Thursday, September 15, 2022

बाल दिवस र बालअधिकार प्रति बेखबर बालबालिका आफ्नो र आफ्नो परिवारको पेट भर्नकै लागि मजदूरी गर्दै

 


===बाल दिवसकै दिन एकातिर बालअधिकारको वकालत गर्दै सरोकारवाला निकाय अर्कोतिर श्रम गर्दै हजारौं बालबालिका===

मनोज यादव---

सर्लाही,भाद्र ३०

     “समृद्ध राष्ट्रको मुल आधार, सुरक्षा र मुस्कान सहितको बाल अधिकार “भन्ने  नाराका साथ मुलुकभरमा बाल दिवस मनाईरहँदा मधेस प्रदेश अन्तर्गत सर्लाही जिल्लाका सयौं बालबालिकाहरु  विभिन्न ठाउँमा बाल मजदुरको रुपमा काम गर्न बाध्य छन् ।

   एकातिर दिवसको अवसरमा बालअधिकारको वकालत गर्दै आइरहेका अधिकारकर्मी,संघसंस्था तथा सरोकारवाला निकायहरु शहर  बजारमा रहेका ठुला होटलका बन्द कोठामा हजारौं रुपैया खर्च गरि सभा,सम्मेलन ,भेला,अन्तरक्रिया तथा जुलुस लगायतका कार्यक्रमको आयोजना गरि बालअधिकारको विषयमा भाषण गरिरहेका छन् ,भने अर्कोतिर गरिब तथा अती विपन्न समुदायका बालबालिकाहरु आफ्नो र आफ्नो परिवारको पेट पाल्न मजदुरी गरिरहेका छन् । उनीहरूले निकालेको जुलुसका सहभागीहरु सडक छेउमा रहेका होटल तथा पसलहरुहरुमा बालबालिकाहरु जुठो भाँडा सफा गरेको र मजदुरी गरेको देखेपनि नदेखेझै गरि बालअधिकार हनन् विरुद्धको नारा लगाउँदै अगाडी बढेको देख्दा त्यस्ता बालबालिकाहरुको विवशता प्रति व्यङ्ग्य गरेको जस्तो महसुस हुन्छ।

  यस्ता बालबालिकाहरु माथि न त राज्यको आँखा पर्न सकेको छ, न त यिनीहरुलाई बाल दिवसकै बिषयमा केही थाहा छ । बालअधिकारबाट बञ्चित बनेका बालमजदुरहरु गरिबीका कारण होटलहरुमा दैनिक ज्यादारीमा काम गर्न बाध्य छन् ।सभा,सम्मेलन तथा र्याली गरेर बालबालिकाको हकहितको बारेमा ठूलाठूला भाषण गर्नुभन्दा उनीहरूको लागि के गर्न सकिन्छ ? भन्ने तर्फ सोंच्न जरुरी छ।

   गरिबी र संरक्षण अभावका कारण यस्ता बालबालिकाहरु विद्यालय जान त टाढाको कुरा, सामान्य शिक्षाबाट समेत बञ्चित बनेका छन् । गरिबीका कारण गाउँघरका बालबालिकाहरु विद्यालय नगई आफ्ना अभिभावक सँगै अरुको खेतमा काम गर्ने,बालिकाहरु घरको कामकाज सक्काएर बस्तुभाउको लागि घाँस काट्ने, माछा मार्ने जस्ता काममा लागेको देख्न सकिन्छ । बालअधिकारको क्षेत्रमा कामगर्ने ब्यक्ति तथा संघसंस्थाहरुलाई उनिहरुको अवस्थाको बारेमा जानकारी हुँदाहुँदै पनि सामाजिक संजालमा शुभाकामना आदानप्रदान र विभिन्न कार्यक्रमको आयोजना गरेर वर्ष दिनमा आउने कुनै चाडपर्व मनाएझै यो दिवस मनाएर भाडाटार्ने काममात्र गर्ने गरेका छन्।

   सरकारले लिएको सन् २०१५ सम्ममा सबैका लागि शिक्षा भन्ने लक्ष्यलाई समेत यी अवोध बाल मजदुरहरुले चुनौती दिईरहेका छन् ।

    विद्यालय पोशाकमा किताब कलमसहितको झोला बोकेर विद्यालय जानुपर्ने बालबालिका जुठो भाडा माझ्दै होटल तथा अन्य ठाउँमा मजदुरको रुपमा आफ्नो भविष्य कोरिरहेका छन् । बाल मजदुरी गराउनु सामाजिक अपराध हो भन्ने थाहा हुँदाहुँदै पनि अभिभावक र होटल संचालकहरुले बालबालिकाहरु सँग मजदुरी गराइरहेका छन् ।

    बालश्रम, बालबालिका विरुद्ध हुने हिंसा, दुर्व्यवहार, सजाय, जोखिम काममा बालबालिकाको प्रयोग लगायतका समस्या समाधानका लागि सरकारले विभिन्न नीति, कार्यक्रम तथा योजनाहरु अघि सारे पनि त्यस्ता कार्यक्रमले मुलुकभरका यस्ता बालबालिकाहरुलाई  छुन सकेको छैन।बाल दिवस र बालअधिकारका बारेमा कुनै जानकारी नपाएका लाखौं बालबालिकाहरु अहिले मुलुकभर विभिन्न खालका श्रम गर्दै जीवन निर्वाह गरिरहेका छन् ।

    त्यसैले बाल दिवस मनाएर व्यर्थको खर्च गर्नुको सट्टा बालअधिकारबाट बन्चित रहेका बालबालिकाहरुको उत्थान र बालमजदुरहरुको उद्धारको लागि काम गरिदिए साँचो अर्थमा बाल दिवस मनाएको हुने छ।




No comments:

Post a Comment