Sunday, September 4, 2022

समाजमा अश्लिलता फैलाइरहेको टिकटक एप बन्द गर्न सर्लाहीका युवाहरुको सरकारसँग जोडदार माग

 

मनोज यादव---

सर्लाही,भाद्र १९

    चर्चित सामाजिक संजाल  टिकटकले  समाजमा अश्लिलता फैलाएकोले यसलाई तुरुन्त बन्द गर्नुपर्ने माग गर्दै हिन्दु परिषद नेपाल नगर कमिटी मलंगवाले जिल्ला प्रशासन कार्यालय  र जिल्ला प्रहरी कार्यालय सर्लाहीमा ज्ञापनपत्र बुझाएका छन् ।

     आइतवार दिउँसो नगर कमिटी अध्यक्ष संजय कुमार रायको नेतृत्वमा मलंगवा स्थित जि.प्रशासन र जिल्ला प्रहरी कार्यालयमा पुगेका संस्थाका सदस्यहरु प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम र प्रहरी उपरीक्षक प्रविण पोखरेलाई उक्त ज्ञापनपत्र बुझाएका हुन्।

   टिकटकको कारणले गर्दा समाजमा  आत्महत्या,अश्लीलता र नग्नताले चरम सिमा पार गरिसकेको साथै यसको कुप्रभावले पारिवारिक सम्बन्ध बिग्रेको   र समयको समेत बर्बादी भइरहेकोले यसलाई तुरुन्त बन्द गर्नुपर्ने ज्ञापनपत्र मार्फत माग गरिएको छ।टिकटककै कारणले गर्दा विभिन्न परिक्षाको परिक्षाफल पनि सन्तुष्टिजनक नआएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ।

    साना बालबालिकादेखि ६० वर्ष उमेर कटिसकेका वृद्धवृद्धाहरुमा पनि टिकटक हेर्ने र बनाएर अपलोड गर्ने लत लागि सकेको छ।टिकटकका कारण विद्यालय,कलेज,मठ मन्दिर जस्ता सभ्य र सार्वजनिक स्थानहरु टिकटक बनाउने अड्डा बन्दै गएकोले यसलाई तुरुन्त बन्द गर्नुपर्ने आफुहरुको जोडदार माँग रहेको हिन्दु परिषद नेपाल नगर कमिटि मलंगवाका सदस्य चन्दन कुमार यादवले बताए

    आफ्नो धर्म,संस्कृति जोगाउन र देशको उज्ज्वल भविष्यको लागि छिमेकी मुलुक भारतसहित पाकिस्तान, इन्डोनेशिया, बङ्गलादेश र सिरियामा जसरी टिकटक माथि प्रतिबन्धित लगाइएको छ त्यसैगरी नेपालमा पनि प्रतिबन्ध लगाएर सभ्य समाजको निर्माणमा  पहल गरिदिन प्रजिअ गौतमलाई बुझाएको ज्ञापनपत्र मार्फत प्रधानमन्त्रीसँग आग्रह गरिएको छ।

   टिकटक बन्दको माग गर्दै मधेस प्रदेश अन्तर्गतका सिरहा,सप्तरी, धनुषा लगायतका जिल्लाका युवाहरुले यसअघिनै आ-आफ्ना जिल्लाका प्रजिअ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाइसकेका छन् ।

   भिडियो सेयर गर्न मिल्ने टिकटक नामक यो चिनिया एप अहिले संसारभरमा चर्चित रहेको छ।


No comments:

Post a Comment