Wednesday, September 2, 2020

मानवअधिकार रक्षक संजाल द्वारा दलित युवकको मृत्युको सम्बन्धमा निष्पक्ष छानबिनको माग

 



लोकतन्त्र समाचारदाता----
सर्लाही ,भदौ १७
      रौतहट जिल्लाको गरुडा नगरपालिका वडा न-८ बसबिटी जिंगडिया निवासी १९ वर्षिय विजय राम महराको इलाका प्रहरी कार्यालय गरुडामा प्रहरी हिरासतमा बसेको अवस्थामा शंकास्पद  मृत्यु भएको भन्दै मानवअधिकार रक्षक संजाल सर्लाहीले  सो घटनाको निष्पक्ष र स्वतन्त्र छानबिन तथा अनुसंधानको माग गर्दै संजाल संग आवद्ध विभिन्न दलित अधिकारकर्मी सम्मलित संघसंस्थाहरुले संयुक्तरूपमा प्रेस विज्ञप्ति जारी गरेका छन् ।
    मृतक बिजय रामलाई स्थानीय निरंजन रामको हत्याको आरोपमा गत भदौ १ गते प्रहरीले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय गरुडामा राखिएको थियो ।निजको सोही प्रहरी कार्यालयबाट उपचारको लागि भनि बिरगंज स्थित नेशनल मेडिकल कलेजमा लगेको र त्यँही उनको मृत्यु भएको थियो ।राज्यको नियन्त्रणमा रहेको अवस्थामा उनको मृत्यु भएको निजको फोटोहरु बाहिर आएको र सो फोटोहरुमा शरिरमा यातना दिएर बनाएको निल डाम ,घाउ तथा चोटपटक रहेकोले निजका परिवारका सदस्यहरुले निजको हत्या भएको आरोप लगाएका छन् ।
     मानवअधिकार रक्षक संजाल सर्लाहीका संयोजन राजेश पासवान ,ओरेक नेपाल सर्लाहीका जिल्ला कार्यक्रम अधिकृत राजु अधिकारी ,थर्ड एलायन्सका सर्लाही जिल्ला प्रतिनिधि मुकेश मिश्र ,संजालका जिल्ला सचिव सुन्दर श्याम यादव,इन्सेक सर्लाहीका बुधन साह र नेपाल राष्ट्रिय दलित  संघ सर्लाहीका सचिव कामेश्वर पासवान द्वारा संयुक्तरूपमा हस्ताक्षरित  विज्ञप्तिमा परिवारको उपस्थितिमा वा विश्वसनीय वातावरणमा विषेशज्ञहरुको टोलीबाट भएको पोस्टमार्टमको रिपोर्ट सार्वजनिक गर्न,घटनाको विषयमा उच्चस्तरीय छानबिन समिति गठन गरि घटनाको निष्पक्ष छानबिन गर्न ,मृतकको परिवारलाई न्यायको प्रत्याभूति गराउन तथा परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने लगायतका मागहरु उल्लेख गरिएको छ ।

No comments:

Post a Comment