Wednesday, September 9, 2020

लकडाउनको बेला स्थानीय तहबाट सेवा सुविधा नपाएको सर्लाहीका अपांगता भएकाहरुको गुनासो

 



मनोज यादव----
सर्लाही ,भदौ २४
     राज्य र समाजबाट सधैं उपेक्षित हुँदै आएका सर्लाहीका अपांगहरु  लकडाउनको समयमा पनि स्थानीय सरकारले  दिने सेवा सुविधा नपाएको गुनासो गरेका छन् ।नेपाल अपांग संघ जिल्ला कार्य समिति सर्लाहीका अध्यक्ष बिरेन्द्र रायले जिल्लाभरकै अपांगता भएका ब्यक्तिहरुको प्रतिनिधित्व गर्दै यस्तो गुनासो गरे ।
      संविधानमा अपांगता भएका व्यक्तिहरुका लागि विभिन्न खालका अधिकारहरु समेटिए पनि व्यवहारमा  कार्यान्वयन नभएको अध्यक्ष रायले बताए ।उनले  विगतका दिनहरुलाई सम्झदै  तत्कालीन  जिल्ला विकास समिति र गाउँ विकास समिती हुँदा अपांग तथा  दलितले थाेरै भएपनि सहयाेग र राहत पाउने गरेका थिए  । तर अहिले संघीय संरचना अनुसार नगरपालिका  र गाउँपालिका भएपछि अपांगता भएका ब्यक्तिहरूले  सहयाेग पाउन छाडिसकेको गुनासो गरे । कोरोना भाइरस संक्रमण नियन्त्रणकालागि सरकारले गरेको ६ महिना बढीको लकडाउनको समयमा स्थानीय तहले नाम मात्रकै लागि पनि वितरण गरेको खाद्यान्न लगायतका राहत सामाग्री समेत अपांगहरुलाई वितरण नगरेको अध्यक्ष रायले बताए ।
     जिल्ला स्थित विभिन्न सरकारी कार्यालय, विद्यालय लगायतका क्षेत्रहरु अपांगता मैत्री नभएको र  हामी जस्ताहरुलाई समयसमयमा आयोजना हुने विभिन्न  कार्यक्रममा समेत जनप्रनिनिधि एवं विभिन्न संघ संस्थाका व्यक्तिहरुले पनि वेवास्ता गरेको बताउँदै  आफ्ना हक अधिकार स्थापित गर्नका लागि सबैको सहयोग आवश्यक रहेको उनको  भनाई छ । उनले राज्यले प्रदान गर्ने सेवा सुविधाहरु विभिन्न  बहानामा कटौती हुने र लक्षित वर्गसम्म नपुग्ने गरेको गुनासो समेत गरे । सर्लाहीका  स्थानीय तहले अपांगहरुलाई हेला र दुर्ववहार गरेको गुनासो सुनाउने क्रममा अपांग संघ सर्लाहीका अध्यक्ष रायको अनुहार मलिन देखिन्थयो ।

No comments:

Post a Comment