Saturday, September 24, 2022

नागरिकता विधेयक सम्बन्धि राष्ट्रपतिको कदमको विरुद्धमा जसपा जिल्ला समन्वय समिति सर्लाही द्वारा आन्दोलनको घोषणा





मनोज यादव---

सर्लाही ,असोज ८

   राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरी नेपालको संविधानको पालना नगरेको भन्दै जनता समाजवादी पार्टी नेपालले आन्दोलनको घोषणा गरेको छ।

    नागरिकता विधेयक सम्बन्धि राष्ट्रपतिको कदमको सन्दर्भमा जसपा जिल्ला समन्वय समिति सर्लाहीले सनिवार सदरमुकाम मलंगवामा जिल्ला अध्यक्ष विरेन्द्र राय यादवको सभापतित्वमा सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरि चरणबद्ध आन्दोलनको घोषणा गरेको छ। पार्टीको जि.स.स सर्लाही अध्यक्ष रायले  शनिवारदेखि चरणबद्ध रूपमा शान्तिपूर्ण आन्दोलन गर्ने आयोजित कार्यक्रम मार्फत  घोषणा गरेको जानकारी दिए । जस अनुसार असोज ८ गते मधेसका आठवटै जिल्लाका सदरमुकाममा राष्ट्रपति भण्डारीको कदमको सन्दर्भमा नागरिक समाज, बुद्धिजीवी, व्यापारी, शिक्षक, कानुनी व्यवसायी र संचारकर्मीसँग छलफल गर्ने, असोज ११ गते जसपाका भातृ संगठनहरुले राष्ट्रपति भण्डारीविरुद्ध प्रदर्शन गर्दै उनको पुत्ला जलाउने, असोज १३ गते पालिका स्तरमा अन्तरक्रिया गर्ने र असोज १५, १६ र १७ गते पालिका एवं वडा स्तरमा प्रदर्शन गर्ने अध्यक्ष रायले जानकारी गराएको छ ।

    कार्यक्रमका प्रमुख अतिथि  जसपा नेता तथा प्रतिनिधि सभा सदस्य एवं पार्टीका प्रमुख सचेतक प्रमोद साहले देशको सबैभन्दा ठुलो कानुन  संविधान रहेको र त्यसको संरक्षण गर्ने जिम्मेवारी  राष्ट्रपतिको रहेको भएपनि  संरक्षकबाटै संविधानको उल्लंघन भएको बताउँदै  उहाँले चालेको कदम असंवैधानिक समेत रहेको उल्लेख गरेका छन् ।

    कार्यक्रममा बोल्दै संविधान सभा सदस्य एवं जसपा की नेतृ किरण देवी रायले देशमा नागरिकता विधेयक जारी नहुँदा  मधेसका लाखौँ जनता वर्षौंदेखि नागरिकताबाट वञ्चित हुनुपर्ने अवस्था आएको बताएका छन् । उनले देशको दुवै सदनमा बहुमतबाट पास भएर गएको नागरिकता विधेयकलाई नमानेर राष्ट्रपति भण्डारीले देशको सबैभन्दा ठुलो कानुनको रुपमा रहेको संविधानको उलंघन गरेको भन्दै  राष्ट्रपतिको  उक्त असंवैधानिक कदमको घोर निन्दा गरेका छन् ।

   कार्यक्रममा उपस्थित पुर्व राष्ट्र सभा सदस्य एवं पार्टीका प्रदेश समिति उपाध्यक्ष रामपृत पासवान, संघिय परिषद सदस्य सुनैना देवी चौधरी,नागरिक समाज सर्लाहीका अध्यक्ष उग्र कान्त झा,महासचिव शिवचन्द्र चौधरी,सैलेन्द्र राय,मानव अधिकारकर्मी मुकेश मिश्र,दलित अधिकारकर्मी राजेश पासवान, उद्योग वाणिज्य संघ मलंगवाका अध्यक्ष विरेन्द्र साह,मलंगवा नगरपालिका वडा न-८ का वडाध्यक्ष मुकेश जयसवाल,वडा न-३ का वडाध्यक्ष प्रमोद राय ,जसपा का नेतृ सुनैना देवी,आरती झा,मुन्द्रिका बैठा लगायतका अतिथिहरुले नागरिकताको समस्या कुनै नयाँ समस्या नरहेको र यसको लागि मधेशमा पटकपटक आन्दोलन समेत हुँदै आएकोले यसलाई चुनावी मुद्दा नबनाएर वर्षौदेखि जनताले भोग्दै आएको नागरिकता सम्बन्धि समस्या समाधान गर्न जस्तोसुकै आन्दोलन गर्न पछि नपर्ने बताएका छन् ।

   जिल्ला समन्वय समितिको सभाहलमा आयोजना भएको कार्यक्रमको संचालन जिल्ला कार्यकारिणी सदस्य रंधिर कुमार  यादवले गरेका थिए।


No comments:

Post a Comment