Tuesday, September 15, 2020

लामो दूरीको यातायात असोज १ देखि सञ्चालनमा आउने

 


लामो दूरीको यातायात असोज १ देखि  सञ्चालनमा आउने

काठमाडौँ,भदौ ३० - लामो दूरीको यातायात असोज १ गतेदेखि नै सञ्चालनमा आउने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

व्यवसायीले साविकको भाडादरमा ५० प्रतिशत बढाएर लिन सक्ने मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो  । संक्रमणको जोखिम बढेको अवस्थामा स्थानीय प्रशासनले आवश्यक निर्णय लिन सक्नेछ । लामो दूरीको लागि कार्यविधि छुट्टै बने पनि सिट क्षमताको ५० प्रतिशत यात्रु बोकी ५० प्रतिशतसम्म बढी भाडा लिने व्यवस्था यथावत् रहने मन्त्रालयकी सहसचिव प्रमिला वज्राचार्लई जानकारी दिइन् ।

चैत ११ को लकडाउनपछि लामोदूरीको यातायात ठप्प छ । असार २५ देखि लकडाउन खुकुलो बनाउँदै सरकारले छोटो दूरीको सार्वजनिक यातायात चल्न पाउने व्यवस्था गरेको थियो । निषेधाज्ञा नभएको जिल्लामा व्यवसायीले सार्वजनिक यातायात सञ्चालन गरिरहेका छन् ।

कोभिड १९ को जोखिम कायमै रहेको भन्दै सरकारले छोटो दूरीको यातायात साधनले ५० प्रतिशत मात्रै यात्रु राख्न पाउने मापदण्ड बनाएको थियो । यसमा यातायात व्यवसायीले थप ५० प्रतिशतसम्म भाडा लिनसक्ने व्यवस्था गरेको थियो ।

मन्त्रिपरिषदले असोज १ देखि सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरे पनि कुन मोडालिटीमा गर्ने जिम्मा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई दिएको छ । मन्त्रालयले लामो दूरीको लागि छुट्टै कार्यविधि बनाउने तर ५० प्रतिशत यात्रु र थप भाडाको व्यवस्था यथावत् राखिने बताएको छ ।

No comments:

Post a Comment