Monday, September 19, 2022

प्रचण्डले दिएको हिन्दु विरोधी अराजक अभिव्यक्ति दिएको भन्दै विश्व हिन्दु परिषद्, नेपालको गम्भीर ध्यानाकर्षण,चेतावनी दिन मलंगवामा मसाल जुलुस

  






मनोज यादव---

सर्लाही,असोज ३ गते

     माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिन्दुविरोधी अराजक अभिव्यक्ति दिएको भन्दै सोको विरुद्धमा विश्व हिन्दु परिषद्, नेपालले आइतवार एक विज्ञप्ति जारी  गरि  आपत्ती जनाएका छन् ।  प्रचण्डले दिएको अभिव्यक्तिको विरुद्धमा विश्व हिन्दु परिषद् नेपालले जारी गरेको विज्ञप्ति सबै जिल्ला शाखाहरु मार्फत सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई  बुझाएका छन् ।सर्लाहीमा पनि  आइतवार दिउँसो  नगर कमिटी मलंगवाले  प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमलाई ध्यानाकर्ण स्वरुप परिषदका महासचिव जितेन्द्र कुमार सिंह द्वारा हस्ताक्षरित विज्ञप्ति बुझाएका छन् ।

     प्रचण्डले  बहुसंख्यक जनताहरूको धार्मिक आस्था एवं मनोभावना माथि ठाडो प्रहार गरेर सनातन सांस्कृतिक आस्थालाई आघात पुर्‍याएको विज्ञप्तिमा उल्लेख गरिएको छ।साथै विज्ञप्तिमा हिन्दू विरोधी तत्वहरूको समय मै पहिचान गरी पूर्ण बहिष्कार गर्न अपिलसमेत गरिएको छ।

    अध्यक्ष दाहालले शनिबार माओवादी पार्टीको विज्ञान तथा प्रविधि विभागद्वारा आयोजित राष्ट्रिय विज्ञान दिवस कार्यक्रममा समाजमा ३३ कोटी देवतालाई पूजा गर्दै हिँड्ने तर मानिसलाई लात हान्दै हिँड्ने प्रचलन रहेको बताएका थिए। दाहालको यो अभिव्यक्तिले समग्र हिन्दु धर्म प्रति आस्थावान नेपाली जनमानसको भावनालाई उपहास भएको ठहर गरेको छ।यस्तै, प्रचण्डले हरेक व्यक्तिमा बाहिर एउटा भित्र अर्कै कुरा हुने गरेको भन्दै सम्पूर्ण समाजको चरित्र माथि प्रश्नचिह्न लगाएको  परिषदको बुझाइ छ।

    परिषद्ले हिन्दुत्वको सुविचार ‘सन्तोषं परम् सुखं’ अर्थात मानिसलाई सन्तोष लिन सिकाउने कुराले समाज विकासमा अवरोध गरेको बताउँदै प्रचण्डले उत्तेजना फैलाई देशलाई पुनः द्वन्द्वतिर उन्मुख हुन दुरुत्साहित गरेको समेत आरोप लगाएको छ।

     हिन्दु धार्मिक आस्थाअनुसार सृष्टिमा जीवनको उत्पत्तिबारे स्थापित दशावतारको मान्यतालाई खण्डित हुनेगरी बामपन्थी चिन्तक मार्क्सलाई जीवन विकासको अवधारणाबारे पहिलो दार्शनिक बताएर उनले  सनातन सांस्कृतिक आस्थालाई आघात पुर्याएको विज्ञप्तिमा उल्लेख गरिएको  छ।

    यसैगरि नेपालको साहित्यिक जगतका सुप्रसिद्ध नाटककार बालकृष्ण समबारे कटाक्ष गर्दै ‘ज्ञान मर्दछ हाँसेर, रोई विज्ञान मर्दछ’ भन्ने कवितांशका कारण देश र विज्ञानको विकासमा अवरोध सिर्जना गरेको बताएर ऐतिहासिक भाषा–साहित्य बारे निकृष्ट टिप्पणी गरेकोमा समेत परिषद्को  गम्भीर ध्नायाकर्षण भएको उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ।

पटक–पटक हिन्दू विरोधी वक्तव्य दिइनुलाई माओवादी केन्द्रका अध्यक्ष दाहाल विधर्मी शक्तिद्वारा परिचालित रहेको समेत स्पष्ट भएको परिषद्को ठहर छ।

   धर्म संस्कृति विरोधी तत्वहरूलाई साथ दिने जुनसुकै राजनीतिक दलको राजनीतिक अस्तित्व समेत समाप्त पार्न संगठन पछि नपर्ने   परिषद्ले विज्ञप्ति मार्फत चेतावनी दिएको छ।
                 Video📹️

    प्रचण्डले दिएको हिन्दुविरोधी अराजक अभिव्यक्तिको विरुद्धमा विश्व हिन्दु परिषद् नेपाल नगर कमिटी मलंगवाले आइतवार साँझ मलंगवामा  चेतावनी स्वरूप मसाल जुलुस निकालेर प्रचण्डको पुत्ला जलाएका छन् ।




No comments:

Post a Comment