Saturday, September 10, 2022

बच्चा चोरको अफवाहमा नलाग्न सर्लाही प्रशासनको आग्रह/बच्चा चोरेको आरोपमा कुनैपनि ब्यक्ति पक्राउ नपरेको सिडियो थानेश्वर गौतम द्वारा पुष्टि

 

बच्चा चोरको अफवाहमा नलाग्न सर्लाही प्रशासनको आग्रह/बच्चा चोरेको आरोपमा कुनैपनि ब्यक्ति पक्राउ नपरेको सिडियो थानेश्वर गौतम द्वारा पुष्टि

मनोज यादव---

सर्लाही,भाद्र २५

    विगत केही दिनदेखि सर्लाही जिल्लाभरी व्यापक रुपमा मौखिक रुपमा  तथा सामाजिक सञ्जालमा चर्चा पाइरहेको “बच्चा चोर” को विषय अफवाह मात्रै भएको सर्लाही प्रशासनले दावी गरेको  छ ।

     जिल्लाको कुनैपनि ठाउँबाट बच्चा चोरी गरेको आरोपमा एकजना ब्यक्ति पनि पक्राउ नपरेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले बताउनु भएको छ।केही गिरोहहरु भारतको बिहार तथा उत्तर प्रदेशबाट नेपाल प्रवेश गरेर  नेपालका विभिन्न सिमावर्ती गाउँ,सहर तथा बजारबाट   बच्चालाई फकाएर चोर्ने गरेको भन्ने कुरा हल्ला मात्रै भएको उहाँले बताउनुभएको छ ।

    भारतसँग सीमाना जोडिएका सर्लाहीका केही क्षेत्रहरुबाट बच्चा चोरेको आरोपमा केही ब्यक्तिहरु पक्राउ परेको भन्ने हल्लाले अहिले विभिन्न सामाजिक संजालमा व्यापक रुपमा चर्चा पाइरहेको छ ।यसै विषयमा राष्ट्रिय लोकतन्त्र दैनिकको टिमले सर्लाही प्रहरी प्रमुख एसपी प्रविण पोखरेलसँग बुझ्दा उहाँले जिल्लाको विभिन्न ठाउँबाट बच्चा चोरेको आरोपमा हालसम्म ५ जना ब्यक्तिहरु पक्राउ परेको जसमध्येबाट ४ जनाको मानसिक अवस्था ठिक नभएको र मागेर खाने ब्यक्तिहरु रहेका छन् भने एकजना  भारतबाट आफ्नो हराइरहेकी श्रीमतीलाई खोज्दै नेपाल आएका ब्यक्ति रहेको बताउनुभएको छ।उनीहरूलाई केही स्थानीय ब्यक्तिहरुले शंकाको आधारमा कुटपिट गरि प्रहरीको जिम्मा लगाएको एसपी पोखरेलले बताउनुभयो ।पक्राउ परेका  पाँचैजना ब्यक्तिहरु माथि अनुसंधान गर्दा उनीहरु बच्चा चोर नभएको उहाँले पुष्टि गर्नुभएको छ।

    केही ब्यक्तिहरुले बच्चा चोरको विषयलाई विभिन्न सामाजिक संजालमा अफवाहको रुपमा फैलाएर जनतालाई भ्रमित र त्रसित बनाउने काम मात्र गरेकोले अफवाहको पछाडी नलाग्न प्रमुख जिल्ला अधिकारी गौतमले आग्रह गर्नुभएको छ।

   प्रहरी प्रशासन पूर्णरूपमा सकृय रहेकोले चिन्ता नलिन उहाँले जनतासँग अपिल गर्नुभएको छ।

No comments:

Post a Comment