Tuesday, September 6, 2022

माग प्रति सुनवाइ नभए पछि करार सेवाका कर्मचारीहरुले गरे कबिलासी नगरपालिकामा तालाबन्दी


--पुनः बहाली नभएसम्म आन्दोलन जारी रहने चेतावनी--

 

लोकतन्त्र समाचारदाता----

सर्लाही,भाद्र २१

     सर्लाहीको कबिलासी  नगरपालिकाले करारमा कार्यरत कर्मचारीको म्याद थप नगरेपछि आन्दोलनमा उत्रिएका पिडत कर्मचारीहरुले सोमबार दिउँसो नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् ।

     नगरकार्यपालिकाको गत असाढ १२ गते बसेको बैठकमा करार सेवामा कार्यरत कर्मचारीहरुको साउन १ गतेदेखि म्याद थप तथा करार नविकरण नहुने भनि भएको निर्णय प्रति आपत्ती जनाउँदै पहिलो पटक कबिलासी नगरपालिकासहित जिल्ला प्रशासन कार्यालय,जिल्ला समन्वय समिति ,कर्मचारी मिलन केन्द्र, जिल्ला प्रहरी कार्यालय र नेपाल पत्रकार महासंघलाई ज्ञापनपत्र बुझाई समस्याको बारेमा ध्यानाकर्षण गराएर चरणवद्ध रुपमा आन्दोलन सुरु गरेका उनीहरुले पुनः दोस्रोपटक भदौ १९ आइतवार  सम्बन्धित कार्यालयसहित सरोकारवाला निकायहरुमा ज्ञापनपत्र बुझाएर सोमबार दिउँसो ३ बजे अखिल नेपाल अस्थायी,करार ज्यालादारी कर्मचारी श्रमिक संघ इकाई कमिटी कबिलासी नगरपालिकाका अध्यक्ष गगनदेव राउतको नेतृत्वमा उक्त कार्यालयको लेखा फाँट,प्रशासन फाँट र स्वास्थ्य शाखामा तालाबन्दी गरेका छन् ।

     नगरपालिकाले गरेको उक्त निर्णयका कारण रोजगारी गुमेर  घरपरिवार चलाउन समस्या भएकोले उक्त निर्णयलाई सच्याएर पुनः म्याद थप गर्न भनि पटकपटक  नगरप्रमुख लगायत अन्य पदाधिकारीहरुलाई आग्रह गर्दा समेत कुनै सुनवाइ नभएपछि बाध्य भएर कार्यालयमा तालाबन्दी गर्नुपरेको अध्यक्ष राउतले बताए ।आफ्नो मागको विषयमा   विभिन्न संघ संगठनहरुको रोहवरमा नगर प्रमुख,उपप्रमुख र प्रशासकीय प्रमुख सँग ३ चरणमा वार्ता हुँदा पनि आश्वासन मात्र पाएकोले भदौ १८ गते सनिवार बसेको कमिटीको बैठकको निर्णय अनुसार भदौ २० गते सोमबार  बिहान ११ बजे हातमा कालोपट्टी बाँधेर नगरपालिकाको भवनमा धर्ना बसेर अपराह्न ३ बजे पत्रकारहरुको रोहवरमा कार्यालयमा तालाबन्दी गर्ने कार्यक्रम तय गरि सोही अनुसार गरेको उनले बताए । 

  इमानदारीपुर्वक काम गर्दै आइरहेको अवस्थामा पालिकाले एकाएक आफुहरुलाई हटाएर राजनीतिक र पैसाको चलखेल गरेर आफ्नो मान्छेलाई नियुक्ति दिने दाउपेच खेलिरहेको पिडित करार सेवाका कर्मचारीहरुको आरोप छ।

     आफूहरु विनाकारण निष्कासनमा परेकाले पुनः बहाली नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।

    तालाबन्दी गर्ने कार्यक्रममा करार कर्मचारीहरु प्रवेन्द्र यादव,मधु यादव,आशिष यादव,जितेन्द्र राय,प्रियंका यादव,नागेन्द्र यादव,रामबाबु राय,धर्मेन्द्र कुमार राय,बिनोद कुमार पासवान,बिकाउ राउत,अर्जुन प्रसाद कँडेल लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो।

   


    

No comments:

Post a Comment