Monday, September 26, 2022

गोडैतामा पालिका स्तरीय स्वास्थ्य संस्थाहरुको वार्षिक समिक्षा गोष्ठी सम्पन्न,स्वास्थ्य चौकी सिसौटिया पुनः उत्कृष्ट

 मनोज यादव---

सर्लाही,आश्विन १०

    सर्लाहीको गोडैता नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ मा सम्पन्न स्वास्थ्य गतिविधिहरुको पालिका  स्तरीय स्वास्थ्य संस्थाहरुको वार्षिक समिक्षा गोष्ठी सम्पन्न गरेको छ ।

    गोडैता नगरपालिकाका नगर प्रमुख देवेन्द्र कुमार यादवको अध्यक्षता तथा स्वास्थ्य कार्यालय मलंगवाका प्रमुख डा.नवल किशोर झा को प्रमुख आतिथ्यतामा सम्पन्न  गोष्ठीमा गत आर्थिक वर्षमा यस पालिका अन्तर्गत वडाका स्वास्थ्य केन्द्रहरुमा संचालन भएका क्रियाकलापहरुको बारे चर्चा गरिएको थियो । ९ गतेआइतवार र १० गते सोमबार दुई दिनसम्म चलेको उक्त  समिक्षा गोष्ठीमा सहभागी भएका १२ वटै वडाका वडा स्वास्थ्य चौकी प्रमुखहरुले आआफ्नो वडामा संचालन गरेका स्वास्थ्य सेवा र त्यसको प्रगति विवरण प्रस्तुत गरेका थिए ।

   सोही गोष्ठी मार्फत १२ वटै वडाबाट आन्तरिक मुल्यांकनको आधारमा उत्कृष्ट कार्य र सेवा प्रदान गरि उत्कृष्ट भएर छानिएका तीनवटा वडा स्वास्थ्य चौकीलाई सम्मानित समेत गरिएको  छ। क्रमशः प्रथम, द्वितीय र तृतीय हुने सिसौटिया ,बगदह र रोहुवा स्वास्थ्य चौकीका प्रमुखहरुलाई नगरप्रमुख यादव र प्रमुख अतिथि झा ले कदरपत्रद्बारा सम्मानित गरेका थिए।स्वास्थ्य चौकी सिसौटिया र स्वास्थ्य चौकी बगदह यस अघिको आर्थिक वर्ष २०७७/०७८ मा पनि प्रथम र द्वितीय स्थान हासिल गरेर सम्मानित भइसकेको  स्वास्थ्य शाखा प्रमुख प्रमोद पंडितले जानकारी दिए।

    वार्षिक समीक्षा गोष्ठीको समापन कार्यक्रमलाई सम्बोधन गर्दै  नगरप्रमुख यादवले उत्कृष्ट कार्य सम्पादन गरेर सफलतापुर्वक जिम्मेवारी पुरा गर्ने नगर भित्रका स्वास्थ्य चौकीहरु, स्वास्थ्यकर्मी तथा जस्तो सुकै परिस्थितिमा पनि स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य स्वयंसेविकाहरुलाई नगरपालिकाको तर्फबाट  धन्यवाद दिंदै सबै वडा स्वस्थ्य प्रमुखहरुलाई आआफ्नो जिम्मेवारी राम्रोसँग वहन गर्न निर्देशन दिएका थिए।

   गोष्ठीमा सहभागी सबै वडाका स्वास्थ्य प्रमुखले गत आर्थिक वर्षको भन्दा यो आ.व मा स्वास्थ्यका सम्पूर्ण स्वास्थ्य सुचकहरु राम्रो भएकोले उत्कृष्ट सेवा प्रदान गरेर आगामी दिनमा यस नगरपालिकालाई जिल्लाकै नमुना स्वास्थ्य नगरपालिकाको रुपमा घोषणा गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए।

    गोडैता न.पा कार्यालयको सभाहलमा सम्पन्न भएको समीक्षा गोष्ठीमा विशिष्ट अतिथिको रुपमा नगर उपप्रमुख अंजना कुशवाहा,प्रमुख प्रशासकीय अधिकृत रमेश प्रसाद यादव,UNFPA का बच्चालाल महतो, सेभ द चिल्ड्रेनका परमानन्द मण्डल,one heart werld wide का अमरेन्द्र राय,RRPK की सृजना घिमिरे लगायत १२ वटै वडाका वडाध्यक्ष ,वडा स्वास्थ्य प्रमुख तथा पत्रकारहरुको उपस्थिति रहेको कार्यक्रमका संचालक समेत रहनु भएका गोडैता न.पा  स्वास्थ्य शाखा प्रमुख पंडितले जनाएको छ।

No comments:

Post a Comment