Tuesday, July 27, 2021

प्रबिधि र प्राविधिकलाई उपयोग गर्न सके मात्र कृषि क्षेत्र सवल बन्न सक्ने भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहको भनाइ

 




मनोज यादव---

सर्लाही ,साउन १२

    कृषि क्षेत्रलाई आधुनिकीकरण गर्न तथा कृषि पेशालाई मर्यादित एवं व्यवसायीक बनाउने उदेश्यले  सर्लाहीको  बागमती नगरपालिका वडा न-१० शंकरपुरमा स्थानीय   साना किसान कृषि सहकारी संस्थाले स्थापना गरेको कष्टम ह्यारिङ्ग सेन्टरको प्रदेश २ सरकारका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले उद्घाटन गर्नुभएको छ ।

    सोमवार कष्टम ह्यारिङ्ग सेन्टरको उद्घाटन गर्दै मन्त्री साहले सेन्टरको स्थापनाले किसानको लागत मूल्यमा ३५ देखी ४५ प्रतिशत सम्म घट्ने बिस्वास व्यक्त गरेका छन  ।प्रबिधि र प्राविधिकलाई उपयोग गर्न सके मात्र कृषि क्षेत्र सवल बन्न सक्ने मन्त्री साहले बताए । यहाँका ८० प्रतिशत नागरिक कृषिमै आश्रीत भएकाले यसको विकासमा प्रदेश सरकारले काम गरिरहेको उनले  बताए । प्रदेश न- २ मा ७ हजार सहकारी संस्थाहरु रहेकाले यसलाई उत्पादनको क्षेत्रमा लगाउन सरकारले लगानी गर्ने उनले बताए ।

     चर्को मूल्य तिरेर हलो र ट्याक्टरको भरमा खेती गर्दै आएका किसानहरु उक्त कृषि सहकारी संस्थाले कष्टम ह्यारिङ्ग सेन्टर मार्फत कृषि कार्यको लागि  आफ्नै गाउँमा कृषि यन्त्रहरु उपलब्ध गराउने भएपछि खेती गर्न सजिलो हुने भन्दै  खुसी भएका छन्। यसबाट कृषि कार्यमा लागत कम लाग्ने, उत्पादित वस्तुको सुरक्षित भण्डारण हुने र कृषि पेशा मर्यादित एंव व्यवसायिक हुने स्थानीय किसानहरुले  विश्वास लिएका छन । 

    यस क्षेत्रमा हुने व्यवसायीक मकै र धान खेतीको लागत कम गरि उत्पादन बढाउने उदेश्यले कष्टम ह्यारिङ्ग सेन्टरको परिकल्पना गरिएको संस्थाका अध्यक्ष कमल कुमारी पोखरेलले बताउनुभयो ।

     किसानको खेतीपातीमा सहुलियत होस् भन्ने उदेश्यले प्रदेश २ सरकर कृषि विकास निर्देशनालय नक्टाझिंज धनुषाबाट ५० प्रतिशत अनुदानमा १७ ओटा आधुनिक कृषि यन्त्र ल्याएको अध्यक्ष पोखरेलले जानकारी दिइन्। निर्देशनालयले अनुदान वापत दिएको १ करोड ४० लाख २३ हजार ३ सय २५ रुपैया ६९ पैसा तथा संस्थाको  १ करोड २९ लाख ९९ हजार ६ सय ५९ रुपैया ५ पैसा गरि जम्मा  २ करोड ७० लाख २२ हजार ९ सय ८४ रुपैया ७४ पैसाको लागतमा कृषि यन्त्रहरु खरिद गरि स्थापना गरिएको  कष्टम ह्यारिङ्ग सेन्टरमा ६ थान ट्याक्टर, २ थान पावर टेलर, २ थान माटो मिलाउने, २ थान मिनी टेलर,  ५ थान मकै रोप्ने मेशिन, ५ थान ट्रली, १ थान कम्बाइन्ड हाबेष्टर, २ थान बोरा सिलाउने मेशिन, ४ थान रोटा भेटर, १ थान एम्बी प्लग, ४ थान डिक्स ड्यारो, ६ थान कल्टी भेटर, १ थान धानको बिउ राख्ने मेशिन, २ हजार थान प्लाष्टिक ट्रे, १ थान स्टार रिपर, १ थान धान रोप्ने मेशिन र २ थान रिपर राखिएका छन् ।

    धान खेतीमा एक कट्ठा रोपाईंका लागि ४ सय, मकैमा प्रति कट्ठा ५ सय  मजदुरी तथा  धान र मकै खेत्न जोत्नका लागि प्रति घण्टा १४ सयको दरले ट्याक्टर साहुलाई पैसा तिर्दै आएका  किसानहरुलाई अब  मंहगोमा मजदुर खोज्नु पर्ने झण्झटबाट मुक्ति मिलेको कष्टम ह्यारिङ्ग सेन्टरका संयोजक महेन्द्र महतोले बताए ।ती यन्त्रहरुको प्रयोगका लागि  सहकारीले चलन चल्तीको रेटभन्दा २० प्रतिशत कम मूल्य निर्धारण गरेको छ। 

    धान रोप्न प्रति बिगहा खाना र खाजासहित करिब १० हजार र मलको छुट्टै खर्च हुँदै आएकोमा धान रोप्ने मेशिन आएपछि अब ६ हजारमा काम हुने सेन्टरका संयोजक महतोले बताए । धान कटाई र दाउनी गर्दा प्रति बिगहा १२ हजार खर्च हुँदै आएकोमा  सहकारीले ल्याएको कम्बाइन्ड हाबेष्टरबाट ८ हजारमै काम हुने उनले बताए । त्यस्तै मकै काट्न, ढुवानी गर्न र दाउनी गर्न प्रति बिगहा २५ हजार रुपैयाँ  खर्च लाग्दै आएकोमा आधुनिक यन्त्रबाट मात्र  १० देखि १२ हजार रुपैयाँमा काम हुने छ ।

    कार्यक्रममा उपस्थित प्रदेश सांसद डिल्ली प्रसाद उप्रेती,बरहथवा नगरपालिकाका मेयर देवानन्द महतो,बागमती नगरपालिकाकी उपमेयर लिलाकुमारी मोक्तान, कृषि विकाश निर्देशनालयका प्रतिनिधि डा. रत्न कुमार झा, कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख कमलदेब प्रसाद कुशवाहा लगायतका अतिथिले सर्लाहीको कष्टम ह्यारिङ्ग सेन्टरमा प्रदेश सरकारले प्रदेशमै ठुलो लगानी गरेकाले यसलाई प्रदेशकै नमुना बाउन आग्रह मन्त्री साहसँग गरेका थिए  ।

       संस्थाका सेयरधनी सदस्य विभिन्न  संघ सस्थाका प्रतिनिधि ,पत्रकार लगायतको  उपस्थिति रहेको उद्घाटन  कार्यक्रमको संचालन भुवन निरौलाले गरेका थिए ।




No comments:

Post a Comment