Sunday, September 18, 2022

मधेसको लोक पर्व जितिया यसरी मनाइन्छ

 

अर्चना झा----

फोटो-अर्चना झा


ललितपुर(गोदावरी)असोज २ 

    जितिया पर्वलाई, जिमूतवाहन र जिवितपुत्रको नामले पनि चिनिन्छ । यो मधेसको महत्वपूर्ण लोक पर्व हो । यो पर्वमा विशेषगरी महिलाहरु सन्तानको दीर्घायु, सुखशान्तिका साथै वंश वृद्घिको कामना गर्दै  व्रत बस्ने गर्छन् । यो व्रत तीन दिनसम्म चल्छ । असोज सप्तमीदेखि सुरु भई नवमी तिथिसम्म विधिपूर्वक व्रत चल्छ ।

    मैथिल महिला समाज नेपालका अध्यक्ष अञ्जला झाले जितया व्रतकाबारे जानकारी दिँदै भने, “यो पर्वमा महिलाहरु द्वारा सामूहिकरुपमा जिमुतवाहनको कथा सुनेपछि मात्र व्रत पूर्ण हुन्छ भन्ने लोक मान्यता छ ।” पछिल्लो समय देशभर यो पर्व मनाउने गरिएको छ । अहिले काठमाडौँमा पनि विभिन्न सङ्घसंस्थाले जितियाको संस्कृति झल्काउने कार्यक्रम गर्न थालेका छन् ।

   विशेष गरेर थारु तथा तराईका महिलाहरु काठमाडौँको पशुपति क्षेत्रका मन्दिर र आफूलाई पायकपर्ने मन्दिरमा गई पूजा गर्छन् । खोलानालामा गई धुमधामसँग जितिया पर्व मनाउँछन् । तर अहिले सहरका खोला फोहर भएकाले घरमै बर्तालु नुहाउने गर्छन् । तराईका खोलामा आजकल पहिला जस्तो पानी हुँदैन । चुरिया पहाडको वन क्षेत्र कटानी हुन थालेपछि खोलानाला, इनार, पोखरी सुक्न थालेका छन् । तराईमा थारुहरुको बाहुल्यता भएको ठाउँमा जितिया पर्वको मेला लाग्ने गर्छ। अध्यक्ष झाले पूजाको विधिबारे जानकारी गराउँदै भने, “सप्तमी अर्थात् पहिलो दिनलाई ‘निहाएखाय’ भनिन्छ । यस दिन बिहानै बर्तालु नङ काटी खोला, पोखरी वा घरमै गंगाजल पानीमा राखी तोरीको तेल र खरी(पिना)ले नुहाउँछन् । त्यो दिन पितृ स्मरण गरी पूजा गरिन्छ ।”

   विषेश गरेर यो दिन नौनीको साग, कोदोको पिठोको रोटी, कन्दा र झिमनीको तरकारी खान्छन् । कति ठाउँमा माछा पनि खाई पूजाको सुरुआत गरिन्छ । खानाका लागि तिथिअनुसारको समय तोकिएको हुन्छ । त्यहीअनुसार सप्तमीको एक छाक मात्र नुनिलो खाना खानुपर्छ ।

   अध्यक्ष झाका अनुसार जितियाको दोस्रो दिनलाई खुरजितिया भनिन्छ । यस वर्षमा सरगही–ओठगन गर्ने समय पनि छ । बिहानै सबेरै नुहाएर घिरौँलाको पातमा दही, चिउरा मिठाइले चिल, स्याल र जिमुतवाहनको पूजा गरिन्छ । त्यही समयमा व्रतको सङ्कल्प लिइ बर्तालुले प्रसादी खाने गर्छन् । त्यस समयमा परिवारका सदस्यले पनि चढाएको प्रसादी खाने चलन छ । विशेषगरी बर्तालु घरका बालबालिकालाई प्रसादी दिएर खुसी तुल्याइन्छ ।

  यो जितिया व्रत छठ जस्तै, कठिन व्रत हो । 



अष्टमी तिथिको जितिया व्रतको सङ्कल्प लिइसकेपछि निरहार, निर्जला व्रत नवमी अर्थात् पारनसम्म बस्नुपर्छ । यो व्रत औँसीमा गरिन्छ । यो वर्ष नयाँ बर्तालुलाई शुभ मुहरत (समय) छ । अष्टमीको दिन जितिया (जिवित्पुत्रिका) को माटो वा गाईको गोबरको मूर्ति बनाएर पूजा गरिन्छ ।

त्यसैगरी चिल र स्यालको पनि प्रतिमा बनाएर पूजा गरिन्छ । पूजा सामग्रीमा विशेषगरी रक्षा धागो, रातो सिन्दुरको टीका, पान, ल्वाङ, नभाँचिएको चामलको अक्षता, भिजेको चना, काँक्रो, पान र घिरौँलोकोे पात, शृङ्गारको सामान आदिले विधिपूर्वक बर्तालुले कथा, गीत गाएर पूजा गर्छन् ।

     यो व्रत नेपालको विभिन्न भौगोलिक क्षेत्रका साथै काठमाडौँ उपत्यकालगायत विशेषतः तराई क्षेत्रमा बसोबास गर्ने महिलाले पूर्वतयारी गरी धुमधामसँग मनाउने गर्छन् ।

यो वर्ष २०७९ असोज ३१ गते आज नहाए खाएको दिन, २ गते जिमुतवाहनको निरहार रही व्रत गर्छन् र ३ गते बिहान पारन गर्ने समय साइत पञ्चाङगबाट देखिन्छ । सूर्यलाई अर्घ दिइ पारन गरिन्छ ।


@जितिया व्रतको महत्व

       नेपाल महिला समाज समूहकी अध्यक्ष अनामिका झा जितियामा छोराछोरीको केही भेदभाव नगरी पूजा गरिन्छ । यो व्रत गर्दा सन्तानको सबै सङ्कट दूर हुन्छ भन्ने विश्वास प्राचीनकालदेखि नै मान्यता छ । यो सन्तानको आयु लामो होस् सुख शान्तिको कामना गर्दै आमाले जितिया भगवानको निर्जला व्रत बसी प्रार्थना गर्छन् । व्रतको सुरुआती सप्तमी तिथिदेखि नहाए खाए विधि सुरु हुन थाल्छ । व्रत लिनुभन्दा अगाडि यसको सङ्कल्प लिइ व्रत बस्नुपर्छ ।सप्तमीको दिन एक छाक खाना खाई अष्टमीमा निर्जल बसी नवमी तिथिको दिन सूर्यलाई अर्घ दिइ पारन गर्नुपर्छ । यो छठ व्रत जस्तै कठिन व्रत हो । अध्यक्ष झाले जितिया लोकपर्व कसरी सुरु भयो भनी उहाँले कथाद्वारा जानकारी गराए।

      पौराणिक ग्रन्थमा यो व्रतको महत्व महाभारतकालदेखि जुडेको छ ।पौराणिक कथा अनुसार महाभारत युद्धको दौरान चारैतिर कुरा फैलिएको थियो कि अश्वस्थामा मरिसकेको यो कुरा पिता द्रोणाचार्यले पुत्र शोकमा आफ्नो अस्त्र भुइँमा राखिदियो।तब द्रौपदीका भाई धृष्टधुम्नले उनको बध गरिदियो।

    पिताको मृत्यु पछि अश्वस्थामाको मनमा प्रतिशोधको ज्वाला उठिरहेको थियो।आफ्नो पिताको हत्याको बदला लिनको लागि अन्ध्यारोमा पाण्डवको शिविरमा गई पाण्डवहरु सुतेको सोंचेर पाँचजनालाई रातिमा बध गरिदिए।मर्नेहरु पाण्डव थिएनन्।उनीहरु पाण्डवका छोराहरु थिए।परिणामस्वरूप पाण्डवलाई धेरै नै क्रोध आयो।अनी अर्जुनले भगवान कृष्णको सहारामा अश्वस्थामाको आँखा माथिको मणि खोसे।यसले गर्दा अश्वस्थामालाई पण्डव प्रति क्रोध उत्पन्न भयो।पछि बदला लिनको लागि अर्जुनको छोरा अभिमन्युकी पत्नी उत्तरा गर्भमा भएको बच्चालाई मार्न ब्रह्मास्त्र प्रयोग गरे।भगवान कृष्णलाई यो सबै कुरा थाहा थियो कि निस्किसकेको ब्रम्हास्त्रलाई रोक्न असम्भव हुन्छ।त्यतिनै बेला भगवान कृष्णले आफ्नो सबै पुन्यको फल उत्तराको गर्भमा भएको बच्चालाई दिनु भयो।

     लेखक तथा साहित्यकार डा रामदयाल राकेश  जिमुतवाहनको नामबाट जितिया पर्व सुरु भएको बताउछन् ।उनले जिमुतवाहन बारे थप जानकारी गराउँदै भने, प्रचिनकालको कुरा हो एउटा देशमा जिमुतवाहन नाम गरेको राजकुमार थियो।गन्धर्व राजकुमारको मन राजकाजमा नलागेपछि आफ्ना भाइहरुलाई राजपाठ दिएर पिताको सेवा गर्न बन तिर लागे।त्यही बनमा उनको विवाह मल्यवती नामको कन्या शीत भयो।एकदिन बनमा घुम्दै राजकुमार धेरै अगाडी निस्के ।बनमा हिड्दै गर्दा उनले एउटी बुढी आमा रोएको सुने।बुढी आमा सँग किन रोएको भनि सोध्दा उनले म नाग वंशकी नारी हुँ ,मेरो एउटा पुत्र शंकचुड हो।आज गरुँड महाराजले मेरो छोरालाई खान आउँदै छ,त्यसैले म रोएको बताए।राजकुमारले सिधे किन? त्यसपछि बुढी आमाले भन्न थाले नाग राजाले गरुँडको सामुन्ने प्रतिज्ञा गर्नुभएको छ कि प्रत्येक दिन एउटा नागको बच्चा खानलाई दिन्छु ।आज मेरो छोराको पालो हो।यस्तो कुरा सुनेर जिमुतवाहनले बुढी आमालाई भने तपाई चिन्ता नलिनुस तपाईंको छोराको बदलामा म जान्छु।यति भनेर गरुँडले भनेको ठाउँमा रातो कपडाले बेरिएर आफै सुते।गरुँडले सधै खाने तरिका जस्तै राजकुमारलाई पंजाले उडाएर लगे।अग्लो रुखको टुप्पोमा लगेर खान खोज्दा रोएको आवाज नसुनेपछि कपडा खोलेर हेर्दा राजकुमारलाई देखेर परिचय सोधे ।राजकुमारले गरुँडलाई सबैकुरा विस्तारमा भनेपछि उनको साहस,विरता,हिम्मत साथै करुणा देखेर गरुँडले राजकुमारलाई जिवनदान दिई अब देखि कुनैपनि नागको बच्चा नखाने प्रतिबद्धता गरे।जिमुतवाहको बहादुरीले गर्दा सम्पूर्ण नागजातिको रक्षा भयो।त्यहीबेला देखि जिमुतवाहनको नाममा जितिया पर्वको सुरुवात भएको मान्यता छ।

“यो व्रतको सङ्कल्प लिनुभन्दा पहिला बर्तालुले स्वास्थ्यको ख्याल गर्दै घर परिवारसँग सल्लाह लिइ व्रत बस्नुपर्छ । यो अरुभन्दा कठिन भएकाले धेरैजसो बर्तालु माइतीमा गई व्रत गर्छन् । यो व्रत गर्नेबेला मन, वचन र काममा शुद्घता जरुरी छ । मनलाई संयमित राख्नुपर्छ । यस व्रतमा कपाल कोर्ने, तोड्ने, काट्ने काम गर्नुहुँदैन । सकभर घाममा काम गर्नुहुँदैन, शरीरमा पानीको कमी हुने डर रहन्छ ।


No comments:

Post a Comment