Tuesday, September 29, 2020

सर्लाहीमा दुइ समुदाय बीचको विवाद मिलाउन राजनैतिक दलका नेताहरु सकेन

 




सर्लाही ,असोज १३ 

   केही दिन अगाडी सर्लाहीको मलंगवा नगरपालिका वडा न–३, विश्वकर्मा चौक र कौडेना गाउँपालिका वडा न–५, छपकहियामा  दुई समुदाय बीच उत्पन्न भएको विवाद पूर्ण रुपमा समाधान गर्न अहिले विभिन्न राजनैतिक दलका नेताहरु लागिपरेका छन् ।

सम्वन्धित पालिकाका जनप्रतिनिधि र जिल्लाका सुरक्षा प्रमुखहरु मिलेर   दुवै स्थानको विवाद मिलाउन कम्मर कसेर लागेका भएपनि निर्णायक फैसला हुन नसकेको छलफल  टोलीका सदस्य (श्रोत)ले बताएको छ ।

   कौडेनाको छपकहियामा दुवै समुदायले शव दाह संस्कार गर्ने स्थलको विषयमा विवाद चल्दै आएको छ । सोही विवाद बढ्दै गएर भदौको अन्तिम साता दुई समुदायबीच झडप समेत भइसकेको छ । जसमा  प्रहरीसहित केही स्थानीयहरु  घाईते भएका थिए ।

   त्यस्तै सदरमुकाम  मलंगवामा विश्वकर्मा पूजाको मूर्ति विर्सजन गर्न लैजाँदा  असोज २ गते झडप भएको थियो । सो विवाद मिलाउन पनि धेरै पटक छलफल भएपनि  विवाद मिलेको  छैन् ।    मुस्लिम समुदायले विश्वकर्मा चौकलाई दाह चौक नामकरण गर्नुपर्ने माग राखेका छन् भने हिन्दु समुदायले पुरानै नाम रहन दिनुपर्ने बताएका छन् । मलंगवा नगरपालिकाका मेयर निरसल साहले आ–आफ्नो समुदायलाई सम्झाउन दुवैतर्फका अगुवाहरु निरन्तर लागिपरेका र आफूहरुले पनि त्यसमा समन्वय गरिरहेको बताए ।‘विवाद मिल्दै गएको छ, केही कुरा बाँकी छ, त्यो पनि चाँडै मिलाउँछौँ’, मेयर साहले भने, ‘सहमति जुटाउन हामी भन्दा पनि दुवै समुदायका अगुवालाई सक्रिय बनाएका छौँ ।’ मलंगवा र कौडेना दुवै स्थानको विवाद मिलाउन जिल्लाका संघीय तथा प्रदेश सांसद समेतको उपस्थितिमा पनि छलफल भइसकेको छ ।

   मलंगवा र कौडेनामा कुनै पनि बेला अवस्था बिग्रन सक्ने भन्दै प्रहरीले उच्च सुरक्षा सर्तकता अपनाएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय मलंगवामा थप मद्धतमा प्रहरी समेत राखिएको जनाइएको  छ ।


No comments:

Post a Comment