Friday, July 9, 2021

उद्योग वाणिज्य संघ मलंगवाले गर्यो सर्लाहीका नवआगन्तुक प्रजिअ राम कुमार महतोलाई स्वागत

 




मनोज यादव---

सर्लाही ,असाढ २५

     उद्योग वाणिज्य संघ मलंगवाले आज(शुक्रवार) जिल्ला प्रशासन कार्यालय सर्लाहीमा हालै प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्नु भएका राम कुमार महतोलाई स्वागत गरेको छ ।नवआगन्तुक प्रजिअ महतोलाई संघमा आबद्ध मलंगवाका उद्योगी व्यवसायीहरुले स्वागत गरेका छन ।

   उद्योगी व्यवसायीहरुको छाता संगठन उद्योग वाणिज्य संघ मलंगवाको कार्यालय रहेको रंगलाल स्मृति भवनमा  स्वागत तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरि कार्यक्रमका अध्यक्ष एवं  संघका अध्यक्ष विरेन्द्र साहसहित संघका पदाधिकारी तथा संघमा आबद्ध स्थानीय  उद्योगी  व्यवसायीहरुले प्रमुख जिल्ला अधिकारी महतोलाई  स्वागत गरेका थिए । त्यस अवसरमा विभिन्न व्यवसायमा लागेका उद्योगी  व्यवसायीहरुले ब्यापार संचालन  गर्दा ब्यहोर्नु परेका समस्याहरुका बारेमा प्रजिअ महतोलाई अवगत गराउँदै सोको समाधान गर्न पहल गरिदिन आग्रह गरेका थिए । साथै यहाँको सुरक्षा व्यवस्था  थप सुदृढ बनाउन ध्यानाकर्षण गराएका थिए ।

    प्रजिअ महतोले आफूलाई स्वागत गरिएकोमा खुशी व्यक्त गर्दै स्वागत सम्मानले थप आफ्नो लागि चुनौती थपिएको बताउनुभयो । उहाँले उद्योगीहरुको राम्रो कामको साथ दिने, सुरक्षाको प्रत्याभूति गराउने तथा  नराम्रो र अवैध किसिमले व्यापार व्यवसाय तथा कामहरु गरे कारवाहीका लागि पछि नहट्ने समेत बताउनुभयो । यसै अवसरमा उद्योगी व्यवसायीहरले विगत लामो समयदेखि बन्द रहेको सर्लाही जिल्ला अन्तर्गतका नेपाल -भारत नाका खोलाउन पहल गरिदिन समेत आग्रह गरेका थिए ।

      प्रजिअ महतो यसअघि पनि सर्लाही जिल्लाका केही पालिका र जिल्ला समन्वय समितिको कार्यालय प्रमुख भएर काम गरिसक्नु भएको र जिल्ला तथा जिल्लाबासीहरुलाई नजिकबाट चिन्नु भएकोले उहाँले उद्योगी ,ब्यापारी लगायत स्थानीय जिल्लाबासीहरुको समस्याको समाधान राम्रो सँग गर्नुहुने छ भन्ने संघ विश्वस्त रहेको उवासंघ मलंगवाका अध्यक्ष विरेन्द्र साहले बताउनुभयो ।

    कार्यक्रममा  जिल्ला प्रहरी कार्यालय सर्लाहीका  प्रमुख एसपी संतोष सिंह राठौर, सशस्त्र प्रहरीका एसपी गंगाराम श्रेष्ठ ,अनुसंधानका प्रमुख दिलिप कुमार सिंह ,पत्रकार लगायत उवासंघ मलंगवाका पदाधिकारी तथा स्थानीय उद्योगी व्यवसायीहरुको उपस्थिति रहेको संघका महासचिव तथा  स्वागत कार्यक्रमका संचालक जितेन्द्र कुशवाहाले जानकारी गराए ।



No comments:

Post a Comment