि अवैध औषधि पसलहरु संचालन भइरहेका छन् ।

   जिल्लामा अहिले कतिवटा अवैध औषधि पसलहरु संचालनमा रहेका  छन् यसको तथ्यांक  कसैसँग छैन । सर्लाहीका  सहरी क्षेत्रमा मात्रै नभई अहिले गाउँगाउँमा समेत यस्ता औषधि पसलहरू खुल्दै गएकाले औषधिको जथाभावी व्यापार बढेको छ ।त्यस्ता औषधि पसलमा सरकारद्वारा प्रतिबन्ध गरिएको  लागुऔषधको खुलेआम बिक्रीवितरण हुने गरेको पाइएको छ।  


No comments:

Post a Comment